श्रीकृष्ण

भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। श्रीकृष्ण जगतका गुरु परमात्मा हुनुहुन्थ्यो, भगवानले पापाचार उन्मूलन गरी समाजमा युगीन शिक्षा दिनका लागि माता देवकी र पिता वसुदेवका सन्तानका रूपमा अवतार लिनुभएको थियो।

त्यसबेला अन्याय, अत्याचार, घुसखोरी एवं असत्य जस्ता पापाचार बढ्नुका साथै धर्मको विनाश भएकाले यस संसारका सञ्चालक परमात्माले कृष्णरूपमा अवतार लिनुपर्दछ भन्ने सोचेर देवताहरूका साथमा सल्लाह गरी देवकीको गर्भमा आएर सामान्य मानवीय स्वभावका साथ अवतरित हुनुभएको थियो।

सर्वज्ञ भगवान् श्रीकृष्णले सुरुमा अबोध मानवीय बाललीला प्रदर्शन गर्नुभयो। बाललीलामार्फत वहाँले परोक्षरूपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउँदै जानुभयो। एकपछि अर्को आश्चर्यमय, सनसनीपूर्ण बाललीलाले त्यतिखेरको समाजलाई चकित बनाउदै यदाकदा आफ्ना कुराहरू राख्ने श्रीकृष्ण कोही न कोही अलौकिक व्यक्तित्व भएको पूर्ण आभास दिलाएर आफू भगवान् नै भएको पुष्टि पनि गरिदिनुहुन्थ्यो। तर यस्तो आभास भगवानका प्रियजनले मात्र प्राप्त गर्थे भने भगवानको नररूपबाट मोहित समाज अनभिज्ञ तर अचम्भित थियो।

जन्मकालमै अलौकिक लीला रच्दै माता देवकी र पिता वसुदेवलाई आफ्नो दिव्यरूपको दर्शन गराउनुभएको थियो। यस्तै पूतनाको दुग्धपान गरी स्त्रीजातिलाई, हराएका गाईबाछा जस्ताको तस्तै सृष्टि गरेर छल गर्ने ब्रह्माजीलाई, गोवर्धन पर्वत धारण गरी इन्द्रको क्रोधबाट जोगाएर गोकुलवासीलाई, गोवर्धन पर्वत धारणकै प्रसंगमा झुक्न बाध्य बनाएर अभिमानी इन्द्रलाई, रासलीलाद्वारा सम्पूर्ण गोप गोपिनीहरूलाई, आफ्नो रूप रथ र यमुनामा एकैसाथ देखाएर काका अक्रूरलाई र अनेकौं प्रसंगमा मानवभन्दा भिन्न अलौकिक शक्तिवान् तथा दिव्य व्यक्तित्वको परिचयका साथ विभिन्न रूपका भक्तहरूलाई साक्षात्कार नै गराइदिनुभयो। एकै छिनमा मायाद्वारा त्यो अलौकिकपनलाई ढाकेर साधारणको जस्तो व्यवहारले त्यहाँका मानिसहरू त्यसै मायाभित्र रुमलिरहने अवस्था बनाइदिनु हुन्थ्यो।

भगवानका अलौकिक गुण तथा स्वरूपलाई विभिन्न व्यक्तिहरूले अनुभूत गरेका थिए। वास्तवमा श्रीकृष्णको विलक्षण स्वरूप त्यतिखेर प्रस्फुटित हुन्छ, जतिखेर कंसद्वारा आयोजित मल्लयुद्धमा वहाँ प्रवेश गर्दै हुनुहुन्थ्यो। त्यहाँ उपस्थित राजामहाराजादेखि सामान्य मानिससम्मले भगवानको दिव्य स्वरूपको आभास प्राप्त गरेका थिए। यही प्रसंगमा उपस्थित व्यक्तिहरूको दृष्टिमा भगवानको विलक्षणताको यसरी मूल्यांकन गरिएको पाइन्छ–
१. मल्लयोद्धाहरूले भगवानलाई वज्रसमान देखे।
२. सामान्य मानवले अलौकिक मानव देखे।
३. स्त्रीजातिले साक्षात् कामदेवरूपमा देखे।
४. गोपीजनले आफन्तको रूपमा देखे।
५. पापी तथा दुराचारी राजाजनले कुशल प्रशासक देखे।
६. देवकी, वसुदेव एवं नन्द–यशोदाले बालक पुत्र देखे।
७. राजा कंसले साक्षात् आफ्नो मृत्यु देखे।
८. विद्वज्जनले विराट पुरुष देखे।
९. योगीजनले परं तत्त्व (परमात्मा) देखे।
१०. वृष्णीहरूले परब्रह्म परमेश्वरका रूपमा दर्शन पाए।

एउटै व्यक्तिमा एकैपटक यति प्रकारको भाव जागरण हुनुमा विलक्षणताको परिचय झल्किन्छ। अर्को कुरा साक्षात् परमात्मामा हुने षड्–ऐश्वर्य–सम्पन्नता पनि कृष्णमा देख्न सकिन्छ। ती ६ वटा ऐश्वर्य हुन्– ऐश्वर्य (धनसम्पत्ति), धर्म, कीर्ति, पारलौकिक श्रेय आर्जन, ज्ञान र वैराग्य।

ऐश्वर्यस्य समग्रस्थ धर्मस्य यशसः श्रियः ।
ज्ञानवैराग्ययोश्चैव षड्णां भगः इतीरितः ।।

भगवानको गुण वा वहाँमा हुनैपर्ने विलक्षणता एवं समर्थतामा यी माथिका ६ वटा कुराको निवास हुनुपर्छ। भगवान् श्रीकृष्णमा षड्–ऐश्वर्य–सम्पन्नता थियो।

जब घर तथा मठमन्दिरमा पनि भगवानलाई स्थापना गरिन्छ र पूजा–आराधना गरिन्छ भने त्यो घर वा मन्दिर सामान्य नभएर यी ६ वटै ऐश्वर्यले युक्त हुन्छ। यसर्थ भगवानको प्राणप्रतिष्ठा गर्दा यी ६ वटा कुरा त्यहाँ आऊन् भन्ने अनुष्ठानविज्ञको चाहना हुन्छ। त्यसैले विधिपूर्वक उपयुक्त समयमा भगवानको प्राणप्रतिष्ठा गरिन्छ। शुभमुहूर्त एवं स्थिर लग्नमा प्राणप्रतिष्ठा गर्नुको उद्देश्य पनि भगवान् श्रीकृष्णको षड्–ऐश्वर्य–सम्पन्नता त्यहाँ पूर्णरूपमा चिरकालसम्म रहिरहोस् र जुनसुकै समयमा पनि भक्तले पूजाआराधना गरी याचना गर्दा उसमा पनि ती गुण अधिक मात्रामा प्राप्त होऊन् भन्ने नै हो। यद्यपि व्यक्ति कृष्ण बन्न सक्दैन तर कृष्णले चाहनुभयो भने विद्या, बल, गुण, तेज, ऐश्वर्य तथा यशले युक्तचाहिँ अवश्यै बनाइदिनुहुन्छ। यही नै भक्त र भगवानमा फरक छ। यस्तै प्रकारका विलक्षणता भगवान् श्रीकृष्णका अनेकौं लीलामा देख्न सकिन्छ र वहाँका गुणानुवादको अध्ययन गर्दा चिन्तन–मनन गर्न सकिन्छ। यस्तो विलक्षणता भगवान् श्रीकृष्णबाहेक अन्यत्र पाइँदैन। यही नै श्रीकृष्णको विशेषता एवं विलक्षणपन हो।

श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्णको पूजाविधि

भगवानमा ऐश्वर्यआदि गुणको खानी भएकाले नै भगवानको सेवा गर्दा भक्तहरूको अभीष्टसिद्धि हुने हो। त्यस्ता भगवानको पूजाआराधना गर्न भक्तजन सदैव लालायित हुन्छन्। पूजा गर्ने विधिविधानलाई यसरी जान्न सकिन्छ– सबभन्दा पहिले यशोधा माताको काखमा रहेर स्तनपान गरिरहनुभएका भगवानको ध्यान गर्नुपर्दछ। यसरी ध्यान गरेपछि नाममन्त्रअनुसार भगवानको पूजा गर्नुपर्दछ–

ध्यानं समर्पयामि श्रीकृष्णाय नमः।
आसनं समर्पयामि श्रीकृष्णाय नमः।
पाद्यं समर्पयामि श्रीकृष्णाय नमः।
अर्घ्यं समर्पयामि श्रीकृष्णाय नमः।
आचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पुनराचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पञ्चामृतं समर्पयामि श्रीकृष्णाय नमः।
शुद्धोदकं समर्पयामि श्रीकृष्णाय नमः।
पीताम्बरयुग्मं समर्पयामि श्रीकृष्णाय नमः।
यज्ञोपवीतं समर्पयामि श्रीकृष्णाय नमः।
चन्दनं समर्पयामि श्रीकृष्णाय नमः।
तिलयवान् समर्पयामि श्रीकृष्णाय नमः।
पुष्पाणि समर्पयामि, पुष्पमालां समर्पयामि श्रीकृष्णाय नमः।
धूपं समर्पयामि श्रीकृष्णाय नमः।
दीपं समर्पयामि श्रीकृष्णाय नमः।
नैवेद्यं समर्पयामि श्रीकृष्णाय नमः।
तुलसीपत्रं समर्पयामि श्रीकृष्णाय नमः।
फलं समर्पयामि श्रीकृष्णाय नमः।
ताम्बूलं समर्पयामि श्रीकृष्णाय नमः।
द्रव्यक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
आरार्तिक्यं समर्पयामि श्रीकृष्णाय नमः।
मन्त्रपुष्पाञ्जलिं समर्पयामि श्रीकृष्णाय नमः।
प्रदक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
साष्टाङ्ग प्रणामं समर्पयामि श्रीकृष्णाय नमः।
क्षमापनं समर्पयामि श्रीकृष्णाय नमः।

यसरी भगवानलाई उपलब्ध वस्तुहरू अर्पण गरेर तथा परदेश वा घरबाहिर भए भगवान् श्रीकृष्ण ध्यानको गर्दै यी पदार्थहरू चढाएको भावना गरेर पनि कृष्ण भगवानको पूजा सम्पन्न गर्न सकिन्छ। शुद्ध शरीर एवं पहिरन तथा पवित्र मन पारेर निश्चिन्त रूपमा भगवानको ध्यान गरी वहाँले गरेका लीलाहरूको स्मरण गर्दै भक्तिभाव समर्पण गर्नु र आफूले गरेका सम्पूर्ण कार्यहरू भगवानमा समर्पण गर्नु नै भगवानको पूजा हो।

षोडशांशयुक्त सर्वगुण सम्पन्न भएकाले श्रीकृष्णले गरेका सबै कार्य हामी मानवका लागि मार्गनिर्देशक छन्, शिक्षाप्रद छन्। मर्यादापुरुषोत्तम भगवान् श्रीरामको लीलाभन्दा परमात्मा परमेश्वर पूर्णब्रह्म श्रीकृष्णका लीला कथालाई हामीले जीवनमा उतार्ने प्रयत्न गर्दा हाम्रो कल्याण हुन्छ। योगीले गरेको जस्तो योग अनुकरण गर्ने हो भने भगवानले गरेका लीलारूपी कथाहरूबाट जीवन सफल बनाउने सूत्रहरूको अनुसरण गर्ने हो। खास गरेर यी शिक्षाहरू श्रीकृष्णबाट लिन सकिन्छ–

१. सांसारिक सुख एवं पारलौकिक सुखका लागि धनादि आर्जनमा समेत परमात्माको कृपा चाहिन्छ, आफूले चाहेर मात्र हुँदैन। अतः भगवानको आराधना नै जीवनको लक्ष्य हुनुपर्दछ ।
२. आवश्यकताअनुसार मित्रता सबैसँग गर्नुपर्दछ। सानो ठूलो त कर्मले गर्दा हुने हो। त्यसैले असल कर्म चिनेर राम्रो कार्य गर्नुपर्दछ ।
३. परमात्माले चाहे असम्भव कार्य पनि सम्भव हुँदोरहेछ। त्यसैले हामीले सत्कर्म गर्ने र परमात्मामा समर्पण गर्ने भाव हुनुपर्दछ।
४. असम्भवै असम्भवबीच रहेर पनि सम्भाव्यताको खोजीमा निरन्तर लाग्ने व्यक्ति अवश्य सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट प्राप्त गर्न सकिन्छ।
५. अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कार, संस्कृति नछोडी निरन्तर अडिग रहने व्यक्ति नै सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनीबाट प्राप्त हुन्छ। आफ्नो प्रतिज्ञामा अनेक लोभ–लालच, सांसारिक सुख र विषयवासनाले विघ्न पुर्याउने हुँदा यस्ता विषयवस्तुबाट मुक्त रही इन्द्रियहरूलाई वशमा राख्दा मात्र आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ। यस्ता अनेकौं शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट ग्रहण गर्न सकिन्छ।

9 responses to “श्रीकृष्ण जन्माष्टमी”

  1. Bishnu Prasad Adhikari says:

    excellent

  2. Santosh Rijal says:

    जन्मदिन हरिको

  3. Sanfosh Rijal says:

    अति रामरो

  4. कृष्णगाेपाल पराजुली says:

    प्रस्तुति सुन्दर , गहकिलो एवं बाेधगम्य लाग्यो ।

  5. bnod thaqrizz says:

    funny…
    nice…

  6. krishna Bahadur ttamang says:

    ॐ krishna

  7. laxmi parsad paudel says:

    sabai ramro lagyo

  8. prem says:

    ati ramro..

  9. kulshan lama says:

    Hare Krishna

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved