नेपाल र अन्यत्र छरिएर रहेका नेपाली महिलाहरूले पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म कठिन व्रत बसी माघ शुक्ल पूर्णिमामा पारण गर्ने व्रत नै श्रीस्वस्थानी व्रत हो। पौराणिक प्रसंगअनुसार हिमालयपुत्री पार्वतीलाई उनको क्रीडाभूमि मानिएको नेपालमा स्वस्थानी देवीका नामले महिनाभरि पुजिन्छ। भगवान् शिवकी शक्तिस्वरूपा जगज्जननी माता पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वररूपमा प्राप्त गर्न गरेको कठिन व्रत नै श्रीस्वस्थानी व्रत हो। यस व्रतमा पार्वतीसहित रहनुभएका भगवान शिवको पूजा आराधना गरिन्छ। सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वास गरिन्छ ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि र अविवाहित महिलाले चिताएजस्तै वर प्राप्त हुने विश्वास गरिन्छ। माता पार्वतीको व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक ग्रन्थहररूमा पाइन्छ। पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको हो।

महिनाभरि प्रातः स्नान गरी शुद्ध वस्त्र पहिरिएर श्रीस्वस्थानी व्रत बसिन्छ । नित्य मध्याह्नकालमा पार्वतीले सहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरीलगायत सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेषमान्तक वन हाम्रै देश नैपालको काठमाडौंमा छन् । यो व्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।

महिना दिनसम्म एकछाक मात्र सात्विक भोजन गरी नियममा रहेर माता श्रीस्वास्थानी परमेश्वरीका साथमा शिवजीको पूजा गर्ने र व्रतका कठोर नियमहरू पालना गर्नुपर्दछ। विधिपूर्वक श्रीस्वस्थानी माताको आभूषणहरूले शोभायमान प्रतिमा स्थापना गरी भगवतीका पार्षदका साथमा महादेव समेतलाई पञ्चामृत, चन्दन, धूप, दीप, नैवेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रव्य, सेलरोटी, हलुवा इत्यादि अर्पण गरेर पूजा गर्नुपर्दछ । पूजापछि हातमा फूल लिएर हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गर्नु पर्दछ–

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे, दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात् भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चारबाहु भएकी, यस्ती श्रीस्वस्थानी माताको ध्यान गर्दछु ।

मध्याह्न्न कालमा श्री स्वस्थानी मातासँगै भगवान् श्री महादेवको पूजा अर्चना गर्नुपर्दछ । पूजापछिआफूले चिताएको कामना पूर्ण होस् भनी श्रीस्वस्थानी मातालाई अर्घ्य दिनुपर्दछ। साँझको पूजा पछि श्रीस्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ । कथापछि आरती गर्नुपर्दछ ।

यस क्रमले प्रतिदिन पूजा गरेपछि माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्ने र श्रीस्वस्थानी मातालाई पनि सँगै राखी पूजा गरेर सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फूल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौ, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनुपर्दछ। अन्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ। पूजापछि १०८ परिक्रमा गरी दण्डवत् प्रणाम गर्नुपर्दछ।

व्रत पारायणपछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ्य दिई माथिका सबै १०८ प्रसादहरूमध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित आफ्ना श्रीमानलाई, श्रीमान नभए आफ्ना छोरालाई, छोरा पनि नभए मित छोरालाई, मितछोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सयरोटी आफूले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्राम बस्नु भन्ने विधिविधान श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ। यति कर्म गरेपछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथाको फलश्रुति रहेको छ।

स्वस्थानी व्रतको अवधिभरि काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नान गरी माधवनारायणको दर्शन गर्नेहरूको मेला लाग्दछ। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेकाले प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् ।

3 responses to “श्रीस्वस्थानी व्रत समापन”

  1. sanjok thapa says:

    hjur guruba aaja swasthani ko brat katha samapti din ho t??

  2. S.L.S says:

    Very good , shree shwashthani marga ki Jay Jay hos !
    shwashthani mata le jami šaka pariwar , janta r nepal rastra raksha garun !!

  3. Keshar Oli says:

    मानिस आफ्नो संस्कारले चिनाउछ, आफ्नो संस्कार संस्कृति बिर्सिनु हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved