२०७४ सालको श्रावण शुक्ल पूर्णिमामा चन्द्रग्रहण परेकाले यस तिथिलाई जनैपूर्णिमाका रूपमा मनाउन शास्त्रले निषेध गरेको छ। यसर्थ धर्मशास्त्रअनुसार जनैपूर्णिमामा गरिने कर्महरू नागपञ्चमीमै सम्पन्न गरिएको हो।
आजको ग्रहण नदेखिने अमेरिकातर्फका स्थानहरूमा भने ग्रहणको सूतक नलाग्ने हुँदा आजै जनैपूर्णिमा मनाउनुपर्छ।
नेपाललगायत ग्रहण देखिने स्थानमा हुनुहुन्छ भने आज नित्यकर्म, भोजन आदि ग्रहणको स्पर्शकालभन्दा ९ घण्टाअगावै (नेपालमा दिवा २ः०७ बजेभित्रै) गर्नुपर्छ। तिथिश्राद्ध, पूर्णिमा स्नान, दान, पूर्णिमाको व्रत, पूजन, चन्द्रमालाई अर्घ्यदान र पूर्णिमामा गरिने यावत् कर्महरू नियत समयमा नै गर्नुपर्छ, कुनै दोष लाग्दैन। रात्रि १ः०४ बजे ग्रहण सकिएपछि मोक्षस्नान हुने भएकाले भोजन, प्रसाद चाहिँ भोलि बिहान नित्यकर्म गरेपछि मात्र गर्न मिल्छ।
श्रावण पूर्णिमामा गरिने लोक व्यवहार तथा परम्परामा आधारित विधिहरू सम्पादन गर्न, जात्रा, मेला, उत्सव मनाउन, क्वाँटी खान ग्रहणले छेक्दैन। आज गरिने पूर्णिमासम्बन्धी स्नानदान, दैनिक पूजा, पूर्णिमा व्रत, मातापिताको तिथिश्राद्ध आदि कर्म, स्वतन्त्र रक्षाबन्धन एवं राखी बाँध्ने कार्य सम्पादन गर्नलाई आजको ग्रहणले निषेध गर्दैन, प्रातः १०ः३८ बजे भद्रा सकिएपछि गर्न उपयुक्त हुन्छ। यस्तै गोसाइँकुण्ड, दूधकुण्ड, त्रिवेणी, पशुपतिक्षेत्र लगायत तीर्थमा स्नान गर्न, मेला भर्न र सम्बद्ध देवी–देवताको दर्शन गर्न पनि ग्रहणले बाधा पुर्याउँदैन। अर्थात्, श्रावण पूर्णिमासँग जोडिएर आउने सबै लौकिक कार्य आजै सम्पादन गर्नुपर्छ।
श्रावण शुक्ल पूर्णिमामा पितृहरूको वार्षिक श्राद्ध रहेछ भने आजै गर्नुपर्छ। ‘ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति सम्भवेsन्नेन कार्यम्। ब्राह्मणाद्यलाभेनासम्भवे तु आमेन हेम्ना वा कार्यम्।’ भनिएकाले दिउँसो २ः०७ बजेसम्ममा भोजनादि सूतक पनि नलाग्ने भएकाले तिथिश्राद्ध यसै दिन गर्न मिल्छ, गर्नुपर्छ।
आज ग्रहणको कारणले गर्न नमिल्ने कृत्यहरू उपाकर्म, यज्ञोपवीत अभिमन्त्रण तथा नयाँ जनै फेर्ने कार्य, ऋषि पूजन, ऋषि तर्पण तथा उपाकर्मकै अंगरूप रक्षाबन्धन यसअघि नागपञ्चमीकै दिन गर्नुपर्ने शास्त्रवचन रहेकाले ती कार्यहरू नियत समयमै गर्न सुझाइएको हो। आशौच आदिका कारण नागपञ्चमीका दिन गर्नुपर्ने उपाकर्मलगायत कार्य रोकिएको भए अन्य शाखाको आश्रय लिएर भाद्र शुक्ल पञ्चमी वा पूर्णिमामा गर्न सकिन्छ।
‘सर्वशाखिनां … ग्रहणसंक्रान्त्याशौचादिदोषसम्भावनायां सर्वथा कर्मलोपप्राप्तौ शाखान्तरोक्तकालानां ग्राह्यत्वमावश्यकम्।’ धर्मसिन्धुको यस वाक्यले रोकिएको कर्म गर्ने पछिल्लो समय निर्धारण गरेको छ।



Jai ma
चन्द्र ग्रहण कति बजे बाट सुरु र कति बजे सम्म सकिने र भोजन कति बेला गने पुरा कुरा बुझियन
खण्डग्रास चन्द्रग्रहण – वि.सं. २०७४ साल साउन २३ गते, सोमबार
London ko sutak kati baje bata kati baje samma ho?