No Image

खण्डग्रास सूर्यग्रहण – पौष १०, २०७६

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
डिसेम्बर 25, 2019

आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। छेक्ने, छेकिने र छाया पर्ने बिम्बको परिस्थितिअनुसार नै सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र लाग्छ। सूर्यग्रहण लाग्दा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आइपुग्छ र पृथ्वीको सतहबाट सूर्यबिम्ब छेकिएको देखिन्छ। पृथ्वी र सूर्यको बीचमा एउटै दृष्टिरेखामा पर्ने गरी चन्द्रमा आएको बखतमा सूर्यग्रहण लाग्ने गर्छ। शीघ्रगतिको चन्द्रमाले सामान्यतया बादलले जस्तै सूर्यबिम्बको पश्चिम भागबाट छेक्न सुरु गरी पूर्वतर्फ बाहिरिने हुँदा सूर्यग्रहणको स्पर्श पश्चिमतिरबाट र मोक्ष पूर्वबाट हुने गर्दछ।

सूर्यग्रहण विभिन्न ठाउँबाट हेर्दा फरकफरक रूपमा देखिन्छ। २०७६ साल पुस १० गते बिहीवार पौष कृष्ण अमावास्या तिथि, मूल नक्षत्रमा सूर्यग्रहण लाग्दै छ। नेपाललगायत एसियाका अधिकांश भाग, हिन्द महासागर र अस्ट्रेलियाको उत्तरी भागबाट खण्डग्रास ग्रहण देखिनेछ भने साउदी अरेबिया, ओमान दक्षिण भारत, उत्तरी श्रीलंका, हिन्दमहासागर तथा मलेसिया र इन्डोनेसियाका केही भाग र सिंगापुरबाट खग्रास सूर्यग्रहण देखिनेछ। काठमाडौंमा बिहान ८:४२ बजे ग्रहणको स्पर्श हुनेछ। १०:०१ बजे ग्रहणको मध्य हुनेछ भने ११:३१ बजे मोक्ष हुनेछ। काठमाडौंका लागि यस ग्रहणको पूरा अवधि २ घण्टा ४९ मिनेट रहनेछ।

सूर्यग्रहणमा निषेध र कर्तव्य

यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा सूर्यबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहण लाग्नुभन्दा १२ घण्टा अघिदेखि अर्थात् पुस ९ गते बेलुकी ८:४२ बजेदेखि १० गते ग्रहण मोक्ष नहुँदासम्म अशक्त, बाल, वृद्ध र आतुरलाई बाहेक भोजनादि नगर्न सुझाएको छ। बाल, वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर (३ घण्टा) अघिदेखि भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।

ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ।

निद्रया जायते व्याधि मुत्रे दारिद्र्यमाप्नुयात्।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसूकर: ।।
अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधो गति: ।
बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।

ग्रहणका बेला गर्भको शिशुलाई विशेष असर पर्ने हुँदा गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्छ, यस्तो बेला ग्रहण हेर्नु हुँदैन र भरसक घरबाहिर निस्कनु हुँदैन। ग्रहण लाग्दै गर्दा बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

धर्मशास्त्रहरूमा बताइए अनुसार ग्रहणको समय सबै स्थानको जल गंगाजल समान पवित्र हुन्छ। दान लिने सबै पात्र पवित्र ब्राह्मणसमान सत्पात्र हुन्छन् र यसबेला गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भन्ने शास्त्रवचन छ। ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ।

ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ। स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

विभिन्न राशिहरूलाई ग्रहणको प्रभाव

ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशिमा ग्रहण लागेको छ भने उक्त ग्रहण शुभफलदायी हुन्छ। यसबाहेक अन्य राशिमा ग्रहण लागेको भए प्रतिकूल हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ। यसपालि सूर्यग्रहण मूल नक्षत्रमा लाग्नेछ। मूल नक्षत्र धनु राशिमा पर्ने हुँदा मूल जन्मनक्षत्र तथा धनु राशिवाला व्यक्तिहरूका लागि यो ग्रहणको फल कष्टदायी हुने मान्यता छ।

ग्रहणफल

मेष : मानहानि
वृष : कष्ट
मिथुन : पति वा पत्नीलाई पीडा
कर्कट : सुख
सिंह : चिन्ता
कन्या : पीडा
तुला : श्रीप्राप्ति
वृश्चिक : हानि
धनु : घात
मकर : व्यय
कुम्भ : लाभ
मीन : सुख

ग्रहण आकाशमा समय–समयमा देखापर्ने अनियमित परिघटना हो। सामान्यतया यसले ६ महिनासम्मलाई शुभाशुभ फलको विधान गर्दछ। ग्रहण लागेको नक्षत्रमा ६ महिनासम्म मांगलिक कार्य गर्न हुँदैन। ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ। ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भनिएकाले ज्योतिषमा गणितको परीक्षण गरी त्रुटि सच्याउने अवसर पनि ग्रहणले प्रदान गर्दछ।


Related Posts
खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत – पर्व र तिथि – श्राद्ध’bout शास्त्रीय निर्णय
By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 31, 2017
खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६
By उपप्रा. लक्ष्मीप्रसाद बराल in सूचना .
जुलाई 15, 2019
Comments
    rita

    सुर्य ग्रहणको बृस्तृत जानकारि


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!