फागुपूर्णिमा (होली)

फागु पूर्णिमा (होली)

आफन्त र साथीभाइबीच रङ दलेर मनाइने होली पर्वलाई खुसी र उमंगको उत्सवका रूपमा लिन सकिन्छ। विभिन्न रङहरूका साथ प्रेम, आत्मीयता र सद्भाव साटासाट गरिने यो पर्व चान्द्रमासले फाल्गुण महिनाको पूर्णिमा तिथिमा मनाइन्छ। फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रंगीचंगी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको रात्रि चीरदाह गरेपछि समापन हुन्छ। पूर्वीय सनातन परम्पराका समस्त अनुयायीहरूले मनाउने यस पर्वको रौनकता भने पूर्णिमा तिथिमै हुन्छ। यसर्थ यस दिनलाई होली पूर्णिमा वा फागु पूर्णिमा पनि भनिन्छ।

परापूर्व कालदेखि अन्याय, अत्याचार र हिंसा लगायत निरंकुश तानाशाही आसुरी प्रवृत्तिका विरुद्ध समाज एकजुट हुँदै आएको इतिहास छ। शक्तिको उन्मादले मानिसमा अहंकार जाग्दछ। त्यो अहंकारले सत्य, धर्म, प्रेम, सदाचार, अहिंसा जस्ता गुणहरूलाई बिर्साइदिन्छ र मानिस विषय वासना र स्वार्थले अन्धो बनिदिन्छ। पुराणहरूमा वर्णित दैत्यराज हिरण्यकश्यपु ब्रह्माजीबाट प्राप्त वरदानी शक्तिको उन्मादले जब आफूलाई ईश्वर घोषणा गर्दछन्, ठीक उही समयमा हिरण्यकश्यपुकै बालक पुत्र प्रह्लाद भगवानका अनन्य भक्त बनेर उपस्थित भइदिन्छन्।

अहंकार र पापाचारले उन्मत्त दैत्यराज हिरण्यकश्यपु एकातिर संसारलाई आफ्नै पूजा गराउँछन् भने अर्कातिर भगवद् भक्त प्रह्लादलाई परं शत्रु देख्न थाल्दछन् र उनलाई मार्ने योजना बनाउन थाल्छन्। अग्निको तापले नछुने वरदान पाएकी बहिनी होलिकाले हिरण्यकश्यपुलाई साथ दिँदै बालक प्रह्लादलाई लिएर अग्निकुण्डमा प्रवेश गर्दा पाप वृत्तिकी प्रतीक होलिकाको शरीर दहन भएको खुसियाली साट्न होलीपर्व मनाउने चलन चलेको विश्वास गरिन्छ। होलिका भस्म भएको प्रतीकका रूपमा पूर्णिमाको अघिल्लो रात होलिका दहन गर्ने चलन अद्यापि रहेको छ। होलिका मरेपछि पनि अन्त्यमा हिरण्यकश्यपुरूपी पाप र अत्याचारको पराकाष्ठालाई परास्त गर्दै भक्त प्रह्लादको सुरक्षा तथा न्याय एवं धर्मको संरक्षण गर्न भगवानले नृसिंहको अवतार लिनुभएको पौराणिक प्रसंगलाई होली पर्वसँग जोडेर हेर्ने गरिन्छ।

यसबाहेक द्वारयुगमा कंशको अत्याचारलाई साथ दिई समस्त दुधे बालकहरूलाई नास गर्दै हिँड्ने पूतनाको प्राण भगवान् श्रीकृष्णले हरण गर्नुभएको प्रसंगलाई पनि होलीपर्वको रंगीन उत्सवसँग जोड्ने गरिन्छ। कंशको आज्ञाअनुसार भगवान् श्रीकृष्णलाई मार्ने उद्देश्यले विषयुक्त दूध चुसाउन लाग्दा भगवानले उल्टै पूतनाको प्राण हरण गर्नुभयो। त्यसपछि विशालकाय राक्षसीको शवलाई जलाएर ब्रजवासीहरूले एक–आपसमा रङ तथा अबिर दलेर खुसियाली मनाए। यसरी राक्षसीको अन्त्य भएर ठूलो संकट टरेको सम्झनास्वरूप हरेक वर्ष चीरदाह गरी होली खेल्ने परम्परा बसेको मानिन्छ।

अर्को प्रसंग, दक्षकन्या सतीदेवीले यज्ञकुण्डमा हामफाली देहत्याग गरेपछि विक्षिप्त बनेका शिवजीलाई कामदेवले कामवाण प्रहार गरी संसारप्रति सम्मोहित बनाउने प्रयास गरेका थिए। तर यस कार्यले शिवजीको तृतीय नेत्र खुल्न गई त्यसबाट निस्किएको क्रोधाग्निमा परी कामदेव स्वयं भस्म भए। कामदेवकी पत्नी रतिको विलाप र देवताहरूको बन्दनाले प्रभावित भई जब भगवान शिवले कामदेवलाई जीवित हुने वरदान दिनुभयो अनि देवताहरूले रङको वर्षा गरी खुसियाली मनाएको प्रसंगलाई पनि होलीपर्वसँग जोड्ने गरिन्छ।

समग्रमा असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाउने गरिन्छ। भगवानका विभिन्न गाथाहरूलाई लोकलयमा गाउने परम्परा पनि होलीपर्वको अर्को पाटो रहेको छ। यस पर्वमा होरी, होली, होरिया, फगुवा, ख्याली, टप्पा, वसन्तराग आदि नामले विभिन्न जातजातिका लोकगाथाहरू गाउने र नाच्ने गरिन्छ। मान्यजनका हातबाट अबिर तथा रङ लगाई आशीर्वाद लिने र मान्यजनलाई श्रद्धाभाव व्यक्त गर्ने अवसर पनि होली पर्वले प्रदान गर्दछ। यसर्थ सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयता कायम राख्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ। हर्षोल्लासपूर्वक मनाइने होलीमा मालपुवालगायत मिष्ठान्नहरू खाने चलन छ। विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। सांस्कृतिक घुलमिलका कारण अन्य मुलुकमा पनि यो पर्व मनाउन थालेको पाइन्छ।

2 responses to “फागु पूर्णिमा (होली)”

  1. Kislaya shah says:

    good information thanks

  2. anjan timalsina says:

    maro holi t babal vo tapai haru sathi ko k kasto vo yaspali vayana vane aorko Basra ramro sagg khalnu parxa ho sathi ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved