माघ शुक्लपक्षको एकादशी तिथिलाई जया एकादशी वा भीमा एकादशी भन्दछन्। व्रतराज नामको ग्रन्थमा यस एकादशीलाई जया एकादशी भनिएको छ।

श्रीकृष्ण उवाच
कथयिष्यामि राजेन्द्र शुक्ले माघस्य या भवेत्।
जया नाम्नीति विख्याता सर्वपापहरा परा।।

श्रीकृष्ण र युधिष्ठिरको संवादका क्रममा भविष्योत्तर पुराणमा माघ शुक्ल एकादशीलाई जया एकादशी भनिएको छ। पुष्पवती र माल्यवानको कथा प्रसंग उल्लेख गर्दै सम्पूर्ण पाप–ताप नाश गरी मोक्ष प्रदान गर्ने एकादशीका रूपमा जया एकादशीलाई लिइएको छ।

एक दिन देवराज इन्द्र विभिन्न अप्सराहरूका साथमा स्वर्गको नन्दन वनमा नाचगानको आनन्द लिइरहेका थिए। नृत्य प्रस्तुत गर्न ५० करोड अप्सरा भेला भएका थिए भने त्यस्तै संख्यामा भेला भएका गन्धर्वहरूले आफ्नो गायकी कलाद्वारा आह्लाद प्रदान गरिरहेका थिए। रमाइलो प्रस्तुतिकै अवसरमा माल्यवान् गन्धर्व र पुष्पवती अप्सरा नजिकिन पुगेछन् र एक–आपसमा मोहित भएछन्। एक–अर्काको रूप–लावण्यमा आकर्षित भएका उनीहरूले आपसमा हेराहेर गर्दैमा आफ्नो प्रस्तुतिलाई ध्यान दिन सकेनन्। उनीहरूको चालढाल र पट्यारलाग्दो प्रस्तुतिबाट देवराज कुपित मात्र भएनन्, तत्कालै ‘मर्त्यलोकमा गएर पिशाच दम्पती भइजाओ’ भनी श्राप नै दिए।

युवां पिशाचौ भवत दम्पतिरूपधारिणौ।
मृत्युलोकमनुप्राप्तौ भुञ्जानौ कर्मणः फलम्।।

इन्द्रको श्रापले उनीहरू तत्कालै पिशाच योनि प्राप्त गरी मत्र्यलोकमा झरे र दम्पतीका रूपमा कष्टपूर्ण जीवन यापन गर्न थाले। यस्तैमा माघ महिना आयो। जाडो मौसममा पानी परेपछि उनीहरूको जीवन थप कष्टपूर्ण बन्यो। पानीले निथ्रुक्क उनीहरूले न खान पाए न सुत्नै पाए। वर्षाजलले स्नान गरी बिना भोजन, बिना निद्रा अहोरात्र कष्टले बिताएको त्यो दिन संयोगवश माघ शुक्ल पक्षको एकादशी अर्थात् जया एकादशी तिथि रहेको थियो। अनजानमै उनीहरूले स्नान, निराहार उपवास र रातभरि जाग्राम जस्ता एकादशी व्रतका विधिहरू पालना गर्न पुगे। यसरी अनजानमै सम्पन्न जया एकादशी व्रतका प्रभावले उनीहरू पहिलेजस्तै माल्यवान् गन्धर्व र पुष्पवती अप्सरा भएर मर्त्यलोकमा देखिए।

यसरी श्रापमोचन भएपछि उनीहरूलाई लिन विमान आइपुग्यो र त्यसमा सवार भई पुनः स्वर्गलोकमै पुगे। त्यहाँ भेटिएका देवराज इन्द्रले उनीहरूको मुखबाट सम्पूर्ण वृत्तान्त सुनेपछि जया एकादशी तिथिको महिमा थाहा पाए। त्यसपछि देवराजले जया एकादशी तिथिको महत्त्व दर्साउँदै हरिभक्त, शिवभक्त र स्वर्गका सबै देवताहरूलाई एकादशीको व्रत लिन सिफारिस गरे र ती दुईलाई पनि स्वर्गमा स्वागत र यथोचित सत्कार पनि गरे।

हरिभक्तिरता ये च ये वा शिवभक्तिरतास्तथा।
अस्माकमपित ते मर्त्याः पूज्या वन्द्या न संशयः।।

एकादशी व्रतको प्रभावले सामान्यभन्दा सामान्य मानिसहरू पनि यस लोकमा सुख–सम्पत्ति भोग गरी परलोक भएपछि मोक्ष प्राप्त गर्दछन् भनिएकाले सबै एकादशीमा व्रत लिन आग्रह गरिएको छ। अत्यन्त पुण्यदायक भएकाले जया अर्थात् भीमा एकादशीको व्रत लिनलाई आग्रह गरिएको हो।

यः करोति नरो भक्त्या श्रद्धायुक्तो जयाव्रतम्।
कल्पकोटिशतं यावत् वैकुण्ठे मोदते ध्रुवम्।।

चौबीस तत्त्वमा एकादश इन्द्रियहरू पनि पर्छन्। वास्तवमा एकादश इन्द्रियहरूलाई आफ्नो वशमा राख्न सकियोस् भनेर नै एकादशीको व्रत लिइन्छ। जया एकादशी व्रतका प्रसंगमा चक्षु इन्द्रियको दोषका प्रभावले माल्यवान् र पुष्पवतीले नरकको दुःखभन्दा पनि कडा पिशाचयोनिको दुःख भोग गर्नुपर्यो। यसर्थ आँखालगायत इन्द्रियलाई वशमा राख्न सकिएन भने हामीले पनि पिशाच योनिमा जानुपर्ने हुँदा आफ्ना इन्द्रियहरूलाई सदैव वशमा राख्ने चेष्टा गर्नुपर्दछ।

माघ महिनाको शुक्ल एकादशी तिथि अत्यन्त पवित्र भएकाले यसको व्रत लिँदा वैकुण्ठलोकसम्म प्राप्ति हुने फलश्रुति पाइन्छ। सबै एकादशी व्रत नित्य हुने हुँदा वर्षभरिका २४ वटै एकादशीका व्रतहरू परं कल्याणदायी मानिन्छन्। २४ वटै एकादशीको व्रत लिनाले सांख्ययोगमा बताइएका २४ तत्त्वलाई वशमा राखी परं गति मोक्ष तथा वैकुण्ठलोक प्राप्त गर्न सकिन्छ भन्ने नै यस जया एकादशीको मूल कथन रहेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved