No Image

योगिनी एकादशी व्रत

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जुलाई 9, 2018

आषाढ कृष्णपक्षको एकादशी तिथिलाई ‘योगिनी एकादशी’ भनिन्छ। ‘योग’ भनेको जोड्नु, मिलाउनु वा एकाकार गर्नु हो। मानवीय मनलगायत एकादश इन्द्रियलाई यी ६ वटा शत्रु र विषयवासनाबाट मुक्त गराई ईश्वरको सेवामा लगाएर अन्त्यमा आफ्नो देहभित्रको आत्मालाई मोक्ष अर्थात् ईश्वरत्व प्राप्त गर्न अभिप्रेरित गर्ने परमपावन दिवस भएकाले यस तिथिलाई ‘योगिनी एकादशी’ भनिएको हो।

एकादशी तिथिका आराध्य भगवान् श्रीहरि विष्णु हुनुहुन्छ। यसर्थ यस तिथिमा पवित्र मनले व्रत बसी सम्पूर्ण जगतका पालनकर्ता परमात्मा श्रीहरि विष्णुको उपासना, सेवा, पूजा र चिन्तन गर्दा मानवमनमा ईश्वरको वास हुन्छ र मनले विशेष प्रकारको आध्यात्मिक ऊर्जा प्राप्त गर्दछ। आध्यात्मिक ऊर्जा ईश्वरको कृपाले मात्र प्राप्त हुन्छ। ईश्वरको कृपा प्राप्त गर्न विशेष साधना गर्नुपर्दछ। यसरी साधना गर्ने व्यक्ति निरोगी, दीर्घायु, तीव्र स्मरणशक्ति र शीघ्र स्फुरणशक्ति भएको मेधावी अर्थात् तीक्ष्ण बुद्धिवाला हुन्छ। उसमा अन्तर्निहित स्थितप्रज्ञाले भविष्यमा आइपर्ने सम्पूर्ण बाधा–व्यवधानलाई समयमै निराकरण गर्न सक्तछ।

योगिनी एकादशी प्रसंग

इतिहास–पुराणमा द्वापरयुगको अन्त्यमा भगवान् श्रीहरिको अष्टम अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका भगवान् श्रीकृष्णले अनेक लीलाहरू प्रदर्शनका साथै पापाचारलाई समूल नष्ट गरी आसन्न कलियुगमा सम्पूर्ण लोकको उपकारका लागि विभिन्न सत्पात्रलाई उपदेश दिएर, धर्मको महत्त्व दर्साउँदै धर्माचरण गर्न लगाएर र स्वयं धर्मको पालना गरेर धर्मको स्थापना र संवर्द्धन गर्नुभएको इतिहास पाइन्छ।

भगवान् श्रीकृष्णले निष्पाप एवं सच्चरित्रवान् धर्मराज युधिष्ठिरको जिज्ञासालाई शान्त पार्दै सम्पूर्ण एकादशी व्रतहरूको महिमा बताउनुभएको छ। यही सन्दर्भमा भगवानले आषाढ कृष्णपक्षको एकादशी अर्थात् योगिनी एकादशीको महिमा वर्णन गर्दै धर्मराज युधिष्ठिरलगायत सम्पूर्ण लोकलाई एकादशीजस्ता पावन दिवसमा व्रत गरी ईश्वरसँग साक्षात्कार गर्ने उपाय अवलम्बन गर्न सत्प्रेरणा प्रदान गर्नुभएको छ।

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता मनमा उत्पन्न हुने वृत्तिहरूले मानिसलाई ईश्वरबाट टाढा राख्ने हुँदा यिनलाई मानिसका मुख्य शत्रु मानिएको छ। यी शत्रुको संख्या ६ भएकाले संस्कृतमा शत्रु अर्थात् रिपुको संख्यात्मक अर्थ ६ रहन गएको हो। एकादशी व्रतका माध्यमले ईश्वरको भक्तिभावद्वारा यस्ता कुप्रवृत्तिलाई मनमा भित्र्याउने र कार्यान्वयन गर्ने एकादश इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सकिन्छ। यसका साथै मनका कलुषित विचार र भावलाई निस्तेज पारी दया, करुणा, सद्भाव, सत्कर्म, ईश्वरभक्ति आदिद्वारा धर्म, अर्थ, काम र मोक्षको मार्ग अवलम्बन गर्न सकिन्छ।

एकादशी व्रतका विशेष नियम पनि छन्। यस व्रतमा विशेषगरी उपवासको महत्त्व बताइएको छ। मनलाई ईश्वरभक्तिमा एकाग्र बनाउन र इन्द्रियहरूलाई वशमा राख्य यथासम्भव निराहार र सम्भव नभए फलाहार व्रत बस्न सकिन्छ। योगिनी एकादशीलाई भगवान श्रीकृष्णले सम्पूर्ण पाप नष्ट गरी यस जन्ममा विशेष भोग र परलोकमा मुक्ति प्राप्त गराउने व्रतका रूपमा व्याख्या गर्नुभएको छ। फलश्रुतिसहितको एउटा कथाप्रसंग पनि भगवानले धर्मराज युधिष्ठिरलाई बताउनुभएको छ, जुन यसप्रकार रहेको छ–

स्वर्गलोकको अलकापुरी नामक नगरमा कुबेर नामका यक्षहरूका राजा थिए। उनी भगवान् शिवका परं भक्त भएकाले प्रतिदिन शिवको विशेष पूजा गर्दथे। उनले दैनिक पूजा गर्ने फूल ल्याउन हेम नामक मालीलाई खटाएका थिए। हेमकी विशालाक्षी नाम भएकी रूपवती पत्नी थिइन्। एक दिन हेमले मानसरोवरबाट पूजा गर्ने फूल लिएर आउँदै गर्दा बाटैमा पत्नीको स्मरण भयो र उसको मन कामातुर भएकाले ऊ फूल लिएर दरबार नगई घरतिर लाग्यो। घरमा पत्नीसँग क्रीडा गर्दागर्दै समय बितेको पत्तै पाएन।
उता दरबारमा मध्याह्नको पूजा गर्न फूल नआइपुगेपछि राजाले हेमको खोजी गरे। हेमको कामातुर चरित्र थाहा पाएका राजाका अन्य सेवकहरूले पत्नीसँग रमण गर्न गएको कुरा बताएपछि उसलाई तत्काल दरबारमा बोलावट भयो।

हेमको क्रियाकलापले राजा क्रुद्ध भएका थिए। डरले काँप्तै आइपुगेको हेमलाई अघिल्तिर देखेपछि राजा कुबेरले ‘परं पूजनीय देवाधिदेव भगवान् शिवजीको अनादर गरिस्? तँ पापी, नीच, कामीलाई श्राप दिन्छु’ भनी ‘तैंले अब स्त्रीको वियोग सहनेछस् र मृत्युलोकमा गएर कोढी हुनेछस्’ भनेर श्राप दिए।

कुबेरको श्रापले हेम माली स्वर्गबाट पतन भई तत्काल पृथ्वीमा झर्यो। भूमिमा आउनेबित्तिकै उसको शरीरमा कुष्ठ उत्पन्न भयो। स्त्रीबाट पनि उसको बिछोड भयो। त्यसपछि मृत्युलोकमा त्यस मालीले पाउनुसम्म दुःख पायो। घनघोर जंगलमा गएर अन्न र जल खान नपाएर लामो समयसम्म भड्किइरहयो। पीडैपीडाले ऊ गलित भयो। उसलाई रातभरि पनि निद्रा लाग्दैनथ्यो।

पहिले गरेको शिवजीको सेवाका प्रभावले उसलाई अघिल्लो जन्मको स्मृति भने छँदै थियो। पूर्वजन्मको कर्मका प्रभावले एकदिन ऊ घुम्दाघुम्दै मार्कण्डेय ऋषिका आश्रममा पुग्यो। ब्रह्माजस्तै वृद्ध देखिने मार्कण्डेय ऋषिको आश्रम ब्रह्माको सभाजस्तै देखिन्थ्यो। हेम मालीले त्यहाँ गएर ऋषिलाई पाउमा दण्डवत् गर्यो।

उसको स्थिति देखेर मार्कण्डेय ऋषिलाई दया लाग्यो र उनले भने, ‘तिमीले के पाप गर्यौ र तिम्रो यो हालत भयो?’ हेम मालीले सम्पूर्ण वृत्तान्त सुनायो। सबै सुनेपछि ऋषिले भन्नुभयो, ‘अवश्यै तिमीले मेरा सामु सत्य कुरा भन्यौ, त्यसैले तिम्रो उद्धारका लागि म एउटा व्रतको विधि बताउँछु। आषाढ कृष्णपक्षमा आउने योगिनी नामक एकादशीको विधिपूर्वक व्रत गर्यौ भने तिम्रा सबै पापहरू नष्ट हुनेछन्।

यो सुनेर हेम मालीले अत्यन्त प्रसन्न भएर मुनिलाई साष्टांग प्रणाम गर्यो। मुनिले उसलाई स्नेहका साथ उठाउनुभयो। हेम मालीले मुनिको निर्देशनअनुसार विधिपूर्वक योगिनी एकादशीको व्रत गर्यो। यही व्रतका प्रभावले आफ्नो पहिलेको अवस्था पुनः प्राप्त गर्नुका साथै पत्नीसँग पुनर्मिलन भयो र सुखपूर्वक रहन लाग्यो।

अन्त्यमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हे राजन् युधिष्ठिर, योगिनी एकादशीको एउटै व्रतले ८८ हजार ब्राह्मणलाई भोजन गराए बराबर फलप्राप्ति हुन्छ। यो व्रत बस्नाले समस्त पाप हटेर जान्छन् र अन्त्यमा स्वर्ग प्राप्ति हुन्छ।


Related Posts
कामिका एकादशी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अगस्ट 7, 2018
सफला एकादशी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जनवरी 1, 2019
Comments
    Dadi ram dahal

    hajur ati uutam hai ramro lago

    deepak rokaya D H R

    नेपाली पात्तराे हेरनाे पायकाे मा धनेबाद


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!