नेपाल सम्वत्

नेपाली पात्रोअनुसार हरेक वर्षको कार्तिक महिनाको शुक्लपक्ष,प्रतिपदाको दिन अर्थात् हिन्दू धर्मअनुसार नेपालीको दोश्रो सबभन्दा ठूलो पर्व तिहार तथा दिपावलीको यमपंचकको चौथौं दिन नेपाल अधिराज्यभरिका नेवार समुदायका मानिसहरुले आफ्नो मौलिक सम्वत् -नेपाल संवतको नव वर्षको प्रारम्भको पहिलो दिन धुम धाम साथ मनाउने गर्दछन् | यस दिन नेवार जनजाति-आदिबासीको बाहुल्यता वा प्रभुत्व रहेको नेपालको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, पाल्पा, चित्लाङ्ग लगायतका अरु नेवार समुदायका स्थानहरुमा विशेष कार्यक्रमअनुसार मनाउने गरिन्छ | यसदिन पनि तिहारका अन्य दिन सरह सार्वजनिक रुपले राष्ट्रिय विदा हुने गर्दछ |

यसदिन नेवारी परम्परा र संस्कृतिक भेषभूषा, बाजागाजा र आफ्नो मौलिक नाँचगान सहित आफ्नो मौलिक भाषा र लिपिको पहिचान, अधिकार प्राप्ति, सदभाव-शुभ-कामना बाँड्न र मौलिक सम्वत्- नेपाल सम्वतको राष्ट्रिय मान्यताको निमित्त एक ठाउँबाट अर्को ठाउँसम्ममा दिनभरजसो रैली,सभा गर्ने गर्दछन् – जसलाई नेवारी समुदायका नेपालीहरुले आफ्नोभाषामा “न्हूँ: दँया: भिन्तुना” भन्ने गर्दछन् |

युग पुरुषको उपनामबाट सबै नेपाली जनताले सम्मान गरिएका इतिहास तथा संस्कृतिविद डा. सत्यमोहन जोशीले बताएअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले इश्वी सं ८८० तिर गरिब नेपाली जनताहरुको त्यसबेलाको ॠणमोचन अर्थात् ॠण मिनाह गरी ॠणमुक्त गरेको दिनको सम्झनामा नेपाल सम्वतको शुरुवात् गराएका थिए | नेपालको प्राचीन इतिहासको लिच्छवीकालीन शासनकालदेखि शुरु भएर राणाशासनकालसम्म राष्ट्रिय मौलिक संवतका रुपमा वा शंक सम्वतको रुपमा प्रचलित नेपाल सम्वत् पछि गएर वि.सं.१९६० उप्रान्त भने राष्ट्रिय सम्वतको मान्यता पाउन वा दिन छाडेको थियो भन्ने इतिहासमा उल्लेख गरिएको पाहिन्छ |

त्यही गुमेको हक-अधिकार र राष्ट्रिय मान्यताको निमित्त वि.सं.२००७ सालको प्रजातन्त्रको व्यवस्था भएदेखि आजको लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ नेपालले वि.सं.२०७२ को नयाँ संबिधान पाएको दिनसम्म आउंदा पनि नेवार समुदायका आदिबासी जनजाति नेपालीहरु लड्दै बसेका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *