सूर्यको एक राशिबाट अर्को राशिमा सर्ने (संक्रमण गर्ने) प्रक्रियालाई संक्रान्ति भन्दछन्। ज्योतिषशास्त्रअनुसार धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने समयलाई मकर संक्रान्ति भन्दछन्। मकर संक्रान्तिदेखि दसौं सौरमास अर्थात् माघ महिना प्रारम्भ हुन्छ। २०७४ पौष मसान्तको साँझ १९ः३० बजे सूर्यको मकर राशिमा प्रवेश भएको छ। रात्रिमा संक्रमण भएकाले भोलिपल्ट पुण्यकाल मानिने शास्त्रीय विधान रहेकाले माघ १ गते प्रातः कालदेखि मकर स्नान, दान, श्राद्ध आदि कर्म गर्नुपर्दछ।

रवेः संक्रमणं राशौ संक्रान्तिरिति कथ्यते।
स्नान–दान–तपः–श्राद्ध–होमादिषु महाफला।।

संक्रान्तिका समयमा गरिएका स्नान, दान, तप, श्राद्ध, होम, उपवास आदि महत्त्वपूर्ण मानिन्छन्। सबै संक्रान्तिको महत्त्व धेरै हुँदाहुँदै पनि मकर संक्रान्तिमा उत्तरायण र कर्कट संक्रान्तिमा दक्षिणायन आरम्भ हुने हुँदा यी दुवै संक्रान्तिलाई विशेष महत्त्वका साथ हेरिएको छ। अयन भनेको बाटो हो। मकर संक्रान्तिदेखि सूर्यनारायणले उत्तरतर्फको बाटो अँगाल्ने हुँदा यसलाई उत्तरायण भनिएको हो। देवताहरूको दिन यही मकर संक्रान्तिबाट आरम्भ हन्छ भने सूर्यनारायणले दक्षिणतर्फको बाटो अँगाल्ने दिन अर्थात् कर्कट संक्रान्तिबाट दक्षिणायन र देवताहरूको रात्रिकाल आरम्भ हुने गर्दछ। उत्तरायण लागेपछि पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुँदै जाने, देवताहरू जागा हुने र समस्त धार्मिक कृत्यको बाटो खुल्ने गर्दछ।

प्रत्येक संक्रान्तिमा स्नानादि कृत्यको विशेष महत्त्व हुन्छ। गंगादि तीर्थहरूमा गएर मकर संक्रान्ति जस्ता पर्वमा स्नान गर्नु उत्तम मानिन्छ। स्नानको उद्देश्य केवल मैलो पखाल्नु होइन। यसको महत्त्व साक्षात् धर्मसँग जोडिएको छ। धर्म यो लोक र परलोकमा समेत सुखको साधन मानिन्छ। सुख चाहिन्छ भने धर्म गर, चाहिँदैन भने धर्म नगर भन्ने शास्त्रीय मर्म रहेको छ। विभिन्न फल प्राप्तिका लागि धर्मकर्म गर्ने निश्चित समयविधान हुन्छ। यसर्थ धर्मशास्त्रहरूले तोकिदिएका तिथि विशेष, नक्षत्र विशेष, वार विशेष र संक्रान्तिलगायत पर्वहरू धार्मिक दृष्टिले विशेष फलदायी रहेका हुन्छन्। यस्तै पर्वमध्ये मकर संक्रान्ति संक्रान्तिहरूको राजा हो। यसमा गरेका स्नान, दान, जप, तप, व्रत, उपवास, श्राद्धादिको अत्यन्त ठूलो महत्त्व रहेको छ।

सूर्यनारायण एक राशि पार गरी अर्को राशिमा प्रवेश गर्दै गर्दा वा प्रवेशकालबाट नजिकको निश्चित समयलाई विशेष पुण्यदायी मानिएको छ।

या याः सन्निहिता नाड्यास्ताः ताः पुण्यतमाः स्मृताः।

सबै संक्रान्तिको पुण्यकाल सामान्यतया १६ घडीको हुन्छ। कुनै संक्रान्तिको पुण्यकाल संक्रमणभन्दा पहिले हुन्छ भने कुनैको संक्रमणभन्दा पछि हुन्छ। मकर संक्रान्तिको पुण्यकाल संक्रमणपछि ४० घडीसम्म रहने बताइएको छ। यसर्थ मकर राशिमा सूर्य प्रवेश गरेको समयपछि ४० घडी अर्थात् १६ घण्टासम्म स्नान–दान आदि कृत्यहरू गर्नुपर्दछ। तर संक्रमणपूर्व भने गर्नु भएन। रात्रिकालमा संक्रमण भएको छ भने भोलिपल्ट पुण्यकाल हुन्छ। यस वर्ष पौष मसान्तको साँझमा ७ः३० बजे संक्रमण भएकाले भोलिपल्ट मात्र संक्रान्ति मनाइएको हो।

संक्रान्ति स्नान र विधि

मकर संक्रान्तिका दिन विभिन्न पवित्र नदी, नदीहरूको संगमस्थल, सरोवर, सागर आदि तीर्थमा गएर बिहान सबेरै संकल्प एवं तीर्थहरूको आवाहन गरी स्नान गर्नुपर्दछ। संकल्पवाक्य–

पूर्वसंकल्पसिद्धिरस्तु। अद्येह … गोत्रोत्पन्नः सपरिवारयुतोšहं मम समस्त–पाप–क्षयपूर्वकं अद्य मकरसंक्रान्तौ … तीर्थे ((गृहे)) गंगादितीर्थावाहितेन अनेन जलेन मकरस्नानादिजन्य–शास्त्रोक्तफलप्राप्त्यर्थं मकरसंक्रान्ति–सहित–नित्यस्नानञ्चाहं करिष्ये।

यो संकल्पपछि स्नान गर्ने जलमा तीर्थहरूको आवाहन गर्नुपर्दछ–

गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु काबेरी जलेšस्मिन् सन्निधिं कुरु।।
यस मन्त्रले गंगादि तीर्थहरूको आवाहन गरी स्नान गर्नुपर्दछ। बिहान आकाशमा तारा देखिँदा गरिने स्नान उत्तम हुन्छ। आकाशमा तारा अदृश्य भएपछि गरिने स्नान मध्यम हुन्छ र सूर्योदय भइसकेपछि गरिने स्नानलाई निम्नकोटिमा राखिएको छ।
उत्तमं तु सनक्षत्रं मध्यमं लुप्ततारकम्।
सवितर्युदिते भूप ततो हीनं प्रकीर्तितम्।।
यसर्थ समयमा गरिएको स्नान उत्तम फलदायी हुन्छ भने पुण्य समय बिताएर गरिएको स्नान धार्मिक दृष्टिले निष्फल हुन्छ। शारीरिक रूपले अशक्तबाहेक सबैले चिसो पानीले स्नान गर्नुपर्दछ। शास्त्रवचन अनुसार शरीरका सबै अंग दृढ हुनेहरूले तातो पानीले नुहाउँदा विशेष फल प्राप्त हुँदैन।
उष्णोदकेन वा स्नानमशक्ये सति कुर्वते।
दृढेषु सर्वगात्रेषु उष्णोदं न विशिष्यते।।

सबै नरनारी ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, भिक्षुक, बालक, युवा र नपुंसकता भएकाहरूले समेत पुण्य तीर्थहरूमा स्नान गर्दा पुण्यफलका भागीदार हुन्छन्। माता, पिता, पत्नी, पुत्र आदि परिवारजन अशक्त भएर घरमा बस्नुपरेको अवस्थामा आफू तीर्थमा पुगिएको छ भने उनीहरूको नाउँमा आफूले १० पटक स्नान गरिदिएको बराबर उनीहरूले एक पटक स्नान गरेको फल प्राप्त हुन्छ। यसर्थ उनीहरूका नाममा पनि १०–१० पटक स्नान गरिदिनु उचित हुन्छ। गंगादि तीर्थमा गएर स्नान गरिएको भए तीर्थमा कपडा धुनु हुँदैन। अन्यत्र आफू बसेका ठाउँमा वा त्यो असम्भव भए जल बाहिर ल्याएर गंगादि तीर्थमा फोहोर पानी नपर्ने गरी किनारमा धुन सकिन्छ।

आफूले स्नान गर्दा दूषित भएको पानी निकालेको सम्झिएर एक अँजुली पानी बाहिर सेलाउनुपर्छ। स्नानपछि सूर्यनारायणलाई अर्घ्य दिएर, गायत्री आदि जप सिध्याएर मात्र कपडा पखाल्नु पर्दछ। स्नानपछि वस्त्र, अन्न, पक्वान्न, कन्दमूल, फलाहार, पैसा, फलफूलहरू दान गर्नुपर्दछ। दाल, चामल, पीठो आदि ब्राह्मणलगायत दीन–दुःखी वा गरिबलाई समेत दान गर्नु फलदायी हुन्छ। प्रत्येक संक्रान्तिमा जसले स्नान गर्दैन, ऊ सात जन्मसम्म रोगी र निर्धन हुन्छ भनिएको छ।

रविसंक्रमणे प्राप्ते न स्नायाद्यस्तु मानवः।
सप्तजन्मसु रोगी स्यान्निर्धनश्चैव जायते।।

माघे संक्रान्तिमा भारतका काशी, प्रयाग र हरिद्वारका साथै विशेष गरी गंगासागरमा स्नानको विशेष महत्त्व दर्साइएको छ। भगिरथले पृथ्वीमा गंगाको अवतरण गराई आफ्ना पूर्वजको उद्धार गरेको स्थान गंगासागरमा मकर संक्रान्तिमा महास्नान गर्नेहरूको मेला लाग्दछ। नेपालमा पनि कन्काई, सप्तकोसी, चताराधाम, वराहक्षेत्र, जनकपुरका विभिन्न तलाउहरू, देवघाट धाम, त्रिशूली, वाग्मती, रिडीक्षेत्र, गण्डकी आदि नदी र तलाउका तीर्थस्थलहरूमा आस्तिक जनहरू मकर स्नानका लागि पुग्ने गर्दछन्। बाह्य एवं आन्तरिक चित्तशुद्धिका रूपमा धार्मिक स्नानलाई लिएको पाइन्छ।

स्नान, दान, जपपछि पुत्रवान् गृहस्थीबाहेकले संक्रान्तिको व्रत समेत बस्ने विधान रहेको छ। यस्तै, संक्रान्तिका दिन पितृहरूको तृप्तिका लागि श्राद्ध गर्ने र देवताहरूको तुष्टिका लागि हवन गर्ने विधान पनि रहेको छ। सुरुमा पितृहरूलाई तृप्त बनाएपछि देवपूजन र हवन गर्नुपर्दछ। सम्पूर्ण चराचर जगतको कल्याण गर्ने देवताहरूप्रति कृतज्ञता दर्साउन उत्तरायणको प्रारम्भमा देवपूजन र हवन गर्नु मानवमात्रको कर्तव्य हुन आउँछ। आज भगवान् नारायण र शिवजीका मन्दिरमा तिलको तेलमा बत्ती बाल्नाले पनि विशेष पुण्यफल प्राप्त हुने शास्त्रवचन रहेको छ।

विशेष गरेर मकर संक्रान्तिका दिन अग्निस्थापना विधिद्वारा पूर्वाङ्ग हवन गरेपछि विष्णु भगवानलाई १०८ हवन गर्नुपर्दछ। माधव–नारायण यस पर्वका विशेष देवता मानिन्छन्। (भारतको इलाहाबादस्थित प्रयागमा मकर स्नान गरेपछि अनिवार्य रूपमा पारिपट्टि गई माधवनारायणको दर्शन गर्ने परम्परा छ।) कुल–पितृसहित उत्तराङ्ग हवनादि गरेर टीका, तिलक तथा प्रसाद ग्रहण गरिन्छ। यसका साथै तिलका लड्डु, तरुल, सखरखण्ड, घिउ, चाकु, खिचडी आदि भगवानलाई अर्पण तथा दान गरी आफूले पनि खाएर यो पर्व सम्पन्न गरिन्छ।

माघ महिनामा घिउ, वस्त्र, कम्बल आदि दान गर्दा अनन्त फल प्राप्त हुने शास्त्रोक्ति रहेको छ। माघमा तिलको महत्त्व अत्यधिक भएकाले माघ कृष्णपक्षको एकादशीलाई षट्तिला एकादशीका नामले पनि चिनिन्छ। माघमा तिलले स्नान गर्दा, तिलको तेल शरीरमा लगाउँदा, तिलका परिकार भोजन गर्दा, तिलमा बलेको आगो ताप्दा र तिलले भरिएको पात्र दान गर्दा शरीरमा आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। माघे संक्रान्तिमा तिलको हवन गर्ने, तिलको लड्डु आदि परिकार खाने, घिउ, चाकु, सखरखण्ड, तरुल, वनतरुल, पिँडालु, खिचडी आदि दान गर्ने र खाने परम्पराले जाडो मौसममा शरीरलाई चिसोबाट जोगाउनुका साथै पाचन प्रणालीलाई तन्दुरुस्त राख्न मद्दत पुग्ने कुराको ज्ञात हुन्छ।

कन्दमूल, सखरखण्ड, पिँडालु, तरुल आदिले वर्षभरिको कब्जियत आदिलाई ठीक गरी स्वस्थ बन्न सहयोग गर्दछन्। तिलको लड्डु, घिउ, चाकु वा सख्खरको परिकार खानाले यस मौसममा आइपर्ने रुघाखोकी, ठन्डी, आदिलाई निखारेर स्वस्थ बनाउन मद्दत गर्छन्। कालो दाल, चामल, अदुवा, ताजा मटरको दाना, घिउ, बेसार, धनियाँ आदि राखेर पकाइएको खिचडीले कफ, वात र पित्तजन्य १४० प्रकारका रोगहरूलाई शमन गरी सम्पूर्ण जनसमुदायलाई आरोग्य एवं स्फूर्त राख्ने हुँदा यी सबै पदार्थलाई बहुउपयोगी मानिएको छ।

मुलुकमा मकर संक्रान्तिकै दिन थारूहरूले माघी पर्व मनाउँछन्। तराई, भित्रीमधेस र उपत्यकाको चिसो मौसमलाई माघी पर्वको रमझम, नाचगान र खानपानले तताएको छ।

सनातन आस्तिक जनहरूले विभिन्न स्थानमा आ–आफ्नो परम्पराअनुसार मकर संक्रान्ति मनाउँछन्। योगीहरूको योग दिवस पनि आजै रहेको छ। योग साधनाद्वारा चित्तवृत्ति शोधन गरी ईश्वर प्राप्तिको दिशामा अग्रसर गराउने योगदिवसका रूपमा पनि माघे संक्रान्तिलाई लिन थालिएको छ। धर्मशास्त्रमा माघे संक्रान्तिमा गरिने स्नान, दान, जप, श्राद्ध, होम, खानपान आदि सबै कर्मको धार्मिक महत्त्व बताइएको छ। यस दिन गरिने कृत्य र खाद्य वस्तुको उत्तिकै महत्त्व आयुर्वेदमा पाइन्छ। यसर्थ उपसंहारका रूपमा गाईको घिउको महत्त्व प्रस्तुत गरौं–
सर्पिर्गवां चामृतकं विषघ्नं
चक्षुस्यमारोग्यकरं च वृष्यम्।
रसायनं मन्दमतीव मेध्यं
स्नेहोत्तमं चेति बुधाः स्तुवन्ति।।

3 responses to “मकर/ माघे संक्रान्ति”

  1. To the good the world appears good

  2. Nirmal Yadav says:

    good blog! Keep it up

  3. Laxmi Rimal says:

    Nice!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved