सूर्यनारायण मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भन्दछन्। श्रावण सौरमास पद्धतिको चौथो महिना हो। यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् भने पृथ्वीमा वर्षा ऋतु प्रारम्भ हुन्छ। सूर्यनारायणले दक्षिणको बाटो समाएपछि पृथ्वीको उत्तरी गोलार्धमा दिनमान घट्दै जाने र रात्रिमान बढ्ने प्रक्रिया सुरु हुन्छ। सूर्य क्रमशः दक्षिणतर्फ अघि बढ्ने हुँदा पृथ्वीको दक्षिणी गोलार्धमा दिन लामा र रात छोटा हुन थाल्दछन्।

श्रावण वर्षा, हिलो र खेतीपातीसँग जोडिएको महिना हो। ग्रीष्म ऋतुको अन्त्य र वर्षाको सुरु भएको दिन हुनाले श्रावण संक्रान्तिका बेला मानिसको छालामा विशेष संक्रमण भई लूतो, घाउ–खटिरा, दाद, घमौरा आदि भई चिलाउने, पाक्ने जस्ता समस्या आउने हुँदा यस दिन प्राचीन कालदेखि नै विशेष सावधानी अपनाउँदै आएको तथ्य शास्त्रहरूमा वर्णित कण्डारक पूजाको प्रसंगले पुष्टि गर्दछ। संस्कृतमा ‘कण्डु’को अर्थ चिलाउनु हो। यस रोगका देवता कण्डारकलाई आजको दिनमा विधिवत् पूजा गरी लूतो फाल्नुपर्ने विधान धर्मशास्त्रमा पाइन्छ।

साउने संक्रान्तिको दिन साँझमा दीप, कलश, गणेशको पूजनका साथै कण्डारक देवताको पूजा गरी लूतो फाल्नाले विभिन्न चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। आज परिवारका सबै सदस्यले बलेको अगुल्टोमा लूतो विसर्जन गरी खेतबारीमा फाल्ने गर्दछन्। यसरी लूतो विसर्जन गर्दा तलको मन्त्र उच्चारण गर्नुपर्ने शास्त्रनिर्देश रहेको छ–

कण्डारक सुराधीश गृहाण दीपमुत्तमम्।
सरलेन्धनसम्भूतं ममारिष्टं विनाशय।।
कण्डारक रात्रिचर लूतादिभयनाशन।
उल्कामिमां प्रक्षिपामि माSस्तु लूताभयं मम।।

हाम्रो समाजमा साउने संक्रान्ति एउटा पर्वको रूपमा स्थापित छ। किसानहरूको खेतीपाती गर्ने मध्यसमय रहेकाले यो पर्व धुमधामसँग मनाउन फुर्सद नहुने भए पनि यो समयमा प्राप्त हुने विशेष परिकार बनाएर खाने चलन रहेको छ। थारू समुदायमा आजको दिन गुरियापर्व मनाउने गरिन्छ। थारू समुदायले गाउँघरमा रहेको रोगव्याधि हटाउन र टोल–छिमेकलाई रोगमुक्त राख्नका लागि रोगव्याधिको प्रतीक गुरही (पुतला) बनाई गाउँको दक्षिण दिशामा लगेर सेलाउने गर्दछन्। यसरी सेलाएको गुरहीलाई चुरकी र केराको डाँठले कोर्रा लगाएपछि गाउँबस्तीको रोगव्याधि हट्ने जनविश्वास रहेको छ।

हाम्रो पूर्वीय दर्शनअनुसार दक्षिणायनको आरम्भसँगै सूर्यनारायण दक्षिणतिर फर्किएपछि सर्वप्रथम मृतक अर्थात् पितृहरू बसेका स्थानमा उज्यालो हुन थाल्दछ। शास्त्रीय मान्यताअनुसार मृत्युका देवता यम दक्षिण दिशाका स्वामी हुन्। यसर्थ मृत्युपश्चात् मृतकको पहिलो गन्तव्य दक्षिण दिशालाई मानिन्छ। विशेषगरी मघा नक्षत्रलाई पितृहरूको नक्षत्र भनिन्छ। यसर्थ मघा नक्षत्रमा सूर्यनारायण प्रवेश गरेपछि (भाद्र महिनामा) सर्वप्रथम पितृकर्म (श्राद्ध) गर्ने शास्त्रीय विधान रहेको छ। तर दक्षिणायन लागेपछि पितृहरूको समय सुरु हुनुअघि नै नागपञ्चमी, रक्षाबन्धन, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, कुशेऔंसी, तीज, ऋषिपञ्चमी आदि विशेष पर्व तथा दिवसहरू आउँदछन्।

श्रावण महिनाभरि भगवान् शिवको पूजाआराधना गर्ने विधान रहेको छ। पहिले सत्य युगमा अमृतको खोजीमा देवता र दानव मिलेर समुद्रमन्थन गरी समुद्रबाट अनेक निधिहरू निकाल्ने काम गरे। यही क्रममा समुद्रबाट कालकूट नामक हलाहल विष उत्पत्ति भयो। संसारै विषमय हुने छाँट देखेपछि संसारलाई जोगाउन भगवान् शिवजीले त्यसलाई पान गरी कण्ठमा धारण गर्नुभयो। यही बखतमा विषको डाह मेट्न भगवान् शिवजी हिमालयमा गई गोसाइँकुण्डको उत्पत्ति गरी त्यसमा स्नान गरेर विषको डाहा शान्त गर्नुभएको पौराणिक प्रसंग रहेकाले श्रावण महिनाभरि भगवान् शिवजीलाई जल चढाई पूजा–आराधना गर्ने गरिन्छ।

भगवान शिवले आफ्नै जटाजूटबाट गंगाजीलाई पृथ्वीमा अवतरण गराउनुभएको प्रसंग पनि पुराणहरूमा रहेको छ। एक पटक अन्त:पुरमा शिवपार्वतीको एकान्तवास भइरहेको थियो। त्यही समयमा देवताहरूको सन्देश लिएर पुगेका अग्निदेवलाई आफ्नो अमोघ वीर्य थमाएपछि त्यसको डाह शमन गर्न नसकी गंगामा सेलाए। त्यसलाई उनै गंगाजीले धारण गरेपछि कुमार कार्तिकेयको जन्म भएको हो।

श्रावण महिनामा प्रकृतिस्वरूपा पार्वतीले हरियो रूप धारण गर्ने भएकाले पुरुषरूपी शिवजीको प्रसन्नताका लागि महिलाहरूले हरिया वस्त्र, चुरा आदि धारण गरी प्रत्येक सोमवार शिवजीलाई गंगाको जल चढाई पूजा–आराधना गर्ने गर्दछन्। यसरी श्रावण महिनाभरि आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राखी ब्रह्मचर्य पालन गर्दै प्रदोषले युक्त भएको वा सामान्य सोमवार पनि व्रत गरी शिवजीलाई गंगाजलले स्नान गराई दूध, बेल, पुष्प, धतुरो आदि शिवजीका प्रिय वस्तु चढाएर पूजाआराधना गर्नाले मानिसमा रहेका काम, क्रोध आदि विष समाप्त भई निष्पाप भइने शास्त्रकथन रहेको छ।

सम्पूर्ण ब्रह्मचारी, गृहस्थ, कन्या, सधवा अथवा विधवा नारी सबैले यस महिनामा शिवजीको शास्त्रोक्त विधिले शिवमन्त्र पाठ गरी पूजा–आराधना गर्नाले यस संसारमा इच्छाएको वस्तु प्राप्त गर्न सकिने फलश्रुति धर्मशास्त्रहरूमा पाइन्छ–

सोमवारव्रतं कार्यं श्रावणे वै यथाविधि।
शक्तोनोपोषणं कार्यमथवा निशि भोजनम्।।
सोमवारे विशेषेण प्रदोषादि गुणैर्युते।
केवलं वाSपि ये कुर्युः सोमवारे शिवार्चनम्।।
न तेषां विद्यते किञ्चिदिहामुत्र च दुर्लभम्।
उपोषितः शुचिर्भूत्वा सोमवारे जितेन्द्रियः।।
वैदिकैर्लौकिकैर्वापि विधिवत् पूजयेच्छिवम्।
ब्रह्मचारी गृहस्थो वा कन्या वापि सभर्तृका।।
विभर्तृका वा सम्पूज्य लभते वरमिप्सिताम्।
अपुत्रो लभते पुत्रान् निर्धनो धनवान् भवेत्।।
अविद्यो लभते विद्यामिति धर्मविदो विदुः।।

जसले श्रावण महिनामा विधि पुर्याएर सभक्ति भगवान् शिवजीलाई प्रसन्न तुल्याउन सक्छ, उसले सम्पूर्ण पापबाट छुटकारा त पाउँछ नै, आशुतोष भगवान् शिवजीका कृपाले उसले धर्म, धन, मान, विद्या, श्रीसम्पत्ति, वर वा कन्या, पद, प्रतिष्ठादेखि राज्यसम्मका सम्पूर्ण कामना प्राप्त गर्न सक्दछ भनी शास्त्रमा बताइएको छ। यो महिनामा पार्वतीले सोमवार व्रत बसी भगवान शंकरलाई वर प्राप्त गरेको प्रसंगले विधिपूर्वक व्रत गर्नाले इच्छाएको व्यक्तिसँग विवाह हुने विश्वास गरिन्छ।

11 responses to “साउने संक्रान्ति”

  1. sobilal Sharma says:

    Santi

  2. Tej Bahadur Rawat says:

    From Beginnings We Should Follow Our Heritage

  3. Ganesh prasad pant says:

    ekdam ramro ho yo Kura Satya ho.

  4. हरि प्रसाद धिताल says:

    धेरै राम्रो छ जाने नजानेका सबै लाई थाहा हुने सन्देस दिनु भएछ खुसि लाग्यो???

  5. Hemana says:

    excellent

  6. Bhupal Kharel says:

    Very Good.

  7. निखिल कुमार थापा says:

    यस पात्रो मा पहिला पहिला कुनैपनी चाड पर्व मा शुभकामना संदेश हरु पढ्न पाईन्थ्यो तर हित आज यि संदेशहरु देखा नपरेको ले कृपया सम्भब रहे सम्म यसलाई पु:न ऊपलब्ध गराईदिनुहुन बिनम्र अनुरोध गर्द छु!!!

  8. manoj raut says:

    eeuta yoo paramra chali aayeko hami nepali hru ko chad ho yo saune sangrati pani eek beses chad pani hoo luto fakera eeuta ramaiolo pani garinx

  9. hari lama says:

    nepal ko new new halkhabar haru herna r nepali tiem herda khusi lagxa mlaii

  10. केशब बिष्ट says:

    अती शुन्दर

  11. hark Bahadur tamatta (Bhattavanshi) says:

    सनातन वैदिक परंपरा निरंतर बनि रहोस । तपांईले गरेको कार्य सार्थक छ र ऊपलब्ध गराईदिनु भएको मा हार्दीक शुभकामना छ ।
    श्री गुरूदेव दत्त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved