No Image

राष्ट्रिय पर्व बडादसैं

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 9, 2018

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नैे परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत्साह, उमंग एवं रौनक निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरी अभीष्ट सिद्धि तथा शक्ति आर्जन गर्ने समय हो भने गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जनको पर्व हो।

बडादसैं – हर्षको आगमन

घटस्थापनादेखि नेपालीका घरघरमा दसैं भित्रिन्छ। हर्ष, उमंग र एकताको चाड दसैंले सबैलाई घरमा निम्त्याएको हुन्छ। बालबच्चादेखि वयोवृद्धसम्म सबैलाई दसैंले हर्षित तुल्याएको हुन्छ। पढ्नलाई सहर गएका छोराछोरी, धन कमाउन परदेश गएका छोरा र बिदेसिएका लाहुरेहरू ताँती नै लागेर घर फर्कन्छन्। जागिरेहरूलाई छुट्टी हुनासाथ घरै जाने हतार हुन्छ। घरमै हुनेहरू दसैंका लागि सबैथोक जोरजाम गर्न कसिन्छन्। घटस्थापनादेखि नै घरका अगुवा र कुलवृद्धहरू पूजापाठमा व्यस्त हुन्छन्। युवायुवती घर सजाउन र बाटोघाटो निर्माणमा जुटेका हुन्छन्।

हरेक दसैंमा घरको सरसफाइ र विशेष साजसज्जा गरिन्छ। गाउँघरका बाटाहरू मर्मत हुन्छन्। पुल-पुलेसा निर्माण हुन्छन्। विभिन्न योजना बन्छन् र गाउँको विकासमा सामूहिक प्रयत्न हुन्छ। ठाउँ-ठाउँमा पिङ र रोटेपिङ हालिएका हुन्छन्। विभिन्न खेलकुदका प्रतियोगिताले गाउँघर तथा सहर-बजारलाई तताएको हुन्छ। लामो समयदेखि दसैंका लागि अन्नपात र खसी-कुखुराको जोहो गर्ने चलन छ। परिवारजनका विभिन्न आवश्यकता पूरा गर्ने समय दसैं नै हो। सबैलाई नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक विभिन्न सामान जोड्ने समय पनि दसैं नै हो। दसैंकै मौकामा नयाँ भाँडाबर्तन, सिरक-डसना र बिजुली पुगेका ठाउँमा टिभी, कम्प्युटर जस्ता विद्युतीय सामान जोड्ने चलन बढेको छ। हुनेखानेहरू भोग-विलासमा रमाउँछन् भने हुँदा खानेले सामान्य आवश्यकता पूरा गर्छन्।

भेटघाट तथा एकताको पर्व

दसैंमा परदेश गएका छोराहरू सरसामानको गतिलै भारी लिएर फर्कन्छन्। जे-जस्तो दु:खले कमाए पनि घरमा ल्याएर सक्दो खुसी बाँड्छन्। घरमा हुनेहरूले परदेशीको बाटो कुर्छन्। लामो समयदेखि परदेशीकै लागि खानेकुरा साँचेर राख्छन्। बुढेसकालका बा-आमालाई छोरो फर्कंदा कति हर्ष हुँदो हो। हिजोसम्म सुनेको बाबालाई भेट्टाउँदा लालाबाला कति रमाउँदा हुन्। बिछोडिएको श्रीमानसँग पुनर्मिलन हुँदा पत्नीलाई कति आनन्द हुँदो हो। अनि स्वयं परदेशीले आफ्नै घरमा परिवारजनबीच आफूलाई पाउँदा कति आनन्द लाग्दो हो। र, छुट्टिएका साथीभाइ लामो समयपछि भेट हुँदा गाउँ कति रमाइलो हुँदो हो। दसैंमा चेलीबेटी, आफन्तजन र बन्धुबान्धवको समेत भेटघाट हुन्छ। यसर्थ यो भेटघाटको समेत पर्व हो। लामो समयदेखि माइत जान नपाएका चेलीहरू हुन् वा मामाघर जान पाइने आशामा औंला गन्दै आएका भान्जाभान्जीहरू, दसैंले उनीहरूको इच्छा पुर्याइदिन्छ। र, सबै आफन्तजनलाई भेट्ने र साना नानीहरूलाई आफन्तजनसँग चिनजान गराउने अवसर दसैंले नै जुराइदिन्छ।

दसैंमा सहर-बजारभन्दा गाउँघर रमाइलो हुन्छ। लामो सार्वजनिक बिदा हुने हुँदा सहरका अस्थायी बासिन्दाहरू दसैंमा गाउँघरतिरै फर्कन्छन्। आफ्नो गाउँघरले सबैलाई निम्त्याएको हुन्छ। त्यसैले पनि होला, दसैंमा सहर सुनसान लाग्छ। दशमी नजिकिँदै जाँदा रित्तिँदै जान्छ सहर। केही दिनलाई भए पनि सहरवासीले कोलाहलमुक्त आनन्दको सास फेर्छन्। अरू बेलाको सुनसान गाउँघर यति बेला आनन्दको केन्द्र बन्दछ।

घरघरमा महोत्सव, जनजनमा महोत्सव। नेपालीहरूको सान र मौलिक पहिचान। जहाँ छन् नेपाली, त्यहाँ हुन्छ बडादसैं । त्यसैले त विदेशमा बस्ने नेपालीहरूले विदेशमै भए पनि दसैंलाई स्वागत गर्छन्। सम्भव भएसम्म साथीभाइ र आफन्त भेला भएर दसैं उत्सव मनाउँछन्। र, विदेशीलाई समेत दसैंको स्वाद चखाउँछन्। जो जहाँ भए पनि सबै नेपालीलाई सांस्कृतिक एकताको मालामा उन्न सफल छ बडादसैं ।

आशीर्वाद र सम्मानको पर्व

बडादसैंको अर्को पाटो आशीर्वाद संस्कृति हो। मान्यजन र कुलवृद्धले आफूभन्दा सानालाई भगवतीको प्रसादस्वरूप टीका र जमरा लगाइदिन्छन् र आफूले जानेको आशीर्वाद पनि दिन्छन्। आशीर्वाद दिने व्यक्ति शक्तिसम्पन्न हुनुपर्छ। शक्ति पाउनलाई शक्तिस्वरूपा भगवतीको पूजा-आराधना गर्नुपर्छ। दसैंमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गा भवानीको पूजाआजा गरिन्छ। शक्तिपीठ र घरमा समेत भगवतीलाई प्रतिष्ठा गरेर नौरथाभरि भगवतीका गुणानुवादले युक्त दुर्गा सप्तशती पाठ, जप, अनुष्ठान र नाचगान समेत गर्ने विधान छ। यसरी अनुष्ठान गर्ने व्यक्तिले पवित्र भएर व्रत लिनुपर्दछ। र, भगवतीको पूजा, आराधना गर्नाले व्यक्ति शक्तिसम्पन्न हुन्छ। भगवतीबाट शक्ति प्राप्त गरिसकेपछि वर्षभरि अनीष्ट हुँदैन र व्यक्ति तथा उसको परिवार सुखी हुन्छ। यही धार्मिक विश्वासलाई आशीर्वाद संस्कृतिले समेत पक्षपोषण गरेको छ।

आशीर्वाद अनुष्ठानद्वारा प्राप्त शक्तिको बाँडफाँड पनि हो। दसैंमा दिइने आशीर्वादमा वैदिकदेखि पौराणिक, तान्त्रिक र लौकिक सम्मका मन्त्र, पद्य, सूक्ति र नैतिक आदर्शका वाक्यसमेत प्रयोग हुन्छन्। आशीर्वादमा प्रयोग हुने वैदिक मन्त्रले सार्वत्रिक तथा सर्वकालीन शान्ति, लोककल्याण र समाजका आदर्शलाई समेत पक्षपोषण गरेको हुन्छ। पौराणिक, तान्त्रिक वा लौकिक आशीर्वचनमा व्यक्तिलाई विभिन्न आदर्श पुरुषका गुणहरू प्राप्त भई सुखी र दीर्घायु हुने कामना गरिन्छ। लोकव्यवहारमा समेत बडादसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने चलन छ। मान्यजनप्रति गरिने श्रद्धालाई पनि दसैंले जीवन्त तुल्याएको छ। मान्यजनले दिएको आशीर्वाद थापिसकेपछि श्रद्धाले शिर निहुराई उनीहरूलाई ढोगभेट गर्ने गरिन्छ। यसो गर्नाले मान्यजन समेत प्रसन्न हुन्छन्। र, सबैमा आत्मीय भाव बढेर जान्छ। वास्तवमा यो नै नेपालीहरूको मौलिक संस्कार हो। बडादसैंले यही संस्कारलाई पुरानो पुस्ताबाट नयाँ पिँढीमा हस्तान्तरण गर्दै जीवन्त तुल्याएको छ।


Related Posts
विजयादशमीका दिन गरिने विशेष विधिहरू
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
सेप्टेम्बर 30, 2017
बडादसैंका प्रमुख कृत्यहरू
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
अक्टोबर 10, 2018
घटस्थापना
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
महाअष्टमी
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
महानवमी
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
विजया दशमी
By Nepali Patro in चाडपर्व .
मार्च 1, 2017
Comments
    Nagendra Gupta

    Vijaya dasmi ausar par sabe Nepali daju bhaiharu ko Hardik shubh kamane bekt garchu sathiharulai dhanyavad


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!