मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा समस्त पाठक, शुभचिन्तक तथा नेपाली पात्रोका प्रयोगकर्ता दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना।

माघे संक्रान्तिमा थारू समुदायको महान् चाड माघी पर्व धुमधामसाथ मनाइन्छ। नेपालको तराई र भित्रीमधेस क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मै बाक्लो बसोबास रहेको यस समुदायको नयाँ संवत्, धार्मिक पर्व, सांस्कृतिक उत्सव र घर–व्यावहार तथा समाजको वार्षिक योजना बनाउने महत्त्वपूर्ण अवसरको संगम हो, माघीपर्व।

माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व हो। यो सामूहिक रूपमा मनाइने चाड हो। आफ्नो बडघर मातहतका सबै परिवार मिलेर सामाजिक काम गर्ने र चाडबाड मनाउने चलन छ। समग्र थारू जातिको पहिचान बोकेको यस पर्वलाई स्थान विशेषअनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी आदि नामले जनाइन्छ।

माघी मनाउन १ महिना अघिदेखि नै तयारी गरिन्छ। खानाका परिकार बनाउन आवश्यक चामल, काठ, दाउरा, दुना–टपरी, गुलियो जाँड, रक्सी, खाने तेल, माछा, गँगटा, घुँगी आदिको जोहो गरिन्छ। पुस मसान्तमा सुँगुर मार्ने चलन छ। यस दिनलाई ‘जिता मर्ना दिन’ भन्दछन्। प्रायः बडघरिया वा भलमन्साको घरमा सुँगुर मारी गाउँभरिका सबैलाई आवश्यकताअनुसार मासु बाँडफाँट वा बिक्रीवितरण गरिन्छ। यस दिन मासु, ढिकरी (पिठोको पक्वान्न), माछालगायतको परिकार तथा जाँड–रक्सी खानपिन गरिन्छ। त्यसपछि रातभरि ‘धमार’ गाउँदै ‘मघौटा’, छोकरा र झग्रा नाच्ने चलन छ। रातभरि धुनी बालेर नाचगान गरिन्छ।  

माघे सङ्क्रान्तिको दिन बिहानै खोलानालामा गई सामूहिक ‘माघ लहान’ (मकर–स्नान) गरिन्छ। स्नान गरेपछि तिलको आगो ताप्ने गरिन्छ। यसो गर्दा वर्षभरिको पाप नासिन्छ भन्ने धार्मिक विश्वास छ। त्यसपछि घरमा आएर केही दाल, चामल, नुन, पैसा आदि छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने चलन छ। यसरी उठेको दाल, चामल, पैसा आदिमा केही थप गरी माघी मनाउन माइती आएका छोरीचेलीलाई घर फर्कंदा निसराउ (कोसेली) दिने गरिन्छ। गाउँभरिका मान्यजनलाई ढोगभेट गरी आशीर्वाद लिने गरिन्छ। माघी नुहाएपछि पुरानो रिसराग त्यागेर एकआपसमा अङ्कमाल गरी मेलमिलाप गर्ने चलन छ। त्यसैले माघीलाई आत्मीयताको पर्वका रूपमा पनि लिइन्छ। मान्यजनको आशीर्वाद लिएपछि सबैलाई खानपान गराउने चलन छ। संक्रान्तिमा रोटी, तिलको लड्डु, मुरही, खरियाका साथै तरुल, गन्जी, अनदी चामलको भात, खिचडी आदि खाने चलन छ। 

माघीका दिन दाङको देउखुरीमा स्थित धार्मिकस्थल रिहारमा रहेको तातो कुण्डमा स्नान गर्न भक्तजनहरूको घुइँचो लाग्दछ। त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने जनविश्वास छ। देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि रातभरि जाग्राम गरी पूजा गर्ने गरिन्छ। देउखुरी, कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुने जनविश्वास छ। यो ठाउँलाई थारूहरू ‘खौराबाबा’ भन्दछन्। खौराबाबालाई शिवजीकै स्वरूप मानिन्छ। यस्तै सुर्खेत जिल्लामा पातलगंगा कुवामा पनि तीर्थालुहरूको भीड लागेको हुन्छ। प्रसिद्ध तीर्थस्थल जान नसक्नेहरू नजिकको नदी, दोभान वा तलाउमा स्नान गर्दछन्।

माघीपर्व थारू समुदायको नयाँ संवत् प्रारम्भ हुने दिन हो। विक्रम संवत् २०७६ माघ १ गतेबाट थारू संवत् २६४४ प्रारम्भ हुन्छ। नयाँ वर्षलाई थारू समुदायमा वर्षभरिका योजना बनाउने महत्त्वपूर्ण दिनका रूपमा लिने गरिन्छ। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ। माघी पर्वलाई उन्मुक्ति दिवसका रूपमा पनि लिने गरिन्छ। माघीकै दिन घरभित्र र गाउँ–समाजमा नयाँ वर्षका लागि नयाँ योजना बनाई खेतीपातीलगायत यावत् काम र व्यवहारको नवीकरण गरिन्छ।

माघीकै अवसरमा घरसल्लाह गरी वर्षभरिका लागि काम र जिम्मेवारी बाँडफाँट गर्ने चलन छ। यस दिन दाजुभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घरसल्लाह गर्दछन्। माघीको पहिलो हप्ताभित्र कसलाई के जिम्मेवारी दिने, घरको नेतृत्व कसले गर्ने, पुरानो जिम्मेवारी तथा बहरिया काम हेरफेर गर्ने वा नगर्ने, खेत जोत्ने वा छाड्ने, विवाह गर्ने कि नगर्ने, कुन साहु–महाजनसँग व्यवहार गर्ने, लेनदेन गर्ने वा नगर्ने आदि विषयमा निर्णय लिएर आगामी वर्षको योजना बनाउने गरिन्छ । त्यसैगरी सामूहिक जिम्मेवारीका विषयमा पनि छलफलबाटै टुंगो लगाइन्छ। गाउँभरिका व्यक्तिहरू भेला भई गाउँको नेतृत्वकर्ता वडघर (भलभन्सा) चयन गरिन्छ। त्यसपछि चौकीदार, गुरुवा, केसौका, चिखया पनि छनोट गरिन्छ। गाउँको साझा कुल्वा, मरुवा, बेठ बेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, गाउँको साझा देवीदेवता तथा विभिन्न पूजापाठमा कसको जिम्मेवारी के रहने भन्ने विषयमा बृहत् छलफल गरी कामको योजना तयार पारिन्छ।

माघी पर्व पहिले थारूबहुल मध्यपश्चिमका गाउँघरमा मात्र सीमित थियो। अहिले पूर्वी तराई, राजधानी तथा थारूहरू बसोबास गर्ने देशविदेशका विभिन्न स्थानसम्म पनि माघीको रौनकता देख्न सकिन्छ। माघी पर्वलाई मुलुकभरि महोत्सवका रूपमा मनाउँदै थारू संस्कृति झल्किने परम्परागत हस्तकला, पहिरन, वेशभूषा, थारूहरूको मौलिक खानपान आदिको प्रदर्शन र प्रचार गरी समग्र मुलुकको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न सकिने बलियो सम्भावना देखिन्छ। थारू समुदायको एकता, सद्भाव, विश्वास र इमानदारिता सबै वर्गका लागि उदाहरणीय र अनुकरणीय छन्। 

One response to “माघी पर्व”

  1. Binod Yadav says:

    happy makar shankranti

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved