ईद उल फित्र/फितर

मुस्लिम धर्मअनुसार इस्लामिक क्यालेन्डरको नवौं महिनाको पुरै ३०दिन यानि एक महिना रोजा अर्थात् उपवास/व्रत बसी दसौं महिनाको प्रथम दिनको पहिलो चन्द्रमा अथवा चाँद देखिने वित्तिकै हर्षो-उल्लास एवं खुशीको त्योहारको रुपमा मनाइने धार्मिक पर्व तथा चाडलाई ईद उल फित्र तथा फितर भनेर भन्दछन् | मुसलमानहरुको यो एक भाइचारालाई बढावा दिने र शत्रुतालाई बिर्सेर मित्रता कायम गर्ने र सुखीशान्ति र समृद्धिको निमित्त शुभ-कामना साटासाट गर्ने पवित्र अथवा पाख: पर्व हो |

मुसलमानहरुको त्योहार ईद रमजानको पुरै पाखः एक महिनाको चन्द्रमा डुब्ने र ईदको दिन नयाँ चन्द्रमा देखिने वित्तिकै त्यसको भोलिपल्ट पहिलो तारीखको दिन मनाइने चलन छ | इस्लामिक पात्रो/क्यालेन्डर अनुसार वर्षको दुइपटक मनाइने ईद मध्यको दसौं महिनामा मनाइने ईद उल फित्र एक विशेष हो भने दोश्रो ईद उल जुहा अथवा बकर-ईद हो | मुस्लिम धर्ममा उल्लेख भएअनुसार सर्वप्रथम उल फितर/फित्र ईद पैगम्बर मुहम्मदले सन् ६२४ ईश्वी सम्बतमा जंग-ए. बदर पश्चात् मनाएका थिए |

ईद उल फित्र/फितर उपवास अर्थात् रोजाको समाप्तिको खुशीको साथै पुरै एक महिना उपवास बस्ने शक्ति प्रदान गरेअनुसार मुसलमानहरु आफ्ना अल्लाहलाई सर्वप्रथम शुक्रिया/ धन्यवाद प्रकट गरीकन मनाउँछन् | यस ईदको दौरान विभिन्न मीष्ठान् परिकारहरु बनाई पहिलोपटक दिनमा खाने र खुवाउनेको साथै नयाँ नयाँ कपडाहरु लगाउने र आफ्ना परिवार,दोस्तहरु माझ तोह्फा,उपहार एवं शुभ-कामना आदानप्रदान गर्ने गर्दछन् | यसदिन विहान ईद उल फित्रको नमाज पढ्नु वा प्रार्थना गर्नुभन्दा पहिला मुसलमानहरुले दीन दु:खीहरुलाई दान-दक्षिणा दिनु जरुरी हुन्छ जसलाई जकात-उल फित्र भनिन्छ | यस पवित्र पर्वको अवसरमा कुरान पाठ एवं अल्लाहको इवादत गर्ने,झूटो नबोल्ने, दान दिने र आफन्तहरुलाई बोलाई मीठो सेवाई खुवाउने, आफन्तकोमा जाने र गरीब, असहायलाई खुवाई र सहयोग गरी ईद उल फित्र/फितर झन्डै ३ दिनसम्म मनाइन्छ |

त्यस्तैगरी धेरै आर्थिक आय हुने मुसलमानहरुले यस दिन आफ्नो पूरा आयको २ प्रतिशत आम्दानी असाहय विपन्न वर्गका मुसलमानहरुलाई दान-सहयोग गर्ने चलन पनि मुसलमान समुदायमा छ | यसरी विविध धार्मिक, भाषिक एवं सांस्कृतिक भिन्नताको बावजुद हाम्रो देश नेपालमा मनाइने ईद उल फित्र जस्ता चाडपर्वले आपसी मेलमिलाप. एकता र सहयोगको संदेश अथवा प्रेरणा दिइरहन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *