श्रावण शुक्ल एकादशीको नाम ‘पुत्रदा एकादशी’ हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ–

द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। उनको राज्य–व्यवस्था अति राम्रो भए पनि उनी पुत्रहीन हुनाले अत्यन्त दु:खी थिए। यही कारण उनलाई राज्य सुखदायक लाग्दैन थ्यो। उनी भन्ने गर्थे– अपुत्रस्य सुखं नास्ति इह लोके परत्र च। अर्थात् जसको सन्तान छैन, त्यसका लागि यो लोक परलोक दुवै पीडादायी हुन्छन् । त्यसैले उनले पुत्र प्राप्तिका लागि अनेक उपाय गरे, तापनि पुत्र प्राप्ति हुनै सकेन।

यस्तैमा आफ्नो उमेर ढल्किन लागेको देखेर राजाले आफ्ना प्रजाका प्रतिनिधिहरूको सभा बोलाएर भन्न लागे– हे प्रजाजन, मैले यस जन्ममा कुनै पापकर्म गरेको छैन। त्यसैले मेरो भण्डारमा अन्यायपूर्वक कमाएको धन छैन। मैले देवता र ब्राह्मणहरूको धन कहिल्यै खोसेको छैन। कसैको धन असुल गरेको छैन। समस्त प्रजाजनलाई पुत्रजस्तै पालें । जघन्य अपराधीलाई पनि पुत्र तथा बान्धव ठानेर दण्ड दिएँ। कहिल्यै कसैलाई घृणा गरेको छैन। सबैलाई समान व्यवहार गरें। सज्जनहरूलाई सधैं पूजा गरें। यसरी धर्मको पूर्ण पालना गरेर राज्य गर्दा पनि मेरा पु‍त्र छैनन् । त्यसैले म अत्यन्त दु:खी छु। यसको कारण के हुन सक्ला ? कृपापूर्वक बताइदिनुभए आभारी हुने थिएँ।

आफ्ना राजाको यो वेदना हरण गर्नका निमित्त मन्त्री र केही विशिष्ट जनहरू वनमा गए । त्यहाँ विशेष तपस्वी ऋषिमुनिहरूको दर्शन गरी परामर्श लिने विचार गरे। राजाको उत्तम कामनाको पूर्तिका लागि एक श्रेष्ठ तपस्वी मुनिको खोजी गर्दा उनीहरूले एक आश्रममा अति वयोवृद्ध धर्मका ज्ञाता, परमात्मामा मन लगाएर निराहार तपस्या गरिरहेका जितेन्द्रिय, जितात्मा, जितक्रोध, धर्मविद् एवं समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे। त्यस बेला लोमश ऋषिको कल्प व्यतीत भएर एउटा केश झरेको थियो।

त्यस्ता ऋषिलाई उनीहरूले प्रणाम गरे। ऋषिले पनि तपाईंहरू के कामले आउनुभएको होला ? तपाईंहरूको भलाइ गर्न पाउँदा मेरो जन्म सार्थक हुनेछ भनी प्रश्न गर्नुभयो। लोमश ऋषिका वचनले आश्वस्त प्रजाजनले राजाको वृत्तान्त सुनाए र राजाको समस्या समाधान गर्ने उपाय सुझाउन आग्रह गरे।

हामी उनै राजाका प्रजा हौं। अत: उनको पीडाले हामी पनि दु:खी छौं। तर, हजुरको दर्शनले हामीलाई यो संकटबाट मुक्ति मिल्ने विश्वास जागेको छ। किनकि महापुरुषको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन्। अब हजुरले कृपापूर्वक राजाको पुत्र हुने उपाय बताउनुहोस्।

प्रजाजनको यस्तो प्रार्थना सुनेर ऋषिले आँखा बन्द गरी केही छिनका लागि ध्यानमग्न हुनुभयो। त्यसपछि ऋषिले राजाको पूर्वजन्मको वृत्तान्त बताउनुभयो– यी राजा पूर्वजन्ममा एक निर्धन वैश्य थिए। गरिबीका कारण यिनले धेरै नराम्रो कर्म गरेका थिए। यो एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे। एक समय ज्येष्ठ शुक्ल पक्षको द्वादशीका दिन मध्याह्न कालमा दुई दिनदेखि भोकै रहेकाले उनी एक जलाशयमा पानी खान गए। त्यहाँ भर्खरै ब्याएकी प्यासी गाई पानी खाइरहेकी थिइन्। उनले ती प्यासी गाईलाई पानी खान नदिई धपाएर आफूले मात्र पानी खाएकाले राजालाई यो दु:ख आइपरेको हो। एकादशीको दिन भोकै बसेको हुनाले उनी राजा भए र प्यासी गाईलाई जल पिउन लाग्दा धपाएकाले पुत्रविहीनताको पीडा सहनुपरेको रहेछ। यो कथा सुनेपछि समस्त प्रजाजनले उक्त पापबाट मुक्ति तथा प्रायश्चित्तको उपाय सुझाउन पनि आग्रह गरे।

त्यसपछि लोमश ऋषिले भन्नुभयो– श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ। तपाईंहरू सबैले पुत्रदा एकादशीको व्रत गरी रात्रिमा जागरण गर्नुहोस्, यसले राजाको पूर्वजन्मको पाप अवश्य नष्ट हुनेछ र उनलाई पुत्रप्राप्ति पनि हुनेछ। लोमश ऋषिको उपदेश सुनेर मन्त्रीसहित सबै प्रजाहरू नगरमा आए र श्रावण शुक्ल एकादशीमा ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे। यसरी विधिपूर्वक व्रत एवं पारण गरिसकेपछि द्वादशीका दिनमा सबैले उक्त पुण्यफल फल राजालाई दिए। त्यही पुण्यका प्रभावले रानीले तत्कालै गर्भ धारण गरिन् र प्रसवकालपछि उनको अत्यन्त तेजस्वी पुत्र उत्पन्न भयो।

यो कथा सुनाइसकेपछि भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो– हे राजन, यसरी श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्न गयो। सन्तान सुखको कामना हासिल गर्नका लागि यस व्रतको पालना गरौं। यसको माहात्म्य मात्र सुन्नाले पनि मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख तथा परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ।

2 responses to “पुत्रदा एकादशी (श्रावण शुक्ल एकादशी)”

  1. ashish tadi says:

    i give wiss for all frnd ,family …..for teej festival

  2. karnna Roka says:

    atinai mitho kathaarahex padadaoani annandbho maa santibho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved