प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

महानवमी

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नैे परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह, उमंग एवं रौनक निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरी अभीष्ट सिद्धि तथा शक्ति आर्जन गर्ने समय हो भने गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जनको पर्व हो।

हर्षको आगमन

घटस्थापनादेखि नेपालीका घरघरमा दसैं भित्रिन्छ। हर्ष, उमंग र एकताको चाड दसैंले सबैलाई घरमा निम्त्याएको हुन्छ। बालबच्चादेखि वयोवृद्धसम्म सबैलाई दसैंले हर्षित तुल्याएको हुन्छ। पढ्नलाई सहर गएका छोराछोरी, धन कमाउन परदेश गएका छोरा र बिदेसिएका लाहुरेहरू ताँती नै लागेर घर फर्कन्छन्। जागिरेहरूलाई छुट्टी हुनासाथ घरै जाने हतार हुन्छ। घरमै हुनेहरू दसैंका लागि सबैथोक जोरजाम गर्न कसिन्छन्। घटस्थापनादेखि नै घरका अगुवा र कुलवृद्धहरू पूजापाठमा व्यस्त हुन्छन्। युवायुवती घर सजाउन र बाटोघाटो निर्माणमा जुटेका हुन्छन्।

हरेक दसैंमा घरको सरसफाइ र विशेष साजसज्जा गरिन्छ। गाउँघरका बाटाहरू मर्मत हुन्छन्। पुल-पुलेसा निर्माण हुन्छन्। विभिन्न योजना बन्छन् र गाउँको विकासमा सामूहिक प्रयत्न हुन्छ। ठाउँ-ठाउँमा पिङ र रोटेपिङ हालिएका हुन्छन्। विभिन्न खेलकुदका प्रतियोगिताले गाउँघर तथा सहर-बजारलाई तताएको हुन्छ। लामो समयदेखि दसैंका लागि अन्नपात र खसी-कुखुराको जोहो गर्ने चलन छ। परिवारजनका विभिन्न आवश्यकता पूरा गर्ने समय दसैं नै हो। सबैलाई नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक विभिन्न सामान जोड्ने समय पनि दसैं नै हो। दसैंकै मौकामा नयाँ भाँडाबर्तन, सिरक-डसना र बिजुली पुगेका ठाउँमा टिभी, कम्प्युटर जस्ता विद्युतीय सामान जोड्ने चलन बढेको छ। हुनेखानेहरू भोग-विलासमा रमाउँछन् भने हुँदा खानेले सामान्य आवश्यकता पूरा गर्छन्।

भेटघाट तथा एकताको पर्व

दसैंमा परदेश गएका छोराहरू सरसामानको गतिलै भारी लिएर फर्कन्छन्। जे-जस्तो दु:खले कमाए पनि घरमा ल्याएर सक्दो खुसी बाँड्छन्। घरमा हुनेहरूले परदेशीको बाटो कुर्छन्। लामो समयदेखि परदेशीकै लागि खानेकुरा साँचेर राख्छन्। बुढेसकालका बा-आमालाई छोरो फर्कंदा कति हर्ष हुँदो हो। हिजोसम्म सुनेको बाबालाई भेट्टाउँदा लालाबाला कति रमाउँदा हुन्। बिछोडिएको श्रीमानसँग पुनर्मिलन हुँदा पत्नीलाई कति आनन्द हुँदो हो। अनि स्वयं परदेशीले आफ्नै घरमा परिवारजनबीच आफूलाई पाउँदा कति आनन्द लाग्दो हो। र, छुट्टिएका साथीभाइ लामो समयपछि भेट हुँदा गाउँ कति रमाइलो हुँदो हो। दसैंमा चेलीबेटी, आफन्तजन र बन्धुबान्धवको समेत भेटघाट हुन्छ। यसर्थ यो भेटघाटको समेत पर्व हो। लामो समयदेखि माइत जान नपाएका चेलीहरू हुन् वा मामाघर जान पाइने आशामा औंला गन्दै आएका भान्जाभान्जीहरू, दसैंले उनीहरूको इच्छा पुर्याइदिन्छ। र, सबै आफन्तजनलाई भेट्ने र साना नानीहरूलाई आफन्तजनसँग चिनजान गराउने अवसर दसैंले नै जुराइदिन्छ।

दसैंमा सहर-बजारभन्दा गाउँघर रमाइलो हुन्छ। लामो सार्वजनिक बिदा हुने हुँदा सहरका अस्थायी बासिन्दाहरू दसैंमा गाउँघरतिरै फर्कन्छन्। राजनीतिक द्वन्द्वको अवसानपछि गाउँघरमा शान्ति छाएको छ। यसर्थ केही वर्षका लागि सहर पसेको गाउँले दसैं फेरि गाउँमै फर्किएको छ। त्यसैले पनि होला, दसैंमा सहर सुनसान लाग्छ। दशमी नजिकिँदै जाँदा रित्तिँदै जान्छ सहर। केही दिनलाई भए पनि सहरवासीले कोलाहलमुक्त आनन्दको सास फेर्छन्।

घरघरमा महोत्सव, जनजनमा महोत्सव। नेपालीहरूको सान र मौलिक पहिचान। जहाँ छन् नेपाली, त्यहाँ हुन्छ बडादसैं। त्यसैले त विदेशमा बस्ने नेपालीहरूले विदेशमै भए पनि दसैंलाई स्वागत गर्छन्। सम्भव भएसम्म साथीभाइ र आफन्त भेला भएर दसैं उत्सव मनाउँछन्। र, विदेशीलाई समेत दसैंको स्वाद चखाउँछन्। जो जहाँ भए पनि सबै नेपालीलाई सांस्कृतिक एकताको मालामा उन्न सफल छ बडादसैं।

आशीर्वाद र सम्मानको पर्व

बडादसैंको अर्को पाटो आशीर्वाद संस्कृति हो। मान्यजन र कुलवृद्धले आफूभन्दा सानालाई भगवतीको प्रसादस्वरूप टीका र जमरा लगाइदिन्छन् र आफूले जानेको आशीर्वाद पनि दिन्छन्। आशीर्वाद दिने व्यक्ति शक्तिसम्पन्न हुनुपर्छ। शक्ति पाउनलाई शक्तिस्वरूपा भगवतीको पूजा-आराधना गर्नुपर्छ। दसैंमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गा भवानीको पूजाआजा गरिन्छ। शक्तिपीठ र घरमा समेत भगवतीलाई प्रतिष्ठा गरेर नौरथाभरि भगवतीका गुणानुवादले युक्त दुर्गा सप्तशती पाठ, जप, अनुष्ठान र नाचगान समेत गर्ने विधान छ। यसरी अनुष्ठान गर्ने व्यक्तिले पवित्र भएर व्रत लिनुपर्दछ। र, भगवतीको पूजा, आराधना गर्नाले व्यक्ति शक्तिसम्पन्न हुन्छ। भगवतीबाट शक्ति प्राप्त गरिसकेपछि वर्षभरि अनीष्ट हुँदैन र व्यक्ति तथा उसको परिवार सुखी हुन्छ। यही धार्मिक विश्वासलाई आशीर्वाद संस्कृतिले समेत पक्षपोषण गरेको छ।

आशीर्वाद अनुष्ठानद्वारा प्राप्त शक्तिको बाँडफाँड पनि हो। दसैंमा दिइने आशीर्वादमा वैदिकदेखि पौराणिक, तान्त्रिक र लौकिक सम्मका मन्त्र, पद्य, सूक्ति र नैतिक आदर्शका वाक्यसमेत प्रयोग हुन्छन्। आशीर्वादमा प्रयोग हुने वैदिक मन्त्रले सार्वत्रिक तथा सर्वकालीन शान्ति, लोककल्याण र समाजका आदर्शलाई समेत पक्षपोषण गरेको हुन्छ। पौराणिक, तान्त्रिक वा लौकिक आशीर्वचनमा व्यक्तिलाई विभिन्न आदर्श पुरुषका गुणहरू प्राप्त भई सुखी र दीर्घायु हुने कामना गरिन्छ। लोकव्यवहारमा समेत बडादसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने चलन छ। मान्यजनप्रति गरिने श्रद्धालाई पनि दसैंले जीवन्त तुल्याएको छ। मान्यजनले दिएको आशीर्वाद थापिसकेपछि श्रद्धाले शिर निहुराई उनीहरूलाई ढोगभेट गर्ने गरिन्छ। यसो गर्नाले मान्यजन समेत प्रसन्न हुन्छन्। र, सबैमा आत्मीय भाव बढेर जान्छ। वास्तवमा यो नै नेपालीहरूको मौलिक संस्कार हो। बडादसैंले यही संस्कारलाई पुरानो पुस्ताबाट नयाँ पिँढीमा हस्तान्तरण गर्दै जीवन्त तुल्याएको छ।

बडादसैंको पूजा विधि

बडादसैंमा भगवती जगदम्बा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । शक्ति अार्जनका लागि दुर्गाको अाराधना गरिन्छ। बडादसैंलाई दसैं, विजया दशमी अादि नामले चिनिन्छ । नेपाली समाजमा राष्ट्रिय पर्वको रूपमा मनाइने दसैं पर्व अाश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमा सम्म विशेष हर्षोल्लासका साथ पन्ध्र दिनसम्म यो पर्व मानाइन्छ।

आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैंको प्रथम दिनबाट देवीको पूजा–अाराधना प्रारम्भ गरिन्छ। यस दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी चण्डीपाठ गरिन्छ। सप्तमीका दिन फूलपाती भित्र्याएपछि हर्ष बढाइँ हुन्छ। अष्टमी, नवमी र दशमी यस पर्वका विशेष दिनहरू हुन्। अष्टमीका दिन शैलपुत्री अादि नवदुर्गाको पूजा, बलिदान अादि कृत्यहरू गरिन्छन्। नवमीका दिन पूजन, हवन र दशमीका दिन जया, विजयासहित अपराजिता भगवतीको विशेष पूजा गरेपछि घटमा स्थापित मूल र अन्य देवीलाई समेत उठाई पूजा विसर्जन गरिन्छ र भगवतीको प्रसादस्वरूप गुरु–पुरोहित र मान्यजनका हातबाट टीका, जमरा लगाई अाशीर्वाद लिने शास्त्रीय परम्परा रहेको छ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका कृत्यहरू

प्रतिपदामा शुभ साइतमा घटस्थापना गरी त्यस घरमा दुर्गा भवानीको अावाहन गरी जमरा राख्ने, चण्डीपाठ प्रारम्भ गर्ने। नवरात्रका द्वितीया, तृतीया, चतुर्थी, पञ्चमीका दिनमा यिनै कृत्यहररूको निरन्तरता रहन्छ भने छैटौं दिन बेलको रूखमा गएर पूजन गरी बेललाई निमन्त्रण गरिन्छ। यो कृत्य सायंकालमा गर्नुपर्छ। सप्तमीका दिन पूजनादि गरी वेलपत्र टिपेर ल्याउनुपर्छ भने धेरै प्रकारका फूलहरू, फलहरू एवं नवपत्रिका ल्याएर घर या पूजाघरको मुख्य द्वारमा राखी हर्ष–बढाइँसाथ फूलपाती भित्र्याइन्छ। नेपालको सन्दर्भमा यो फूलपाती भित्र्याउने कार्यलाई निकै महत्त्वका साथ हेरिन्छ। यसै दिन गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोकाको पूजाघरसम्म फूलपाती ल्याई राजकीय सम्मानका साथ भित्र्याइन्छ भने नाचगान गरी हर्षोल्लासका साथ प्रत्येक नेपालीका घरमा पनि फूलपाती भित्र्याइन्छ ।

अष्टमीका दिन नवदुर्गा भवानीको अर्चना गर्दा दक्षिणबाट उत्तरतिर हुने गरी चामलका नौ थुप्रा लगाएर ती थुप्रामा दक्षिणबाट उत्तरतिर १–१ देवीको क्रमैसँग पूजा गरिन्छ। प्रथममा शैलपुत्री, द्वितीयमा ब्रह्मचारिणी, तृतीयमा चन्द्रघण्टा र त्यसपछि क्रमश: कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री र महागौरी भगवतीको पूजा गरिन्छ। यसैगरी नवपत्रिका, जनै सुपारी, नैवेद्य, फलफूल, भेटी, दक्षिणा आदि पनि चढाइन्छ। यसै दिन नयाँ हात-हतियार र पुराना कुटो-कोदालो, खुर्पा, खुकुरी तरवार, चुलेंसी, चक्कुलगायत औजारको पनि पूजा गरिन्छ। निश्चित स्थान तथा कार्यबाहेक कुष्माण्डादिको वलि, नरिवलको वलि, केरा, घिरौलो अादिको वलि घरको अगाडि आँगनमा दिइन्छ। यस क्रममा ‘जय देवी भैरवी…’ अादि वलि दिन भनिने प्रसिद्ध श्लोकहरू उच्चारण गर्नुपर्छ। तर सात्त्विक पूजामा भने वलिको उपयोग गरिँदैन। बडादसैंको यो अत्यन्त महत्त्वपूर्ण
दिनको रूपमा पर्दछ। तिथिअनुसार कालरात्री पूजा पनि यसै दिन गरिन्छ ।

महानवमीका दिन दैनिक पूजा, भीमसेनको पूजा, चण्डीपाठ हवन अादि कृत्यहरू सम्पन्न गरिन्छन्। विजया दशमीमा नित्यपूजनादि कार्य सकेर शुभसाइतमा देवीको विसर्जन एवं जया, विजयासहित अपराजिताको पूजा गरेर तयारीका साथ गुरुपुरोहित एवं अाफ्ना मान्यजनका हातबाट शुभसाइतमा दुर्गा भवानीको प्रसाद टीका–जमरा लगाइन्छ । यो नै विजयादशमीको मुख्य एवं महत्त्वपूर्ण समय हो। यसपछि मान्यजनका घरघरमा गएर टीका जमाराका साथ अाशीर्वाद लिने धार्मिक परम्परा रहेको पाइन्छ। कोजाग्रत पूर्णिमासम्म यो निरन्तर चलिरहन्छ भने कोजाग्रत पूर्णिमाका दिन रातिमा महालक्ष्मीको पूजा गरेर पारिवारिक जमघटका साथ कौडा अादि खेलेर बडादसैं र कोजाग्रत पूर्णिमाको बिदाइ गर्दैबडादसैं पर्व समापन गरिन्छ ।

घटस्थापना गर्ने विधि

लिपपोत गरी चोख्याइएको शुद्ध स्थानमा घटस्थापना गर्नुपर्छ। सुरुमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि दुर्गा भवानीको आवाहन गर्न जौ, गहुँ आदि रोपण गरेर त्यसको बीच भागमा दुर्गा भवानीको घडा स्थापना गर्नुपर्छ। त्यसमा सपरिवार, सायुध, सशक्ति दुर्गा भवानीको स्थापना गर्ने विधान छ। थालीमा देवीयन्त्र वा अष्टदल लेखी दुर्गायन्त्र लेखेको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित दुर्गा भवानीको पूजा प्रारम्भ गर्नुपर्छ।

यही विधिलाई घटस्थापना भनिन्छ। यसपछि दुर्गा भवानीको पाठ, जप, चण्डीपाठ गर्ने गरिन्छ। यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवी भागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ। नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शनआदि गरिन्छ। यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ।

पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे।
गृहे गृहे शक्तिपरैग्र्रामे ग्रामे वने वने।।
स्नातैः प्रमुदितैर्हृष्टैब्र्राह्मणैः क्षत्रियैः नृपैः।
वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः।।

नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपर्दछ। नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ। नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ। कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ।

‍‍दुर्गाको षोडशोपचार पूजाविधि

ध्यानमन्त्र

अागच्छ वरदे देवि ! दैत्यदर्प निषूदिनी ।
पूजां गृहाण सुमुखि ! नमस्ते शंकरप्रिये ।।
सर्वतीर्थमयं वारि सर्वदेव समन्वितम् ।
इमं घटं समागच्छ तिष्ठ देवगणैः सह ।।

ध्यानं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः।

दुर्गाका चारैतिर रहने देवताहरूको पूजा

बीचमा सिंहासनको पूजा गरी ईशानबाट क्रमश: पूजा गर्ने

ॐ विष्णवे नमः। ॐ शिवाय नमः। ॐ विनायकाय नमः। ॐ सूर्याय नमः। दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः।

(वैदिक मन्त्र, तान्त्रिक मन्त्र, दुवै मन्त्र मिलाएर वा नाम मन्त्रले मात्र पनि देवीको पूजा गर्न सकिने भएकाले यहाँ नाममन्त्रद्वारा पूजा विधि प्रदर्शन गरिएको छ।)

१. अासनं समर्पयामि, दुर्गादेव्यै नमः। (आसनका लागि देवीलाई कुश तथा फूल चढाउने)
२. पाद्यं समर्पयामि, दुर्गादेव्यै नमः।
३. अर्घ्यं समर्पयामि, दुर्गादेव्यै नमः।
४. अाचमनीयं समर्पयामि, दुर्गादेव्यै नमः।
५. स्नानीयं समर्पयामि, दुर्गादेव्यै नमः।
६. पञ्चामृतस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
७. शुद्धोदकस्नानं समर्पयामि, दुर्गादेव्यै नमः।
८. वस्त्रं, यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि, दुर्गादेव्यै नमः।
९. श्रीखण्डादि चन्दनं समर्पयामि, दुर्गादेव्यै नमः।
१० अक्षतान् समर्पयामि, दुर्गादेव्यै नमः।
११ पुष्पं, पुष्पमालां, सौभाग्यद्रव्याणि समर्पयामि, दुर्गादेव्यै नमः।
(सिन्दुर, गाजल, टीका, मंगलसूत्र अादि सबै चढाउने र अावरण पूजा पनि यहीं गर्नुपर्दछ।)

१२ धूपं अाघ्रापयामि, दीपं च दर्शयामि, दुर्गादेव्यै नमः।
१३ नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, दुर्गादेव्यै नमः। अाचमनीयं च समर्पयामि, दुर्गादेव्यै नमः।
१४ ताम्बूलं समर्पयामि, दुर्गादेव्यै नमः। सुगन्धिद्रव्यं च समर्पयामि, दुर्गादेव्यै नमः।
१५ न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, दुर्गादेव्यै नमः।
१६ अारार्तिक्यं, पुष्पाञ्जलीं, प्रदाक्षिणां, क्षमापनं च समर्पयामि, दुर्गादेव्यै नमः।
अनेन यधा उपलब्धवस्तुद्वारा पूजनेन दुर्गादेवी प्रियताम् न मम।

(षोडशोपचार पूजा दैनिक रूपमा गर्नुपर्छ। चण्डीपाठ गर्ने भए ब्राह्मणवरण, पुण्याहवाचन अादि गरेर पुस्तकको पूजा गरी पाठ गर्नुपर्दछ।)

नवरात्रको छैटौं दिन साँझमा वेलको फेदमा गएर वेलको पूजा गरी वेललाई निमन्त्रण गरिन्छ । यो कृत्य सायङ्कालमा गर्नुपर्दछ। सप्तमीका दिन पूजनादि गरी वेलपत्र टिपेर ल्याउनुपर्छ भने धेरै प्रकारका फूलहरू, फलहरू एवं नवपत्रिका ल्याएर घर या पूजाघरको मुख्य द्वारमा राखी हर्षबढाइँका साथ फूलपाती भित्र्याइन्छ। नेपालको राष्ट्रिय सन्दर्भमा यो फूलपाती भित्र्याउने कार्यलाई निकै महत्वका साथ हेरिन्छ। यसै दिन गोरखा दरबारबाट काठमाडौंको हनुमान ढोकाको पूजाघरसम्म फूलपाती ल्याई राजकीय सम्मानका साथ भित्र्याइन्छ भने नाच गान एवं हर्षोल्लासका साथ प्रत्येक नेपालीको घरमा पनि फूलपाती भित्र्याइन्छ।

अष्टमीको दिन गरिने कृत्यहरू

घटस्थापनादेखि नवमीसम्म दुर्गापूजा चलिरहन्छ भने अष्टमीका दिन यी नवदुर्गाको विशेष पूजा गरिन्छ। बडादसैंको अष्टमीलाई महाअष्टमी भनिन्छ। यस दिन दुर्गा पूजाको नित्यकर्म सकेर नवदुर्गा भवानीलार्इ आवाहन गरी पूजन गरिन्छ। प्रथमं शैलपुत्री च… इत्यादि देवीहरूको नवदुर्गाका रूपमा पूजा गरिन्छ। त्यसमा हिजो भित्र्याइएको नवपत्रिका, नौ प्रकारका फूल, नौ जोर जनै, नौ वटा सुपारी, नौ वटा धूप, नौ जोर बत्ती, नौ भाग नैवेद्य, नौ वटा भेटी आदि राखेर नवदुर्गाको पूजा गरिन्छ। नवदुर्गाको बीचमा प्रतीकका रूपमा नौ माना वा नौ पाथी वा नौ मुठी चामलका नौ थुप्रा लगाएर नवदुर्गाको पूजा गर्ने विधान छ।

दक्षिणदेखि क्रमैले उत्तरतिर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री भगवतीको स्थापना गरी यही क्रमले ध्वजापताका आलम आदि यसै क्रमले चढाउनुपर्दछ। नवदुर्गालार्इ विभिन्न वस्तु अर्पण गर्दा यसरी नाममन्त्र उच्चारण गर्नुपर्छः

१ ॐ शैलपुत्र्यै नमः ……………. समर्पयामि।
२ ॐ व्रह्मचारिण्यै नमः …………… समर्पयामि।
३ ॐ चन्द्रघण्टायै नमः …………… समर्पयामि।
४ ॐ कुष्माण्डायै नमः ……………. समर्पयामि।
५ ॐ स्कन्दमात्रे नमः ……………. समर्पयामि।
६ ॐ कात्यायन्यै नमः ……………. समर्पयामि।
७ ॐ कालरात्र्यै नमः ……………. समर्पयामि।
८ ॐ महगौर्यै नमः ……………. समर्पयामि।
९ ॐ सिध्दिदात्र्यै नमः ……………. समर्पयामि।

जे जे पदार्थ जल, फलफूल, धूप बत्ती आदि चदाउँदा यी भगवतीका एकएक नाम लिँदै चढाउनुपर्दछ। शास्त्रमा भगवतीका नामान्तर पनि पाइन्छन्।

महानवमीका कृत्यहरू

नवमी कृत्य नित्यपूजा एवं हवनादि

घटस्थापनादेखि पूजा गरिएकी दुर्गा भवानीको नित्यपूजा, अष्टमीमा थापेका नवदुर्गा भवानीको पूजा, वलिदान, संकल्पित जप पाठादि सकेर हवन गर्नुपर्छ। एकै दिन १, ३, ९ कन्यापूजन गर्ने भए यसै नवमीका दिन गर्नु उचित हुन्छ। हवन गर्दा अग्नि स्थापना गरी पूर्वाङ्गसम्म हवनको विधि पुर्याएर संकल्प गरेको जपपाठअनुसार दशांश (१०%) हवन गर्नुपर्छ। जस्तै १०००० जप भए १००० हवन १०० तर्पण १० मार्जन र १ ब्राह्मणभोजन जप, पाठ, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन र यथाशक्ति दान आदि गर्नुपर्छ।

हवन गर्दा यस महानवमीमा दुर्गाभवानीको प्रधानता भएकाले भव्य पूजापाठ विशेष नभए पनि दुर्गाजीको वीजभन्त्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यस मन्त्रले १००८, १०८ विशेष हवन गर्नुपर्छ। त्यसपछि स्थापित देवताको उत्तराङ्ग विशेष पूजा गर्नुपर्छ। अग्निस्थापनाबाट पूर्वाङ्ग हवन गरी संकल्प अनुसारको विशेष हवन गरेपछि उत्तराङ्ग हवन गर्नुपर्छ। त्यसपछि तर्पण, मार्जन, पूर्णपात्रो आरती आदि शास्त्रोक्त विधिअनुसार समापन गर्नुपर्छ। अन्त्यमा कन्यालार्इ पूजन तथा भोजन र व्राह्मण भोजनसमेत गरेपछि आफूले पनि वन्धुवर्गसहित भोजन गर्नुपर्छ।

विजयादशमीका दिन गरिने विशेष विधिहरू

क. नित्यपूजा सकेर जया, विजया सहित अपराजिताको पूजा गर्ने
ख. दुर्गा भवानीसहित स्थापित समस्त देवीदेवताको शुभसाइत (२०७४।६।१४ गते प्रातः ८ बजेर १ मिनेट) मा विसर्जन गर्ने।
ग. दिवा ११:५५ बजेको शुभसाइतमा गुरु, पुरोहित एवं आफ्ना मान्यजनका हातबाट टीकाप्रसाद एवं आशीर्वाद ग्रहण गर्ने।
घ. राष्ट्रध्यक्षले देशको सीमासम्मको यात्रा गर्ने।
ङ. शमीको दर्शन, पूजन गर्ने। आदि।

दैनिक पूजनादि एवं नवरात्रसम्बन्धी पूजन कार्य सकेर थालीमा अष्टदल लेखी दक्षिणतर्फ जया, उत्तरमा विजया र बीचमा अपराजिता देवीको स्थापना गरेर षोडशोपचारले तीनै देवीको पूजा गरी प्रार्थना गर्नुपर्छ।

प्रार्थना गर्ने मन्त्र-
जयदेवी जगन्मातर्जय विश्वविमोहिनि।
प्रसीद मम कल्याणि वाञ्छासिद्धिकरी भव।।

यसैगरी ग्रहपूजा, पाँच प्रकारका ध्वजा पताका आदिको पूजा गर्नुपर्छ। कुलदेवता र इष्टदेवताको पूजा गरी शांखजल एवं अर्घ्य चढाउनुपर्दछ। अन्त्यमा अर्घ्य दिने मन्त्र-
ॐ गन्धाक्षतैश्च संयुक्तं फलपुष्पयुतं तव।
दत्तमर्घ्यं गृहाणेदं प्रसीद परमेश्वरी।।
यसपछि क्षमा मागी दण्डवत् प्रणाम गर्नुपर्छ।

दुर्गा भवानीसहित स्थापित देवताहरूको विसर्जन गर्ने विधि-

पूजास्थलमा प्रवेश गरी यस वर्षको ८:१ बजे विसर्जनको शुभसाइतमा चन्दन, अक्षता, फूल लिएर घटस्थापनादेखि अपराजितासम्म आवाहन गरेका देवीदेवताहरूमाथि छर्किंदै यी मन्त्रहरूको पाठ गर्नुपर्छ-

ॐ दुर्गे देवि जगन्मातः स्वस्थानं गच्छ पूजिते।
संवत्सरे व्यतीते तु पुनरागमनाय वै।।
ॐ उत्तिष्ठ देवि चण्डेशि शुभपूजां प्रगृह्य च।
कुरुष्व मम कल्याणमष्टाभिः शक्तिभिः सह।।
गच्छ गच्छ परं स्थानं स्वस्थानं देवि चण्डिके।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।
नित्यपूजा गरिने बाहेक सबै देवीदेवतामा फूलअक्षता चढाउनुपर्छ। घटस्थापना गरेको
कलश चलाएर हल्लाएर अलि कति ठाउँ सार्नुपर्छ। यसपछि नयाँ अक्षता जमरा आदि
कुलदेवताहरूलाई चढाउनुपर्छ ।

कलशको जलले अभिषेक-

ॐ द्यौः शान्ति… वैदिकमन्त्र र सुरास्त्वाभिषिञ्चन्तु… आदि वैदिक एवं पौराणिक मन्त्रहरूले यजमान र यजमानका पत्नीपुत्रादिलाई राखेर अभिषेक गर्नुपर्छ। अभिषेकमा पत्नीलाई बायाँ (देब्रेतिर) बसाउनुपर्छ।

टीकाजमरा एवं प्रसाद ग्रहण

आज विजयादशमीको टीका-प्रसाद ग्रहण गर्न काठमाडाैंका लागि मध्याह्न ११:५५ बजेको साइत उपयुक्त रहेको छ। अन्यत्र यो समयमा केही हेरफेर हुन सक्छ। यद्यपि देवीको प्रसाद ग्रहण गर्न साइत पर्खनुपर्दैन, आफ्नो अनुकूल समयमा प्रसाद ग्रहण गर्न सकिन्छ। थालीमा अक्षता राखेर दही, रातो रङ आदि लगार्इ आब्रह्मन् ब्राह्मणो… आदि मन्त्रले टीका मुछेपछि देवीपार्षदहरूलार्इ टीका, जमरा चढाउनुपर्छ। त्यसपछि घरको मूलथाम, मूलढोका आदिमा टीका लगार्इ गुरु पुरोहित र मान्यजनका हातबाट टीका ग्रहण गर्नुपर्छ।

7 responses to “राष्ट्रिय पर्व बडादसैं”

  1. कृपा s says:

    बड़ादशै को सुखद उपलक्ष्य मा मंगलमय शुभकामना व्यक्त गर्दछौं।

  2. Sohail uddin says:

    अति नै ज्ञान व​र्ध​क लेख को लागि लेख​क माझ धेरै धेरै ध​न्य​वाद ।

  3. AAYUS GHALE says:

    अति नै ज्ञान व​र्ध​क लेख को लागि लेख​क माझ धेरै धेरै ध​न्य​वाद ।
    AAYUS GHALE (DOHA QATAR)

  4. Nav Raj Shahi says:

    धन्यवाद।

  5. Subhash Yadav says:

    Knew a lot more about Dashain after reading this. HAPPY BIJAYA DASHAIN
    Thank you!

  6. बिजयादशमी २०७४ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved