Shiva

भगवान् शिवजी सर्वप्रथम प्रकट हुनुभएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथिको रात्रिकालमा यस लोकको दृष्टिगोचरमा अनादि भगवान् शिवजी ज्योतिर्लिंग स्वरूपमा उत्पत्ति हुनुभएको धार्मिक विश्वास छ। हिन्दुहरूका आराध्य देव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ। भगवान् स्वयं प्रकट हुनुभएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो।

भगवान्  शिव अनादि, अनन्त, सर्वव्यापक र सनातन हुनुहुन्छ। सम्पूर्ण चराचर जगतको सृष्टि, पालन र संहारका निमित्त ब्रह्मा–विष्णु–महेश त्रिविध स्वरूपधारी भगवान शिव नै हुनुहुन्छ। सर्वप्रथम ज्योतिर्लिंग स्वरूपमा यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको रात्रि भएकाले शिवरात्रि मानवमात्रका लागि अत्यन्त पवित्र मानिन्छ।

सत्य युगमा समुद्रमन्थनका क्रममा निस्किएको हलाहल विषको भीषण ज्वालाबाट समस्त प्राणी जल्न लागे। यो देख्नासाथ भगवान् शिवले उक्त विष पान गरी कण्ठमा धारण गर्नुभयो। विषको दाहले भगवानको कण्ठ नीलो हुनपुग्यो र भगवान् नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो।

गमशास्त्र (श्रुति) का उपदेशक तथा प्रतिपाद्य भगवान् विष्णु हुनुहुन्छ भने आगमशास्त्र अर्थात् तन्त्रका उपदेष्टा र आराध्य भगवान् शिव। यज्ञ र तपका पर्याय क्रमश: भगवान् विष्णु र शिव हुनुहुन्छ। यज्ञरूप भगवान् विष्णु परम शैव र तपस्वरूप भगवान् शिव परम वैष्णव हुनुहुन्छ। भगवान् विष्णु तपस्वीहरूका सेवक, रक्षक हुनुहुन्छ भने भगवान् शिव यज्ञका उच्छिष्ट भोजी।

मन्यु, मनु, महिनस, महान्, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत भगवानका एकादश रुद्ररूप हुन्। सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान भगवान शिवका पाँचवटा मुख हुन्।

सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान् शंकर हुनुहुन्छ। माहेश्वरसूत्रबाट व्याकरणको उत्पत्ति भएको हो। संगीत भगवानकै डमरु नादबाट उत्पत्ति भएको हो भने नृत्यका विधायक उनै नटेश्वर भगवान् हुनुहुन्छ। आयुर्वेद, धनुर्वेद आदि समस्त ज्ञान भगवान् शिवबाटै देवता र लोकले प्राप्त गरेको विश्वास गरिन्छ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्त्व वर्णन  गरिएको छ। यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्त्व छ। सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा वास गरी कल्याण गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिन नै शिवरात्रि हो।

व्रतहरूमध्ये सर्वोत्कृष्ट मानिएको महाशिवरात्रिका दिन भक्तहरूले शुद्ध भई शिव मन्दिरमा सभक्ति पूजा-आराधना गरी व्रत बस्ने र भगवान् शिवका प्रिय वस्तुहरू दूध, धतुरो, बेलपत्र आदि चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय” मन्त्रजप गर्दा पनि कामना सिद्धि हुनुका साथै आजीवन सुखैश्वर्य र मृत्युपश्चात् शिवलोक प्राप्त हुने विश्वास गरिन्छ।

शिवरात्रिमा निर्जल तथा निराहार व्रत, रात्रि जागरण, चारै प्रहरमा पूजा, शिवलिंगमा अभिषेक र शिव महिमा गायन शिवपूजनका मुख्य कर्म मानिन्छन् ।

पूजाविधि:

शिवरात्रिमा रातका चारै प्रहरमा भगवान् शिवको पूजा गर्ने विधान छ । पत्येक प्रहरमा षोडषोपचारले पूजा गरी विशेष अर्घ्य दिनुपर्छ। प्रथम प्रहरको पूजापछि शिवलिंगलाई दूधले विशेष स्नान गराएर बेलका पात वा फलसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमो यज्ञ जगन्नाथ नमस्त्रिभुवनेश्वर ।
पूजां गृहाण मद्दत्तां महेश प्रथमे पदे ।।

द्वितीय प्रहरको पूजापछि शिवजीलाई दहीले विशेष स्नान गराएर बिमिरो वा कागतीसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमोऽव्यक्ताय सूक्ष्माय नमस्ते त्रिपुरान्तक ।
पूजां गृहाण देवेश यथाशक्त्युपपादितम् ।।

तृतीय प्रहरको पूजापछि शिवजीलाई घिउले विशेष स्नान गराएर केरासमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ बद्धोेऽहं विविधैः पाशैः संसारभवबन्धनैः ।
पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।।

चतुर्थ प्रहरको पूजापछि शिवजीलाई महले विशेष स्नान गराएर यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमः शिवाय शान्ताय सर्वपापहराय च ।
शिवरात्रौ मया दत्तं गृहाणाघ्यं नमोऽस्तु ते ।।

त्यसपछि बिहानको समयमा स्नानादि नित्यकर्म गरेर विधिवत् षोडषोपचारले पूजा गरी यस मन्त्रले विशेष अर्घ्य दिनुपर्दछ—

ॐ दुःखदारिद्र्यभावैश्च दग्धोऽहं पार्वतीपते ।
मां वै त्राहि महादेव किं न जानासि शंकर ।।
किं न जानासि देवेश तावद् भक्तिं प्रयच्छ मे ।
स्वपादाग्रतले देव दास्यं देहि जगत्पते ।।

विशेष अर्घ्यपश्चात् पूजा समापन गरी ब्राह्मणलाई दक्षिणा दिएर भोजन गराउनुपर्छ ।

One response to “महाशिवरात्रि, शिलाचह्रे”

  1. Rimal Prasad says:

    Very nice blog

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved