कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ। ‘हरि’ भन्नाले भन्नाले भगवान् विष्णुलाई बुझिन्छ भने ‘बुध्’ धातुबाट बनेको ‘बोधिनी’ शब्दले निद्राबाट जागा हुने भन्ने जनाउँछ। पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ।

भगवान् श्रीहरि शयन गर्नुहुने तिथिलाई हरिशयनी एकादशी भनिन्छ भने कोल्टो फेर्ने तिथिलाई हरिपरिवर्तिनी एकादशी र शयनावस्थाबाट जागा हुने आजको तिथिलाई हरिबोधिनी एकादशी भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ। भगवानको जाग्ने दिन भएकाले हरिबोधिनी वा हरिप्रबोधिनी एकादशी भनिएको हो। भगवानका विशेष क्षणहरू परं कल्याणदायी मानिन्छन्। इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा भगवानको शयन, परिवर्तन र जागरण हुने समयलाई उत्सवका रूपमा मनाउन निर्देश गरेको पाइन्छ। यसर्थ एकादशी तिथिलाई भगवान् विष्णुको उपासना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ।

भगवानको शयन अवस्थामा लोक नै सुत्ने हुनाले विशेष माङ्गलिक कार्यहरू, विवाह, व्रतबन्ध, चूडाकर्म, वरपीपलको विवाह, गृहनिर्माणलगायत कृत्यहरू भने गरिँदैनन्। भगवानको शयन अवस्थामा गरेका कार्यहरूमा भगवानको दृष्टि नपर्ने हुँदा शुभफल पाइँदैन। यसर्थ यो समयमा शुभकर्म गर्न निषेध गरिएको हो। यो समयका लागि पात्रोमा पनि यस्ता कृत्यहरूको शुभसाइत राखेको पाइँदैन। नित्य, नैमित्तिक कर्म भने यस चतुर्मासभित्र पनि गर्न हुन्छ, दोष लाग्दैन। आषाढ शुक्ल एकादशीदेखि कार्तिकशुक्ल एकादशीसम्म भगवानको शयनावस्था रहने भएकाले कार्तिक शुक्ल द्वादशीका दिन भगवानलाई जगाउने शास्त्रोक्त विधान रहेको छ। चतुर्मासभरि शयन गर्नुभएका भगवान् श्रीहरिलाई कार्तिक शुक्ल द्वादशीमा यस मन्त्रद्वारा जगाउनुपर्दछ–
उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।।
(हे गोविन्द भगवान्, हजुरले निद्रा छोडेर अठ्नुपर्यो किनकि हजुरको सुताइमा संसारै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत्, ब्रह्माण्ड नै उठ्छ। अतः जगतलाई जगाउन हजुर जागा हुनुपर्यो।)

कार्तिकमा भगवान् जागा भएपछि सर्वप्रथम दामोदर भगवानसँग भगवती तुलसीको विवाह गर्ने विधान छ। सम्भव भए कार्तिक शुक्ल द्वादशी तिथिमा र सम्भव नभए वा बाधा परे त्यसपछि दामोदर–तुलसी विवाह गर्नुपर्दछ।

एकादशी व्रतको महत्त्व

श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन्। चतुर्मासभरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

आषाढ शुक्लपक्षको एकादशीदेखि चातुर्मास्य व्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्लपक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ। यस बीचमा पर्ने अन्य एकादशीभन्दा शयनी र बोधिनी एकादशीको विशेष महत्त्व बताइएको छ। वर्षभरिका एकादशीमध्ये अत्यन्त पुण्यफलदायी हुने भएकाले यी दुई एकादशीलाई ठूलीएकादशी पनि भन्दछन्। एकादशी महात्म्यका साथै एकादशीमा व्रतीले पालना गर्ने विधिविधानबारे ब्रह्मवैवर्त पुराणमा उल्लेख गरिएको छ। एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर कन्दमूल, फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भोजन भने निषेध गरिएको छ। शास्त्रवचनअनुसार सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्न भोजनलाई पनि एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य हो। गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन्। यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो। विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेकाले यो काम्य पनि हो।

एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्यमा सबल भएर अगाडि बढ्न सिकाउँछ। चतुर्मासभरि वा प्रत्येक एकादशीमा व्रत बस्नाले आत्मसंयम तथा दृढनिश्चयी भावको विकास हुनुका साथै शारीरिक एवं मानसिक स्फूर्ति बढाउने प्रेरणा प्राप्त हुन्छ। त्यसैले एकादशीको व्रत सधैंका लागि र सबैका लागि लिनुपर्ने भनी निश्चय गरिएको हो।

मानिसका प्रत्येक इन्द्रियको सम्बन्ध मनसँग जोडिएको हुन्छ। इन्द्रियहरूमा विषयभोगको लालसा हुन्छ। शब्द, स्पर्श, रूप, रस, गन्ध इन्द्रियका विषयभोग हुन्। विषयभोगको प्राप्ति कान, छाला, आँखा, जिब्रो, नाकजस्ता इन्द्रियले चाहेर मात्रै हुँदैन, मनले नै चाहनुपर्दछ। इन्द्रियको विषयातुर वृत्तिलाई नियन्त्रणमा राख्ने काम पनि मनले नै गर्दछ। यसर्थ सफा मन र विकाररहित इन्द्रियको एकाकार वृत्तिले मात्र कुनै पनि कार्यलाई सफल बनाउन सकिन्छ। यस प्रकारको सफलतामा एकादशी आदि व्रतहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। एकादश इन्द्रियहरूको संयम वा नियन्त्रण नै एकादशी व्रतको महत्त्वपूर्ण पक्ष हो ।

आँखा, कान, नाक, जिब्रो र छाला यी ५ ज्ञानेन्द्रिय हुन् भने वाक्, पाणि, पाद, पायु, उपस्थ यी ५ कर्मेन्द्रिय हुन्। यी १० इन्द्रिय र मन समेत गरी ११ वटा इन्द्रियहरूको वृत्ति अर्थात् चालचलन एवं विषयवासनाप्रतिको आशक्तिलाई रोक्ने काम एकादशी व्रतले गरेको हुन्छ। एकादश इन्द्रियको नकारात्मक वृत्तिलाई रोक्नु नै एकादशी व्रत लिनुको तात्पर्य हो। अतः एकादशी व्रतले इन्द्रिय संयममा राख्न सिकाउनुका साथै एकाग्र भएर कार्यक्षेत्रमा अघि बढ्न सिकाउँछ।

तुलसी विवाह

हरिप्रबोधिनी एकादशीपछि जब भगवान् विष्णु जागा हुनुहुन्छ, त्यसपछि चार महिनाअघि रोपेर पूजा गरिएकी तुलसीको विधिपूर्वक दामोदर भगवानसँग विवाह गरिन्छ। एकादशी व्रतको पारण गर्ने दिन अर्थात् द्वादशी तिथिमा तुलसीको विवाह गरिन्छ। तुलसीलाई नित्यपूजापछि दामोदर भगवान् वा सत्यनारायणको पूजा गरी तुलसी र दामोदर भगवानको विशेष पूजार्चना गरेर दामोदर भगवानको हातमा तुलसीलाई अर्पण गरिन्छ। छोरीको कन्यादान गरेजस्तै तुलसीको हात कल्पना गरेर दामोदर भगवानका हातमा दिनुपर्दछ। भगवानलाई तुलसी समर्पण गर्ने मन्त्र यसप्रकार रहेको छ–
देवी कनकसम्पन्नां कनकाभरणैर्युताम्।
दास्यामि विष्णवे तुभ्यं ब्रह्मलोकजिगीषया
अर्थात् सुवर्ण आदि अलङ्कारले सुसज्जित बनाएर नाना गरगहना तथा वस्त्र, आभूषणले युक्त भएकी यस्ती तुलसीरूपी कन्यालाई दामोदर अर्थात् विष्णुरूपी हजुर वरसमक्ष समर्पण गर्दै छु

‘आजसम्म तुलसीरूपी यी कन्यालाई रोपेर, हुर्काएर, बढाएर आज यथाशक्ति अलङ्कृत गरेर दामोदररूप तपाईंलाई दिँदै छु’ भनेर भगवान् सत्यनारायणका अगाडि हातमा संकल्प लिएको जल छोड्नुपर्छ र भगवान् विष्णु प्रसन्न हुनुहोस् भन्नुपर्छ। यी मैले दिएकी तुलसीरूपी कन्या ग्रहण गर्नुहोस् भन्नुपर्दछ। तुलसीको हात सम्झिएर विष्णुमा स्पर्श गराउनुपर्छ। यो तुलसी दान गरेकाले मैले मोक्ष पाऊँ र तपाईं तुलसी मेरा चारैतिर हुनुहोस् भनी प्रार्थना गर्नुपर्दछ।
त्वं देवि मेऽग्रतो भूयास्तुलसीदेविपाश्र्वतः।
देवि त्वं पृष्ठतो भूयास्त्वद्दानान्मोक्षमाप्नुयाम्।।
यसपछि १०८ हवनआदि गरेर दक्षिणा दान गर्नुपर्छ।

नवान्नप्राशन, धात्रीपूजन तथा वनभोज

यसै हरिप्रबोधिनी द्वादशीका दिन नै नयाँ चामल भगवानलाई अर्पण गरेर न्वाँगी खाने परंपरा छ। वस्तुतः नयाँ धान, जौ आदिको उत्पत्तिपछि घरमा भित्र्याएर देवता, पितृहरूलाई अर्पण गरेर हवन गरी ‘आजदेखि प्रसादरूपमा यो अन्न ग्रहण गर्दछु’ भनी नवान्न ग्रहण गर्ने विधिलाई आग्रायण कृत्य भनिन्छ। अपभ्रंश हुँदै नयाँ अन्न ग्रहण (नवान्न) लाई न्वाँगी भन्न थालिएको हो। द्वादशीदेखि पञ्चमीसम्म तुलसीको हवन, तुलसीको विवाह र नवान्न प्राशनका लागि शुभसाइत हेर्नु नपर्ने हुँदा यी कर्महरू एकसाथ गर्ने गरिएको हो। मार्ग कृष्णपक्षको पञ्चमीपछि दिन जुराएर मात्र यी कर्महरू गर्न मिल्ने हुन्छ।

यसका साथै यस प्रबोधिनी एकादशीपछि वा एकादशीकै दिन पनि अमलाका फेदमा दामोदर भगवानको पूजा–आराधना गरेर पुरुषसूक्तले षोडशोपचार विधिले पूजा गर्ने र अर्घ्य दिनुपर्छ। अर्घ्य दिने मन्त्र–
अर्घ्यं गृहाण भगवन् सर्वकामप्रदो भव।
अक्षया संसतिर्मेऽस्तु दामोदर नमोऽस्तु ते ।।
दामोदरलाई यो मन्त्रले अर्घ्य दिएपछि क्षमापन गरेर धात्री अर्थात् अमलालाई चन्दन, कुंकुम आदिले पूजा गर्ने र फूलले पनि ‘ॐ धात्र्यै नमः…’ इत्यादि २० वटा मन्त्रले पूजा गरी सव्यले तर्पण गर्ने विधान छ।

यसपछि यो मन्त्रले अमलाको बोटमा धागो बाँध्नुपर्छ–
दामोदरनिवासायै धात्र्यै देव्यै नमोऽस्तु ते।
सूत्रेणानेन बध्नामि सर्वदेवनिवासिनीम्।।

‘ॐ धात्र्यै नमः…’ भन्ने मन्त्रले चारतिर दही–अक्षताको वलि दिएर आठवटै दिशामा बत्ती बाल्नुपर्दछ। यसपछि प्रदक्षिणा गरेर प्रार्थना गर्नुपर्दछ।

प्रार्थनामन्त्र–

धात्रीदेवी नमस्तुभ्यं सर्वपापक्षयंकरि।
पुत्रान् देहि महाप्राज्ञे यशो देहि बलञ्च मे।।
प्रज्ञां मेधां च सौभाग्यं विष्णुभक्तिं च शाश्वतीम्।
नीरोगं कुरु मां नित्यं निष्पापं कुरु सर्वदा।।
यसरी प्रार्थना गरेपछि घिउले भरिएको सुनले युक्त भएको कांस्यपात्र दान गर्नुपर्दछ। यसपछि यसै अमलाका फेदमा भोजन पकाएर खानुपर्दछ। यसलाई आजकाल वनभोज भनिन्छ।

वनभोजको परम्परा

अमलाका फेदमा दामोदर र धात्री अर्थात् अमलाको पूजा गरेर अर्घ्य आदि दिएर धन–सम्पत्ति, आरोग्य आदिको प्राप्तिका लागि प्रार्थना गरेर त्यहीँ भोजन बनाएर खाने शास्त्रीय मान्यता रहेको छ। यसैको अपभ्रंश गरेर वनभोज खान जाने परम्परामा परिणत भएको हो। मूल कुरा अमलाको फेदमा भोजन गर्ने शास्त्रीय मान्यता हो भने अहिलेको सन्दर्भमा वनभोज कार्यक्रम मात्र हुन थालेको पाइन्छ।

यसरी हरिबोधिनी एकादशीसँग जोडिएर आएका प्रसंगहरूमा एकादशी व्रतको चार महिना, तुलसीको विवाह प्रसंग, नवान्नप्राशनको धार्मिक पक्ष, धात्रीमूलमा दामोदर र धात्रीको पूजन, तर्पण एवं वनभोजको प्रसंग जोडिएको पाइन्छ।

16 responses to “हरिबोधिनी एकादशी”

  1. Raja Ram itani says:

    So wonderful information to all Hinduism

  2. नीता श्रेष्ठ says:

    हरिबोधनी एकादशी बारेमा जानकारी पाएको मा धेरै धन्यवाद ।

  3. krishna mahat says:

    म हरिबोध एकादशिमा ब्रत बस्न चाहन्छु

  4. TapannKumar Dutta says:

    कठीन व्रत रहेछ यो तर फलदाई पनि उतिक्कै ।
    श्रीहरि:

  5. nilam says:

    chitaiko ko pugos

  6. parkash agarwal says:

    wow so very nice statement

  7. कृष्ण थापा says:

    हाम्रा सास्त्रीय परम्परा र मान्यताका विषयमा प्रकाश पारीदिनु भएकोमा साधुवाद !

  8. बसंत शर्मा says:

    अति उत्तम जानकारी बोध गराई दिनु भएको मा धेरै धेरै धन्यबाद

  9. देबु उपाध्याय says:

    लाभदायक र उपयोगी जानकारी।

  10. Bimal chhetri says:

    proud of you my culture

  11. सबिन ज्ञवाली says:

    यस्तो महत्त्वपूर्ण जानकारीका लागि हार्दिक आभार गुरुदेव

  12. Anil Tamang says:

    राम्रो हो हाम्रो एति एकादशी मेला ठुलो लाग्छ

  13. Laxman Awal says:

    Very happy to have important of our calture. JoJo lappa

  14. झइन बहादुर खड्का says:

    एकादसीको बरेमा उत्त्म जानकारिको लागि धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved