No Image

पापमोचनी एकादशी व्रत

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 20, 2017

चैत्र कृष्णपक्षको एकादशीलाई पापमोचनी एकादशी भनिन्छ। युधिष्ठिरको जिज्ञासा शान्त पार्न भगवान् श्रीकृष्णले राजा मान्धाता र लोमश ऋषिको संवादलाई उद्धृत गर्दै यस एकादशी व्रतको महत्त्व बताउनुभएको कथाप्रसंग शास्त्रमा पाइन्छ।

चैत्रमासस्यासिते पक्षे नाम्ना वै पापमोचनी
एकादशी समाख्याता पिशाचत्वविनाशिनी।।

कुनै समय स्वर्गको आनन्ददायक रमणीय चैत्ररथ नामक सुन्दर वन वसन्त ऋतुको आगमनले थप मनमोहक बनेको थियो। त्यहाँ इन्द्रादि देवताहरू अप्सराका साथ क्रीडा गर्न उपस्थित हुन्थे भने गन्धर्व कन्या र किन्नरहरू नाचगानमा मस्त हुन्थे। हरप्रकारका सुविधा एवं सर्वगुण सम्पन्न दिव्य चैत्ररथ वनमा तपस्या गर्न अनेक ऋषिहरू पनि लालायित हुन्थे।

उक्त वनमा मेधावी नामका ऋषि पनि लामो समयदेखि तपस्या गर्दै थिए। उनको आश्रमको नाम थियो, भयदा। एक दिन मञ्जुघोषा नामकी अप्सराले आश्रममा अत्यन्त सुन्दर तेजस्वी मेधावी ऋषिलाई तपस्या गरिरहेको देखिन्। कामोत्तेजनाले अन्धो बनेकी अप्सराले कामोद्दीपक लेपन र वेशभूषामा उत्तेजक हाउभाउ प्रस्तुत गरी ऋषिका समीपमा गएर नाचगान गर्न थालिन्। मुनिराज मेधावी पनि अंगरागको महक, स्त्रीस्वर एवं चुरा, नूपुर आदिको झंकारले युक्त मञ्जुघोषालाई देखेपछि देखेपछि मोहित भए। मञ्जुघोषाले मेधावी ऋषिलाई साक्षात् कामदेव जस्तै देखेर मुनिका शरीरमा आलिंगन गर्न पुगिन्। मुनि पनि अत्यन्त मोहित भए। दुवै कामान्धले बेहोसी जस्तै भए।

तस्मिन्नेव वनोद्देशे दृष्ट्वा तद्देहमुत्तमम्।
शिवतत्त्वं स विस्मृत्य कामतत्त्ववशं गतम्।।

यसरी मुनिले शिवतत्त्वलाई बिर्सिएर मञ्जुघोषाको प्रेममा परी धेरै वर्ष बिताए। कामदेवका वशमा परेका उनीहरूले वर्षौं बितेको पत्तै पाएनन्। एक दिन मञ्जुघोषाले आफ्नो कर्मक्षेत्रमा फर्कन बिदा मागिन्। ऋषिले हिजो मात्र आएकी, अहिल्यै किन जान्छ्यौ भनी रोके। मुनिको श्रापका डरले उनी पनि जान सकिनन्। केही समयपछि फेरि बिदा माग्दा पनि मुनिले जान दिएनन्। पटक–पटक अनुनय–विनय गरिन् तर पनि ऋषिले जाने अनुमति दिएनन्।

एक दिन मञ्जुघोषाले फेरि बिदा माग्ने हिम्मत गरिन्। उनले ऋषिलाई भनिन्, ‘हे मुनिवर, मसँग भोगविलासमा रमण गर्दा हजुरका ५७ वर्ष, ९ महिना यसै बिते। हजुरको कति लामो धार्मिक समय खेर गयो ? फर्किएर एक पटक विगत हेर्नुस् त।’ उनले ऋषिलाई सम्झाउने कोसिस गरिन्। त्यसपछि मुनि झस्किएर क्रूद्ध भई उल्टै अप्सरालाई श्राप दिए।

कालरूपां च तां दृष्ट्वा तपसः क्षयकारिणिम्।
तां शशाप चद्ध मेधावी त्वं पिशाची भवेति हि।।

मुनिबाट पिशाची हुने श्राप पाएकी मञ्जुघोषाले विनयपूर्व त्यस योनिबाट छुटकारा पाउने उपाय बताउन अनुरोध गरिन्। उनले भनिन्, ‘हे मुनिवर, सज्जनको संगत गरेको फल पुण्यदायक हुन्छ, जुन खेर जाँदैन। अतः मलाई यो पिशाच योनिबाट मुक्त हुने उपाय पनि बताइदिनुहोस्।’
त्यसपछि मेधावी ऋषिले भने–

चैत्रस्य कृष्णपक्षे या भवेदेकादशी शुभा।
पापमोचनिका नाम सर्वपापक्षयंकरी।।
तस्या व्रत कृते शुभ्रु पिशाचित्वं प्रयास्यति।।

‘चैत्र कृष्णपक्षको एकादशी पापमोचनीका नामले प्रसिद्ध छ। त्यस दिन तिमीले एकादशीको उपासना गर्यौ भने सबै पाप नास भई पिशाच योनिबाट पनि मुक्ति पाउनेछ्यौ’ भनी ऋषिले बताएपछि मञ्जुघोषाले ऋषिको वचन शिरोपर गरिन्। मेधावी ऋषि पनि आफ्ना पिता च्यवन ऋषिको आश्रमतिर जाँदा भए। आफ्ना सबै कर्तुत थाहा पाएका पिता च्यवन ऋषिलाई सबै यथार्थ बताएर मेधावीले प्रायश्चित्तका उपाय सोधे।

त्यसपछि पुत्रलाई क्षमा गर्दै च्यवन ऋषिले भन्नुभयो–
चैत्रस्य चासिते पक्षे नाम्ना वै पापमोचनी।
अस्या व्रते कृते पुत्रः पापराशिः क्षयं व्रजेत्।।

मेधावी ऋषिले पिताबाट पापमोचनी एकादशीको विधिपूर्वक व्रत बस्नाले सबै पापराशि क्षय हुने र प्रायश्चित्त पनि हुने ज्ञान पाएपछि यो एकादशीको व्रत गरे। यस्तै, मञ्जुघोषा अप्सरा पनि यही व्रतका प्रभावले श्रापमुक्त भई दिव्यांगना भई स्वर्ग गइन्।

यस प्रसंगलाई उल्लेख गर्दै लोमश ऋषिले मान्धातालाई पुण्यदायक एकादशी व्रतको महत्त्व बताउनुभयो। शास्त्रवचन अनुसार यो एकादशीको उपासनाले सबै पाप नष्ट हुन्छन् भने यस एकादशीको महात्म्य वाचन र श्रवण गर्नाले पनि १००० गाई दान गरेको पुण्यफल प्राप्त हुन्छ भनी फलश्रुति बताइएको छ।

एकादशी व्रतका मुख्य तीन कृत्यहरू पर्दछन्– उपवास, देवपूजन र नियम पालन। सबै एकादशीका आराध्य भगवान् श्रीहरि विष्णु हुनुहुन्छ।

एकादशीका व्रतीहरूले दशमीका दिन एक पटक मात्र भोजन गर्ने र एकादशीका दिन संकल्पपूर्वक स्नान गरी व्रत बस्नुपर्दछ। व्रत वा उपवास बस्दा उपास्य देवताको विशेष पूजा–आराधना गर्नुपर्छ। एकादशी व्रतको महात्म्य कथा श्रवण पनि गर्नुपर्छ। यस दिन एकाग्र चित्तले ईश्वरको भक्तिभावमा समर्पित हुनुपर्दछ। स्वास्थ्यका कारण भोकै बस्न नसकिने भए शास्त्रले विधान गरेका पदार्थहरू खाएर पनि व्रत बस्न सकिन्छ, संकल्पित व्रत त्याग्नु भने हुँदैन।

नक्तं हविष्यान्नमनौदनं वा फलं तिलाक्षीरमथाम्बु चाज्यम्।
यत्पञ्चगव्यं यदि वापि वायुः प्रशस्तमत्रोत्तरमुत्तरं च।
इति पक्षेषु शक्तितारतम्येतैकपक्षाश्रयणं न त्वेकाशीत्यागः।।

अर्थात् सकिन्छ भने दिनरात नै एकादशीको व्रत बस्ने। सकिँदैन भने रात्रिमा फल–फूललगायत हविष्यान्न खाने। फलहरू, तिल, दूध, पानी, घिउ र पञ्चगव्यको सेवन गरेर पनि एकादशीको व्रत गर्न सकिन्छ। एकादशीको व्रत बीचैमा छोड्नुचाहिँ हुँदैन।

एकादशीमा पूर्ण उपवासलाई उत्कृष्ट लक्षण मानिएको छ। उपवासभन्दा वायु सेवन कम उत्कुष्ट, त्यो भन्दा पञ्चगव्य सेवन कनिष्ठ, पञ्चगव्यपछि क्रमशः घिउ, जल, दूध, तिल, फल, हविष्यान्न र रात्रिकालमा रोटी भोजनलाई उत्तरोत्तर कनिष्ठ लक्षण मानिन्छ। विशेष गरी कमजोर स्वास्थ्य भएका व्रतीहरूका लागि पछिल्ला वस्तुहरू विधान गरिएको हो।


Related Posts
रामनवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
चैते दसैं
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 1, 2020
चैते दसैं र राम नवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019
विक्रम संवत् – नयाँ वर्षको संकल्प
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 14, 2018
फागु पूर्णिमा (होली)
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
आमलकी एकादशी
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
फ्रेवुअरी 26, 2018
Comments
    भीम ज्ञवाली

    श्री विष्णु भगवानको कृपा, जगत का सम्पुर्ण प्राणीहरु माथी एक समान हुने गर्दछ । जो भगवान विष्णुको पूजा आराधना गर्दछ उनीहरुको विशेष फल अवश्य प्राप्त हुने गरेको छ।
    अनी मोक्ष प्राप्त हुने गरेको पनी छ।


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!