No Image

बाला चतुर्दशी

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 20, 2017

परिचय

मार्गशीर्ष महिनाको कृष्णपक्षको चतुर्दशीलाई बाला चतुर्दशी भनिन्छ। बाला चतुर्दशीको अधिल्लो दिन शिव मन्दिरमा जाग्राम बसेर पितृका नाममा बत्ती बालेर भजनकीर्तन गर्दै रात बिताइन्छ भने चतुर्दशीका दिन त्यहीं नजिकका नदी, तलाउ आदि शुद्ध ठाउँमा स्नान गरेर नित्यकर्म सकेपछि वाग्मती, गंगा, कोसी, गण्डकी आदि नदीहरूको पूजन तथा आरती गरिन्छ। त्यसपछि शिवजीको मन्दिर हुँदै श्लेष्मान्तक आदि देववनमा सत्-बीउ, शतबीज, सदगुणले प्रख्यात भएको १०० वटा अन्नहरूको मिश्रण भएको अन्न पितृहरूका नाममा छरिन्छ। त्यसपछि ब्राह्मणहरूलाई दान–दक्षिणा दिई भोजन गराउने शास्त्रीय विधान छ।

यसै वर्ष मातापिता स्वर्गे भएकाहरूले रात्रिमा दियो बालेर जाग्राम बसी भोलिपल्ट स्नानादि नित्यकर्म सकी शतबीज छर्ने र दानदक्षिणा तथा ब्राह्मण भोजन गराई घर फर्कने चलन रहेको छ।

नेपाल, मृगस्थली र बालाचतुर्दशी

विश्वको अग्लो स्थान सगरमाथा भएको देश नेपाल। देवताहरूको क्रीडास्थल पनि नेपाल नै हो। नेपालको उत्तराखण्डमा आएर अनेकौं ऋषि–महर्षिहरूले तपस्या गरेर आफ्नो जीवन त धन्य बनाए नै, यसका साथै विश्वभरिका मानिसहरूलाई ज्ञानको आलोक पनि यहीँबाट प्रकाशित गरे, ज्ञानको मार्ग प्रदर्शन गरे। यसर्थ शास्त्रहरूमा नेपाललाई स्वर्गको चढाइ वा अवतरण गर्ने पवित्र भूमिका रूपमा वर्णन गरेको पाइन्छ। देवताहरू हिँडडुल गर्ने, रमाउने, बास गर्ने, अनेक प्रकारका क्रीडाहरू गर्ने यस तपोभूमिमा अनेक ऋषिमहर्षिहरूले ज्ञानको आलोक प्राप्त गरेको इतिहास छ। शिव, ब्रह्मा, विष्णु, इन्द्रादि देवताहरू यही पवित्र भूमिमा घुमिरहन्थे र क्रीडा गरिरहन्थे। विभिन्न देवताहरूको क्रीडाभूमि भएकाले तपस्वीहरूले आफ्ना इष्टदेवको साक्षात्कार गरी इच्छाअनुसार वरदान प्राप्त गर्न सजिलो स्थानका रूपमा नेपाली भूमि प्रसिद्ध थियो। नेपालको उत्तराखण्डलाई तपोभूमि मानिएकाले ऋषिहरू पनि यहीँ तपस्या गर्दथे। यसप्रकार पनि देवताहरूको र ऋषिहरूको यहाँ जमघट हुन्थ्यो र इच्छामुताविक वार्तालाप, लोकहितका कुरा र वरदान आदानप्रदान हुने गर्दथ्यो। यो त्यतिखेर स्थूल रूपमा हुन्थ्यो भने अहिले पनि सूक्ष्म रूपमा चलिरहेको मानिन्छ। तर हाम्रो दृष्टि सूक्ष्म नभएकाले यो देख्ने क्षमता हामीमा छैन भन्न सकिन्छ।

पृथिवीको उत्तराखण्ड भनेको विश्वकै तपोभूमिका रूपमा प्रसिद्ध पुण्यक्षेत्र हो। गौतमबद्धले यहीँ जम्म लिई जीवनमा प्राप्त आलोक विश्वभर फैलाउनुभयो। यो धाराको बहाव अहिले पनि अनवरत रूपमा चलिरहेको छ। यसै उत्तराखण्डमा श्लेष्मान्तक वन र यसभित्र मृगस्थली पर्दछ। विभिन्न कथा पुराणले वन तथा उपवनहरूको महत्त्व दर्साउने क्रममा श्लेष्मान्तक वनको विशेष महिमा बताएका छन्।

सन्ति तीर्थान्यनेकानि श्लेष्मान्तकवने शुभे।
देवताः सफलास्तत्र स्थिताः भक्तवरप्रदाः।।

श्लेष्मान्तक वनमा अनेक तीर्थहरू, साधकहरू, देवताहरू आएर बसेका छन्। ती देवदेवीहरूले, साधकहरूले मानवादि प्राणीहरूलाई आवश्यकतानुसार वर प्रदान गरेर धन्य बनाउने गर्दछन्। देवताहरू पनि सत्कार्यद्वारा आफूलाई धन्य सम्झनुहुन्छ भनिएकाले श्लेष्मान्तक वनलाई अत्यन्त पुण्यदायक मानिन्छ। यो श्लेष्मान्तक वनअन्तर्गतको मृगस्थली नेपालको मुटुमा पर्दछ। मृगस्थलीको महिमा पनि अपार छ। देवताको क्रीडास्थल भएर नै भगवान् शंकर बालरूपमा यस मृगस्थलीमा आएर क्रीडा गर्नुहुन्थ्यो। यसरी बालरूपमा क्रीडा गरेको कुरा सर्वप्रथम थाहा पाएको दिन मंसिर महिनाको कृष्णपक्षको चतुर्दशी भएकाले यस दिनको नाम बाला चतुर्दशी रहन गएको हो। बालरूप शिवजीलाई दर्शन गर्न अनेक देवताहरू मृगस्थलीमा पुग्नुभयो र भगवान् शिवजी आफ्नो स्वरूपमा प्रकट हुनुभयो। साधक भक्तले दर्शन पाएका कारणले यो भूमि अत्यन्त पवित्र मानियो भने यो दिन यो चतुर्दशी परेकाले शिवपूजाका लागि अत्यन्त महत्त्वपूर्ण मानियो।

बाला चतुर्दशी

चतुर्दशी तिथि शिवको प्रिय तिथि हो। शिवरात्रि व्रत पनि चतुर्दशी तिथिमै पर्दछ। प्रत्येक महिनाका कृष्ण पक्षका चतुर्दशी तिथिहरू मास शिवरात्रि व्रतका रूपमा चिनिन्छन्। यी चतुर्दशीमध्ये मार्गशीर्ष कृष्ण चतुर्दर्शी बाला चतुर्दशीका नामले चिनिन्छ। मास शिवरात्रिका साथै यो चतुर्दशीको विशेष महत्त्व रहेको छ। त्रयोदशीको रात्रिमा शिवमन्दिरमा वा देवालयहरूमा दियो बालेर पितृहरूको उद्धारका लागि जाग्राम बसिन्छ। मातापिताको मृत्युको प्रथम वर्षमा सेतो कपडामा पनि पितृको नाममा दियो बालेर जाग्राम बसिन्छ। मृतात्मालाई धूममार्ग अर्थात् अँध्यारो मार्गबाट उज्यालो मार्गतर्फ गमन होस् भन्नाका निमित्त दियो बालेर जाग्राम बसिएको हो। दीपक अँध्यारोमा सहायक हुन्छ। दीपक यो लोक र परलोकका लागि पनि सहयोगी हुन्छ। यसर्थ कृष्णपक्षको अँध्यारो रात्रिमा बत्ती साथी तथा सहयोगी समेत हुने भएकाले सहजताका लागि बत्ती बालेर भजन कीर्तनका साथ जाग्राम बस्ने गरिएको हो।

त्रयोदशीमा बत्ती बालेर भजनकीर्तनका साथ रात बिताएपछि चतुर्दशीमा विशेष कर्तव्य पूरा गरिन्छ। चतुर्दशीका दिन बिहान नित्यकर्म स्नान आदि सकेर मातापिताको आशौच ’boutको वर्ष भए शिवजीको बाहिरैबाट मानसिक दर्शन गरेर नजिकको श्लेष्मान्तक वन, बराहक्षेत्र धाम, जनकपुर धाम, हृषीकेश धाम गुल्मी आदिका आसपासका देववनहरूमा शतबीज छर्ने कार्य गरिन्छ। पितृहरूका नाममा शतबीज छर्नाले वहाँहरू जुन रूपमा पुग्नुभएको छ, त्यही रूपमा अन्नजल आदि प्राप्त गर्नुहुन्छ भनेर शतबीज छर्ने चलन छ। १०० वटा जातका खाद्य पदार्थका आमिषरहित बीजहरू शतबीजमा पर्दछन्। त्यसमा पनि धान, मकै, जौ, गहुँ, मास, मुंग, कागुनो, सामा आदिलाई मुख्य बीज मानिएको छ। ‘औषध्यः फलपाकान्ताः’ भनिएकाले एक वर्षभित्र फलिसक्ने वस्तुहरू नै शतबीजमा पर्दछन्।

मृगस्थली किरातेश्वर महादेवको मन्दिर र यता विश्वरूपको मन्दिरले पनि सुशोभित साधनास्थल हो। यस्तो पवित्रस्थलमा छरिएका शतबीजले सबै प्रकारका कामना पूर्ति गर्नुका साथै पितृहरूको पनि उद्धार गर्ने हुनाले शिवत्व प्राप्तिको कामनासाथ यस दिन शतबीज छर्ने गरिन्छ। शिवको यस क्षेत्रको परिभ्रमण नै हाम्रो शिवसायुज्यको कामना बन्यो भने र त्यसबाट प्रेरित भएर मृगस्थलीको भ्रमणको इच्छा भयो भने यसै दिन यस पवित्र क्षेत्रमा छरेको धान्यादि शतबीज नै हाम्रो यो लोक र परलोकको कामना पूर्तिको कारण बन्ने हुनाले यस दिन शतबीज छर्नुपर्दछ भनिएको हो।

मृगस्थलीं परिभ्राम्य पुनर्जन्म न विद्यते।
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत्।।

उपसंहार

जीवनको उद्देश्य शिव बन्ने हो। तर शिव वन्नका लागि मानिसले अनेकौं शुभपुण्य दिनहरूमा सत्कर्म गरेर आफूलाई पवित्र बनाउनुपर्दछ। पवित्र व्यक्तिबाट बुद्धि बढ्ने कार्यहरू हुन्छन्। त्यो बुद्धिलाई सदुपयोग गर्न जानियो भने यो लोक र परलोकको गति सुध्रन्छ। गति सुधार्न बाला चतुर्दशीजस्ता पर्वले प्रत्येक वर्ष उत्प्रेरित गरिरहेका हुन्छन्। यस वर्ष मंसिर १ गते परेको बाला चतुर्दशीले पनि हामीलाई यस्तो प्रेरणा दिएको छ– ‘आफ्नो भलाइ, पितृहरूको भलाइ र आफ्ना सन्ततिहरूको कल्याणका लागि सत्कर्म गर अर्थात् सय प्रकारका सत् बीउहरू छर जसका कारणले तिमीमा पापमति नआओस् र प्रगति, उन्नतिको पथमा लम्किन सक।’
यति मात्र नभएर आफ्ना पितृहरूको उद्धारका लागि अन्धकार रातमा प्रकाशरूप बत्ती बाली आन्तरिक अन्धकार हटाएर नकारात्मक सोच, घृणा, ईर्ष्या आदिबाट मुक्त भयौं भने तीन पुस्ता अर्थात् पिता, पुत्र र नातिको सर्वतोभावेन कल्याण हुन्छ। र, बालाचतुर्दशीमा छरेको शतबीउले दिने प्रेरणा नै यही हो भन्न सकिन्छ। सकारात्मक पक्षतिर बढ्नु नै दियो बाल्नु हो भने मनलाई मृगस्थली बनाएर घुम्नु भ्रमण हो। यसका साथै १०० वटा सतबीजहरूको समूहलाई पवित्र क्षेत्रमा छर्नु भनेकै १०० वटा सत्कर्मले आफूलाई पवित्र पार्नु हो। त्यसैले शास्त्रमा भनिएको छ– पापादि नकारात्मक कर्मबाट प्रज्ञाको नाश हुन्छ, प्रज्ञानाश भएको व्यक्तिलाई शुभकर्मतिर मन जाँदैन र अशुभमात्र गरिरहन्छ। अतः शुभकर्म अथवा सत्कर्म गर भन्ने नै बालाचतुर्दशीको सन्देश हो।

पापं प्रज्ञां नाशयति क्रियमाणं पुनः पुनः।
नष्टप्रज्ञः पापमेव पुनरारभते नरः।।


Related Posts
Comments
    सुबास राई

    धेरै राम्रो….जीवन को मार्ग दर्शक पाठ हो, यी माथी भनिएका हरफ हरु को अध्यन गरे अवश्य पुन्य कमाउन सकिन्छ….मेरो धारणा येहि छ….मैले जे लेखे … म त्येस्तै छु….


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!