No Image

नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
जुलाई 27, 2017

वि.सं. २०७४ मा नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?

उपाकर्म भन्नाले गणस्नान, दीप, कलश, गणेश एवं शिवजीको पूजा गरी रुद्राभिषेक, यज्ञोपवीत अभिमन्त्रण र धारण आदि विषय तथा रक्षाबन्धनसम्मका कृत्यहरू पर्दछन्। यद्यपि रक्षाबन्धन कर्मलाई स्वतन्त्र लिएको पनि पाइन्छ। रक्षाबन्धन सत्यनारायण आदिको पूजामा त्यसको अंग भएर पनि आएको हुन्छ अर्थात् रक्षासूत्रको यहाँ पूजा गरेर पनि ल्याउने प्रचलन छ भने श्रावण शुक्ल पूर्णिमाका दिन छुट्टै लगाउने चलन छ, यो स्वतन्त्र रक्षाबन्धन हो। यद्यपि स्वस्तिवाचन गर्ने, दैनिक पूजा गर्ने, दैनिक वा कृत्यविशेषमा रक्षासूत्र बाँध्ने, टीका, प्रसाद लगाउने आदि मांगलिक कार्यहरू दैनिक पनि गर्न सकिन्छ।

२०७४ सालको श्रावण शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण मध्यरात्रिपूर्व अर्थात् रात्रिको ११:०७ बजे स्पर्श गर्ने भएकाले उक्त दिन अर्थात् साउन २३ गते उपाकर्म कार्यका लागि शास्त्रले समय दूषित मानेर उपाकर्मसम्बन्धी कार्यहरू नगर्नू भनी निषेध गरेको छ। ती निषेधपरक शास्त्रवचनहरू यी हुन्—

यदि स्यात् श्रावणं पर्व ग्रहसंक्रान्तिदूषितम् ।
स्यादुपाकरणं शुक्लं पञ्चम्यां श्रावणस्य तु ।।
संक्रान्तिग्रहणं वापि यदि पर्वणि जायते ।
तन्मासे हस्तयुक्तायां पञ्चम्यां वा तदिष्यते ।।
संक्रान्तिग्र्रहणं वापि पौर्णमास्यां यदा भवेत् ।
उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभि: ।।

शास्त्रमा यी वचनहरू भएकाले शास्त्रीय वचनका आधारमा यस वर्षको उपाकर्म सम्बन्धी सम्पूर्ण कार्यहरू श्रावण शुक्ल पञ्चमीकै दिन गर्नुपर्छ। नागपञ्चमीकै दिन सुरुमा नाग पूजा गरेर टाँस्ने कार्य गर्नुपर्दछ भने गणस्नान, ऋषिपूजन, यज्ञोपवीत धारण आदि कार्यहरू पनि यसै दिन गर्नुपर्दछ। यस्तो अवस्था १९६३, १९८२, २०२८, २०४७ सालमा पनि परेको र पञ्चमीमै गरिएको भनी नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि विशेष बैठक बोलाई निर्णय गरी विज्ञप्तिसमेत निकालेको छ। उक्त सालका पात्राहरूमा पनि यस्तो निर्णय देख्न सकिन्छ।

सारांशमा यस वर्ष चन्द्रग्रहण परेका कारण २०७४ सालमा उपाकर्मलगायत सम्पूर्ण कृत्यहरू श्रावण १३ गते नै गर्नुपर्छ। आशौच आदिका कारण रोकिएको १३ गतेको उपाकर्म चाहिँ अन्य शाखाको आश्रय लिएर भाद्र शुक्ल पञ्चमी आदिमा गर्न सकिन्छ। धर्मसिन्धुको ‘अथ सर्वशाखिनां साधारणोपाकर्मनिर्णयः’ शीर्षक विधानमा ‘सर्वशाखिनां ग्रहणसंक्रान्त्याशौचादि दोषसम्भावनायां सर्वथा कर्मलोपप्राप्तौ शाखान्तरोक्तकालानां ग्राह्यत्वमावश्यकम्।’ लेखिएकाले आशौचादिले बाधा पुर्याएमा चाहिँ भाद्र शुक्ल पञ्चमी वा पूर्णिमामा पनि उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन गर्न सकिन्छ।

Previous Post: २०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना


Related Posts
चैते दसैं र राम नवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019
विक्रम संवत् – नयाँ वर्षको संकल्प
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 14, 2018
फागु पूर्णिमा (होली)
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
आमलकी एकादशी
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
फ्रेवुअरी 26, 2018
ग्याल्पो लोसार
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 27, 2017
    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!