माघ कृष्णपक्षको एकादशी तिथिलाई ‘षट्तिला एकादशी’ भनिन्छ। षट्तिला एकादशीका सन्दर्भमा अर्जुनको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। मर्त्यलोकमा हुने ब्रह्महत्या जस्ता महापापबाट मोचन र नरकको यातनाबाट मुक्त हुन सकिने उपायबारे ऋषि पुलस्त्यले दालभ्यलाई बताएको प्रसंगमा षट्तिला एकादशीको व्रत विधान प्राप्त गर्न सकिन्छ।

ऋषि दालभ्यको जिज्ञासा मेट्दै पुलस्त्य भन्छन्– यस एकादशीका दिन स्नानादि नित्यकर्म गरेर आफ्ना इन्द्रियहरू वशमा राखी व्रत बसी भगवान् श्रीहरिको उपासना एवं विधिपूर्वक पारणा गर्नुपर्दछ। यस्तै काम, क्रोध, लोभ, मोह, ईर्ष्या र अहंकारबाट सर्वथा टाढै रहनुपर्दछ। लक्ष्मीसहित भगवान् श्रीहरिलाई शास्त्रोक्त विधिले पूजा गरी हे जगदीश्वर, हजुरले यस संसारमा निराश्रितहरूलाई शरण दिनुहुन्छ र संसाररूपी सागरमा डुबेकाहरूलाई उद्धार गर्नुहुन्छ। हे मधुसूदन यो मैले अर्पण गरेको अर्घ्य ग्रहण गर्नुहोस् भनी प्रार्थना गर्नुपर्दछ। यसपछि ब्राह्मणलाई जलले भरिएको घडा र तिल दान गर्नुपर्दछ। आजको दिनमा तिलको प्रयोग गर्दा अनेक प्रकारका पापहरू नष्ट हुन्छन् भनी शास्त्रमा बताइएको छ–

तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी।
तिलभुक् तिलदाता च षट्तिला पापनाशनाः।।

माघ मासमा तिल मिसिएको जलले स्नान गर्नाले, तिलको लेपन शरीरमा लगाउनाले, तिलद्वारा हवन गर्नाले, तिलद्वारा तर्पण गर्नाले, तिलयुक्त भोजन गर्नाले र तिलको दान गर्नाले षट्तिलव्रत सम्पन्न हुन्छ। यसो गर्नाले छ प्रकारका पापहरूबाट मुक्ति मिल्दछ।

सर्वपथम एक विधवा ब्राह्मणीले यो व्रत लिएको प्रसंग पाइन्छ। यो प्रसंग भगवान् विष्णुले नारदलाई बताउनुभएको थियो। भगवान् विष्णुले आज्ञा गर्नुभयो– प्राचीन कालमा एक ब्राह्मणी मप्रति असाध्यै भक्तिभाव राख्दथिन्। उनी मेरो प्रसन्नताका लागि सम्पूर्ण व्रत लिने गर्थिन्। एक पटक त उनले महिना दिनसम्मै निराहार व्रत बसेर मेरो आराधना गरिन्। व्रतका प्रभावले ती नारीको शरीर र मन पवित्र भयो। तर उनले ब्राह्मण र देवतालाई केही पनि अर्पण गरिनन्। पृथ्वीलोकमा उनीबाट ब्राह्मण र देवता कहिल्यै तृप्त हुन पाएनन्।

भगवान् भन्नुहुन्छ– दानपुण्य नगरिकनै उनको देहान्त हुने अवस्था आउने देखेर स्वयं मैले एक दिन उनको घरमा पुगेर भिक्षाको याचना गरें। तर उनले एउटा माटाको डल्लो मेरा हातमा थमाइदिइन्। त्यही माटो लिएर म आफ्नो धाम फर्किएँ। केही समयपछि उनको देहान्त भयो र देहान्तपछि उनी सिधै बैकुण्ठलोकमा आइन्। व्रतका प्रभावले यहाँ उनले आँपको रुखबाहेक केही नभएको एउटा खाली कुटी प्राप्त गरिन्। रित्तो कुटी मात्र पाएपछि बिलौना गर्दै मेरा सामु आएर भन्न लागिन्– हे प्रभु, मैले अनेक व्रत लिएर हजुरप्रति भक्तिभाव दर्साउँदा पनि मेरा भागमा किन रित्तो कुटी प्राप्त भएको होला ? भगवानले उनलाई जीवनभर अन्नदान नगरेको र भिक्षुरूप भगवानलाई समेत माटाको डल्लो मात्र दिएको परिणामस्वरूप यस्तो भएको बताइदिनुभयो।

त्यसपछि उनले दानपुण्य नगरेकामा पछुतो मान्दै भगवानसँग यो स्थितिबाट मुक्ति पाउने उपाय अब के हुन सक्ला भनी बिन्ती गरिन्। भगवानले ब्राह्मणीलाई देवकन्याहरू आएर षट्तिला एकादशीको विधान बताउनेछन् र उनीहरूको स्वागतार्थ कुटीको ढोका खुला राख्नू भनी आज्ञा गर्नुभयो। त्यसपछि देवकन्याहरू आएर ब्राह्मणीलाई षट्तिला एकादशीको व्रत लिन सुझाउँदै त्यसको विधिसमेत बताए। ब्राह्मणीले विधिपूर्वक व्रत षट्तिला एकादशीको व्रत लिइन् र विधिपूर्वक पारणा गरिन्। यस व्रतका प्रभावले उनको कुटी अन्न र धनले भरिपूर्ण भयो। यसर्थ जसले विधिपूर्वक षट्तिला एकादशीको व्रत लिन्छ र यस व्रतमा तिल र अन्न दान गर्दछ, त्यसलाई वैभव र मुक्ति प्राप्त हुन्छ ।

ऋषि भन्दछन्– माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्व छ । षट्तिला एकादशीका दिन मनुष्यले भगवान् विष्णुका निमित्त व्रत लिनुपर्छ। व्रत लिने व्यक्तिले गन्ध, पुष्प, धूप, दीप, ताम्बूलसहित भगवान् श्रीहरिको षोडषोपचार विधिले पूजा गर्नुपर्छ। मास र तिल मिश्रित खिचडी पकाएर भगवानलाई भोग लगाउनुपर्छ। रात्रिकालमा तिलले १०८ पटक ‘ॐ नमो भगवते वासुदेवाय स्वाहा’ यस मन्त्रले हवन गर्नुपर्छ। यसरी तिलको उपभोग गर्नाले आरोग्यका साथै स्वर्गीय सुख प्राप्त हुने फलश्रुति समेत रहेको छ। श्रेष्ठ ब्राह्मणलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ। यसप्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक भएगरेका सम्पूर्ण अपराधबाट पनि मुक्त बनाइदिनुहुन्छ। त्यतिमात्र नभएर पुण्य प्रदान गरी स्वर्गमा बस्ने स्थान प्रदान गर्नुहुन्छ। यस महात्म्यलाई आत्मसात् गरी विधिवत् व्रत लिने भगवद्भक्तलाई त झन् असीम अनुकम्पा प्रदान गरी निश्चय नै उद्धार गर्नुहुन्छ।
यही प्रसंगलाई षट्तिला एकादशीका सन्दर्भमा अर्जुनको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महात्म्य बताउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved