वैशाख शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशीका नामले चिनिन्छ । ‘मोह’लाई शास्त्रहरूमा पापाचारको एक कारण मानिएको छ। यसर्थ मोहरूपी बन्धनबाट मुक्त रहँदै ईश्वरको सान्निध्य प्राप्त गर्ने माध्यमका रूपमा मोहिनी एकादशी व्रतलाई लिन सकिन्छ।

काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यी ६ प्रकारका आचरणले पापवृत्तिको पक्षपोषण गरी मानिसलाई ईश्वरबाट टाढा राख्ने गर्दछन्। यसर्थ यिनलाई मानिसका मुख्य शत्रु मानिएको छ। एकादशी जस्ता व्रतका माध्यमले ईश्वरको भक्तिभावद्वारा यस्ता कुप्रवृत्तिलाई मनमा भित्र्याउने र कार्यान्वयन गर्ने एकादश इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सकिन्छ। यसका साथै मानव मनका कलुषित विचार र भावलाई निस्तेज पारी दया, करुणा, सद्भाव, सत्कर्म, ईश्वरभक्ति आदिद्वारा धर्म, अर्थ, काम र मोक्षको मार्ग अवलम्बन गर्न सकिन्छ।

एकादशी व्रतका आराध्य भगवान् श्रीहरि विष्णु हुनुहुन्छ। एकादशी व्रत बसी समस्त जगतका पालनकर्ता भगवान् श्रीहरिको उपासना, सेवा र चिन्तन गर्दा हाम्रो मनले आध्यात्मिक ऊर्जा प्राप्त गर्दछ। त्यो ऊर्जाले आरोग्य, दीर्घायु, तीक्ष्ण बुद्धि, तीव्र स्मरणशक्ति र शीघ्र स्फुरणशक्ति प्राप्त हुन्छ।

हाम्रो शरीरलाई स्वस्थ राख्न र मस्तिष्कलाई तीक्ष्ण पार्नका लागि पनि सके हप्तामा, नसके पन्ध्र दिनमा एक दिन उपवास बस्नु उपयोगी हुन्छ। उपवास बस्दा हाम्रो शरीरभित्रको पाचन प्रणालीमा रहेका सक्रिय तत्त्वहरूले आराम पाउनुका साथै शरीरका नसा एवं भित्रीभागमा रहेका आन्द्राहरू सदैव सन्तुलित र तन्दुरुस्त रहन्छन्। हल्का भोजनले पाचन प्रणालीमा धेरै असर नगर्ने हुँदा एक दिनको उपवास एवं हल्का भोजन स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। यसर्थ शरीरमा विद्यमान एकादश इन्द्रियहरूको नियन्त्रण एवं आरामका लागि पनि एकादशीका दिन निराहार वा फलाहार गरी व्रत बस्ने विधान शास्त्रहरूमा गरिएको हो।

शास्त्रअनुसार त्रेता युगमा भगवान् विष्णुले रामावतार लिएर पृथ्वीमा जन्म लिएपछि गुरु वशिष्ठबाट यस एकादशीका बारेमा ज्ञान प्राप्त गर्नुभयो र संसारलाई एकादशीको महत्त्व बुझाउन स्वयं व्रत बस्नुभयो। पछि द्वापर युगमा भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई मोहिनी एकादशीको महिमा बताउँदै यो व्रत बस्ने सल्लाह दिनुभएको प्रसंग पुराणादि शास्त्रहरूमा पाइन्छ।

युधिष्ठिरको जिज्ञासा शान्त पार्न श्रीकृष्णले उत्तर दिँदै भन्नुभएको छ– वैशाख शुक्ल एकादशीको नाम मोहिनी एकादशी हो र यसको व्रत लिएपछि सीताविरहबाट विह्वल भएका रामले पनि सबै दुःखबाट मुक्ति पाई सीतासान्निध्य प्राप्त गर्नुभएको थियो । कथाको प्रसङ्गमा कुलगुरु वशिष्ठ ऋषिलाई आफ्ना जिज्ञासा राखेपछि मर्यादा पुरुषोत्तम श्रीरामलाई वशिष्ठजी बताउनु हुन्छ– हे राम, यो तिमीले लोकहितका लागि प्रश्न गर्यौ, किनकि यसको जानकारीले लोकका सबै जनाले आफ्नो यस लोक र परलोक गरी दुवै लोकका लागि कल्याणको बाटो खोज्नेछन् । अतः यो उपायले युक्त भएको मोहिनी एकादशीको व्रतका विषयमा बताउनेछु।

वशिष्ठजी भन्नुहुन्छ– वैशाख शुक्लको एकादशीलाई मोहिनी एकादशी भनिन्छ र यसको व्रत उपासनाअघि सोमवंशी द्युतिमान नाम गरेका राजा आफ्नो भद्रावती नाम गरेको नगरमा राज्य गर्दथे । त्यहीं अत्यन्त धनी र दानी धनपाल नामका सेठजी पनि बस्दथे ।

धनपाल इति ख्यातः पुण्यकर्म–प्रवर्तकः ।
प्रपासत्राद्यायतन–तडागारामकारकः ।।

अत्यन्त धार्मिक धनपालका पाँच छोराहरू भए । कान्छो छोराको नाम थियो– धृष्टबुद्धि । यो धृष्टबुद्धिको स्वभाव सानै देखि नराम्रो बन्दै गयो । पापी, क्रूर, व्यभिचारी आदि अनेकौं नराम्रा काम गर्ने छोरो भएको देखेर सम्झाउने बुझाउने प्रयास गर्दा पनि सफल नभएपछि धनपालले आफ्नो त्यस छोरालाई राज्यबाट निकालिदिए । राज्यबाट निक्लिएपछि त्यो अनेकौं पापकर्ममा लाग्यो र वेश्याहरूको संगतमा फस्यो । पिताजीका राज्यबाट ल्याएका आफ्ना आंैठी, हीरामोती आदि सबै बेच्दै वेश्याहरूको संगतमा लिप्त भयो । संपत्ति सकिएपछि वेश्याहरूले पनि यसलाई छोडिदिए । यो एक्लै जंगलमा भड्किन थाल्यो । पशुपक्षी मारेर खाने, एक जंगलबाट अर्को जंगलमा जाने जस्तो यसै प्रकारको उसको अत्यन्त निन्दनीय दैनिकी रह्यो ।

जंगलमा घुम्दै गर्दा कुनै जन्मका पुण्यका प्रभावले कौडिन्य ऋषिको आश्रममा पुग्यो । वैशाख महिनाको दैनिकी कृत्यमा तल्लीन ऋषि आफ्नो नित्यस्नान गंगाजीमा गरेर आश्रममा प्रवेश गर्ने क्रममा ऋषिको वस्त्रको एक थोपा गंगाजल त्यो पापी धृष्टबुद्धिको शरीरमा पर्यो । गंगाजी आफैंमा पवित्र त्यसमा पनि पुण्यात्मा कौडिन्य ऋषिको स्पर्श पाएको जल पापी धृष्टबुद्धिको शरीरमा पर्दा त्यो सारा पाप, ताप र कुकृत्यबाट पूर्णरूपमा हटेर स्वच्छ एवं पापरहित भयो ।

माधवे मासि जान्हव्यां कृतस्नानं तपोधनम् ।
आससाद धृष्टबुद्धिः शोकभारेण पीडितः ।।
तद्वस्त्रविन्दुस्पर्शेन गतपाप्मा हताशुभः ।
कौडिन्यस्याग्रतः स्थित्वा प्रत्युवाच कृताञ्जलिः।।

अमलात्मा भएको त्यसलाई आफूले गरेको पापको प्रायश्चित्त र आफ्नो उद्धार हुने पनि बाटो के हो भनी हात जोडेर सोध्न थाल्यो । ऋषि भन्नुहुन्छ – यसै वैशाख महिनाको शुक्लपक्षमा आउने मोहिनी नामको एकादशीको व्रत गर्यौ भने जन्मजन्मार्जित अनेकौं पापहरू नाश भई पुण्यात्मा भइन्छ र वैकुण्ठ लोक गइन्छ। ऋषिबाट प्राप्त उपदेशलाई शिरोपर गरी ऊ व्रत बस्न लाग्यो । यसरी ऋषिको आज्ञाअनुसार व्रत बसेपछि ऐहिक पाप नाश गरी यसै व्रतका प्रभावले परलोक पनि सुधारेर बैकुण्ठ लोक गई भगवानको उत्तम भक्त बन्न सफल भएको कथाप्रसंग यस एकादशीसँग जोडिएको छ। त्यस्तो दुराचारी पनि मोहिनी एकादशी व्रतका प्रभावले पुण्यात्मा भई सारा पाप नाश गरी भक्त भएर वैकुण्ठ लोक गयो भने मनैदेखि व्रत गर्नेले त अवश्य पनि वैकुण्ठ जान पाइन्छ ।

दिव्यदेहस्ततो भूत्वा गरुडोपरिसंस्थितः ।
जगाम वैष्णवं लोकं सर्वोपद्रववर्जितम् ।।

यता कुलगुरु वशिष्ठले श्रीरामचन्द्रलाई यो कथा सुनाइसकेर कार्यसिद्धिका लागि मोहिनी व्रतको उपदेश गरेर शीघ्र सीताको सान्निध्य प्राप्त हुने उपदेश दिनुभयो । मोहिनी व्रतको प्रभाव र कुलगुरु वशिष्ठको आशीर्वादले रामचन्द्रजीले पनि सीताजीलाई प्राप्त गर्नुभयो ।

यसरी मोहिनी एकादशीको व्रतले धर्म, अर्थ, काम र मोक्षसम्म दिलाएको देखिन्छ । विभिन्न संवादका क्रममा जीवनमा आफूले गरेका गल्तीलाई स्वीकार गरी आत्मसात् गर्यो भने प्रायश्चित्तको बाटो पनि भेटिन्छ र आफू एवं आफ्नो कुलको ऐहिक उन्नति एवं पारलौकिक गति पनि प्राप्त गर्न सकिन्छ भन्ने जस्ता अनेकौं सन्देशहरू मोहिनी एकादशीका कथाका माध्यमबाट प्राप्त गर्न सकिन्छ ।

व्रत लिने विधि

मोहिनी एकादशीका व्रतीहरूले पवित्र मनले व्रत बस्ने संकल्प गर्नुपर्दछ। प्रातकालमा उज्यालो नहुँदै उठेर स्नान गरी शुद्ध वस्त्रहरू लगाएर भगवान् विष्णुको प्रतिमा, शालिग्राम वा तस्बिरसामु घिउमा बत्ती बाल्ने र जल, तुलसी, तिल, चन्दन, फल र फूलसहित पूजासामग्री लिएर भगवानको सेवा गर्ने। मनमा भगवानको नाम लिने, मन्त्र जप्ने र स्तोत्र–कथा पाठ तथा श्रवण गर्ने। कसैप्रति मनमा द्वेषको भावना नलिने, कसैको निन्दा नगर्ने। व्रतका दिन पूरै निराहार बस्ने अथवा बेलुकी पूजा गरिसकेपछि फलाहार गर्ने। रात्रिमा पनि जाग्राम बसी भगवानकै भजन–कीर्तन गर्ने। द्वादशी तिथिको बिहानै नित्यपूजा गरी एकादशी उद्यापन गर्ने र ब्राह्णभोजन गराउने। त्यसपछि आफूले भोजन गरी आनन्दित रहने।

15 responses to “मोहिनी एकादशी”

  1. नारायण प्रसाद अधिकारि says:

    राम्रो छ है जानकारी

  2. yuvraj neupane says:

    Shri Hari narayen bhagvan le sabai ko Kalyan garun

  3. krishna hamal says:

    ramroxa

  4. dinesh gc says:

    mohini ekadashi sangai ekadashi brata kaile bata suru garda ramro hola yesko bidhi bidhan k xa guru

  5. GANESH SUBEDI says:

    SAMADHAN

  6. तुला राम गुरुङ्ग says:

    अती राम्रो

  7. राम चन्द्र नेपाल says:

    India

  8. Asha mahar says:

    m bisnu vagawan ko brth lina chahan xu kasri

  9. Madan Dahal says:

    Important to every human beings specially to Hindus .

  10. shantalal dong says:

    nice nepali patro

  11. Shreekrishna Dahal says:

    dherai ramro. Jay hosh

  12. Damita sherpa says:

    nice

  13. ganesh khadka says:

    I like its good for that’s

  14. ashish says:

    satkarma satmarga ra satbudhhi.. dheraile follow garey sansar aile jasto hydaina thyo.. sansarko bikriti hatauna yesto gyan gun ka kira aatmasath garna jaruri chha.. om namo narayana

  15. ashish says:

    om namo narayana

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved