खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत–पर्व र तिथि–श्राद्धबारे शास्त्रीय निर्णय
२०७४ साल माघ १७ गते बुधवार पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाली समयअनुसार साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजे ग्रहणको सम्मिलन (चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश) हुनेछ भने ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे उन्मिलन (चन्द्रबिम्ब छायाबाट निस्कन सुरु) हुनेछ। बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५ मिनेट रहनेछ। काठमाडौंमा साँझ ५ः५५ बजे चन्द्रोदय भएपछि मात्र ग्रहण देख्न सकिनेछ। चन्द्रमा ग्रस्तोदित भए पनि नदेखिएको ग्रहणको दोष नलाग्ने शास्त्रीय मान्यताअनुसार काठमाडौंवासीका लागि चन्द्रोदय समय ५ः५५ बजेदेखि ग्रहण लागेको मानिनेछ। यसर्थ काठमाडौंमा ग्रहणको पर्वकाल ३ घण्टा २ मिनेटको हुनेछ। स्थानभेदले चन्द्रोदय फरक–फरक समयमा हुन सक्छ। चन्द्रोयअघि नै ग्रहणले स्पर्श गरिसकेको भए आफ्नो ठाउँमा चन्द्रमा उदाउने समयका आधारमा ग्रहण सूतक लाग्छ। अस्ट्रेलिया, एसियाको पूर्वी भाग तथा क्यानडाको पश्चिमउत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिने चन्द्रग्रहण पश्चिम एसियामा ग्रस्तोदय र अमेरिकामा ग्रस्तास्त देखिनेछ। पश्चिम युरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने चन्द्रग्रहण देख्न सकिने छैन।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed