नेपाली नयाँ वर्ष

नेपालको अधिकारिक एवं वैधानिक पात्रो, विक्रम सम्बत् पात्रो अनुसार हरेक वर्षको बैशाख महिनाको पहिलो दिनलाई देश विदेश रहेका सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु-भाषी,बहु-संस्कृति एवं बहु-जातिय राष्ट्र हो,जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यसमध्यमा बैशाख १ गतेको दिनलाई राष्ट्रिय महत्वका साथ राष्ट्रिय नयाँ वर्षको रुपमा मानिदै अहिरहेको छ |

विशेषत: युवा वर्गमाझ एक रमाइलो गर्ने विशेष दिनका रुपमा विकास भएको नेपाली नयाँ वर्षको दिन राष्ट्रिय पर्व झैँ भइसकेको छ | यस दिन नेपाल अधिराज्यभरि सार्वजनिक विदा हनुको साथै अधिराज्यभरिका नेपालीहरु नयाँ वर्षको एक दिन अघावैदेखि एक-अर्कामा मिल्ने साथीभाइ,इस्टमित्रहरुसंग योजना बनाएअनुसार विभिन्न रमणीय स्थानहरुमा भ्रमण गर्ने, पिकनिक जाने वा आफन्तहरुलाई बोलाई भोजभटेर गर्ने गरी मनाउने परम्परा बसिआएको छ|

आर्थिक अवस्थाले सक्नेहरु देश-विदेश पनि घुम्न जान्छन् भने नसक्नेहरु घरैमा वा नजिकको पार्क अथवा रमणीय स्थलहरुमा गई रमाइलो गर्ने गर्छन् | यस दिन राजधानी काठमाडौँ लगायतका सबै ठूला साना शहरमा विभिन्न सरकारी, गैर-सरकारी संघ-संस्था, नागरिक समाज र जनजाति-समुदायका मानिसहरु विभिन्न प्रकारका सांस्कृतिक एवं पारम्पारिक कार्यक्रमहरु गर्ने गर्छन् भने काठमाडौँ नजिकको भक्तपुरमा ‘बिस्केट जात्रा’ स्थानीयवासीहरुको ठूलो सहभागितामा २५ मिटर लामो ‘लिंगम’ बडेमानको ढुङ्गाको ‘योनीमा’ ठड्याइकन मनाइन्छ,- नयाँ वर्षको स्वागतसंगै |

त्यस्तैगरी नेपालीहरुले नयाँ वर्षलाई नयाँ प्रतिबद्धता, नौलो सुरुवात एवं नवीन थालनीको विशेष अवसरको रुपमा पनि लिने गर्छन् | विध्यार्थी वर्गका मानिसहरु भने यस दिन शिक्षाको नयाँ थालनीको योजना गर्छन भने प्रायजसो मानिसहरु आफ्ना इस्टमित्रहरुसंग कोसेली,सौगात तथा सदभावना साटासाट् गर्ने गर्छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *