वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा समापन तथा भोटो देखाउने जात्रा। लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि अविच्छिन्न यो जात्रा चलेको विश्वास गरिन्छ। काठमाडौं उपत्यकामा मनाइने नेपालको सबैभन्दा लामो जात्राका रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्ने अवसरमा भोटो जात्रा मनाइन्छ।

ऐतिहासिक किंवदन्तीअनुसार कुनै समय टौदहका नागराज कर्कोटकले आफ्नी नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई अनेक बहुमूल्य रत्न जडित भोटो उपहार दिएका थिए। एक दिन उक्त भोटो लगाएर खेत खन्न निस्किएका वैद्यले खेतको आलीमा भोटो राखे र काम गर्न थाले। साँझ घर फर्किने बेलामा भोटो भेटिएन, दु:खी हुँदै घर फर्किए। त्यही बेला सहरमा मच्छिन्द्रनाथको जात्रा चलिरहेको थियो। भोटो भेटिने आसले उनी मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा पुगे। एउटा राक्षसजस्तै देखिने भूतले उक्त भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो मागे। भूतले दिन अस्वीकार गर्यो। दुवैका बीच वादविवाद र भोटो खोसाखोस हुन थाल्यो।

भीडमा होहल्ला भएपछि दुवैलाई राजासमक्ष पुर्याइयो। राजाले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले साक्षी वा प्रमाण लिएर नआउन्जेल भोटो मछिन्द्रनाथको जिम्मामा रहने निर्णय सुनाए। त्यसपछि दशी प्रमाणसहित आउनेलाई दिने निर्णय सुनाउँदै राजाले तीनपटक भोटो सबैलाई देखाए। त्यस बेलादेखि भोटो खोसाखोस भएको स्थान ललितपुरको जावलाखेलमा प्रत्येक वर्ष भोटो देखाउन थालिएको हो।

प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदामा मच्छिन्द्रनाथलाई रथारोहण गराई अक्षय तृतीयाका दिन गौदानपूर्वक शान्ति–स्वस्ति गरिन्छ र त्यसको भोलिपल्ट अर्थात् चतुर्थी तिथिदेखि ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मच्छिन्द्रनाथको रथयात्रा गरिन्छ। पुलचोकबाट आरम्भ भएको रथयात्रा नगरका विभिन्न ठाउँहरू गावहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने चलन छ।

नगरवासीलाई आफ्ना इष्टदेव श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन गराउन र आशीर्वाद प्राप्त गर्न रथयात्रा गरिएको हो। मच्छिन्द्रनाथका साथमा मणिमाणिक आदि बहुमूल्य रत्नहरू जडिएको भोटो दर्शन गर्नाले मनोवाञ्छित फल प्राप्त हुनुका साथै चिन्ता हट्ने र शान्ति मिल्ने जनविश्वास रहेको छ। ज्योतिषीले दिएको साइतमा मच्छिन्द्रनाथको रथ तानेर थटीटोलबाट जावलाखेल पुर्याएको चौथो दिन रथको बुर्जाबाट भोटो देखाइने हुँदा यस जात्राको निर्धारित तिथि भने छैन।

भोटोजात्रा सकिएपछि विधिवत् मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई रथबाट ओरालेर प्राचीन कलात्मक खाटमा राखी सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।

One response to “भोटो देखाउने जात्रा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved