Tihar

मानवजीवनमा खुसी र सुख दिने प्रमुख विषयहरू आयु, आरोग्य, ऐश्वर्य, घर–परिवार अनि समाज नै हुन्। र, तिहार यस्तो पर्व हो, जसले यी सबै वस्तु प्राप्त गर्ने प्रेरणा प्रदान गर्दछ। अभावबाट समृद्धितर्फ, अज्ञानताबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फ जडताबाट चैतन्यतर्फ र दुःखबाट सुखतर्फ अग्रसर गराउने धार्मिक एवं सांस्कृतिक महत्त्वको पर्वका रूपमा तिहारलाई लिन सकिन्छ।

तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म मनाइन्छ। यस अवधिलाई मृत्युका देवताको नाम जोडेर यमपञ्चक भनिए पनि वास्तवमा यो यमराजले आफ्नो कामबाट बिदा लिएर उत्सव मनाएको अवधि हो। पौराणिक आख्यानअनुसार मानिसले जीवनभर गरेका शुभाशुभ कर्मको लेखाजोखा गरी मृत्युपश्चात् त्यसअनुसार कर्मफल प्रदान गर्ने देवता यमराज हुन्। यमपञ्चकमा बहिनी यमुनाको निम्तो मानी भाइटीका लगाउन उनी पृथ्वीलोकमा आउँछन्। पृथ्वीमा पाहुनाको रूपमा आउने हुनाले यो समयमा यमराज र उनका दूतसमेतलाई पूजाआजा गरेर खुसी तुल्याउने चेष्टा गरिन्छ। मृत्यु शाश्वत सत्य हुँदाहुँदै पनि बाँचुन्जेल सुखमा रमाउने चेष्टा गर्नु मानवीय गुण हो। त्यसैले पनि साक्षात् मृत्युका देवताको सम्मानमा दीप जलाई वर्षभरि घरभित्र प्रवेश नगर्न तथा अपमृत्यु, दुर्घटना आदि नगर्न उनलाई आग्रह गरिन्छ। काग र कुकुरलाई यमपाशबाट जोगाउन सक्ने दूतका रूपमा पूजा गरिन्छ भने आयुर्वेदका देवता धन्वन्तरिलाई समेत उपचार सिद्धि र आरोग्य प्राप्तिका लागि पूजा गरिन्छ।

कार्तिक महिना अर्थात् सूर्यनारायण नीचराशिमा रहने समय। त्यसमाथिको अमावस्या, चन्द्रमासमेत क्षीण र नीचाभिलाषी भई कमजोर रहेको कालो रात्रि। तर यही औंसीको कालो रातमा ज्ञान र चेतनारूपी दीपहरूद्वारा महालक्ष्मीको आरती गरी सुख र समृद्धिको साधना गरिन्छ। वर्षभरिकै सबभन्दा कालो रात्रि भए पनि यस दिन घरआँगन लिपपोत गरेर सफासुग्घर बनाई दीपमालिकाद्वारा आवाहन गरिएकी लक्ष्मीलाई घरघरमा भित्र्याउने गरिन्छ। त्यसैले यस रात्रिलाई सुखरात्रि भनिन्छ। सुखरात्रिको साँझ अप्राप्त धन प्राप्ति र प्राप्तधनको सुरक्षाको कामनासाथ विधिवत् लक्ष्मीको पूजा गरेपछि सुख र ऐश्वर्य प्राप्तिका लागि इन्द्रको र धनप्राप्तिका लागि कुबेरको पूजा गर्ने विधान छ। यस क्रममा गरगहना, नगद, बहुमूल्य गहना आदिको पनि पूजा गरिन्छ। यसै दिन गाईलाई लक्ष्मीको स्वरूप मानेर पूजा गरिने भएकाले यस दिनलाई गाईतिहार पनि भन्ने गरिन्छ।

तिहारमा बाछोसहित गाईलाई साक्षात् सर्वफलदायिनी लक्ष्मीका रूपमा पूजा गरिन्छ। कार्तिक शुक्ल प्रतिपदा तिथिमा गाई तथा गोरुको क्रीडा वा जात्रा, प्रदर्शनी आदि गराउनुपर्ने शास्त्रवचन छ। यस दिन गोधन अभिवृद्धिको कामनासाथ गोरुलाई अन्नदाता एवं पालनकर्ताका रूपमा, गोकुललाई समृद्धिका रूपमा, गोवर्धन पर्वतलाई घाँस, दाउरा, पानीलगायत प्राकृतिक सम्पदाको भण्डार एवं विपत्तिनाशक आश्रयस्थलका रूपमा र गोवर्धनधारी कृष्ण, बलराम, नन्द, यशोदा, गोपाल आदिलाई गोकुल संवर्धकको रूपमा पूजा गर्नुपर्दछ। द्वापर युगमा भगवान् श्रीकृष्णको सुझावअनुसार गोपालहरूले इन्द्रको सट्टा गोवर्धन पर्वतको पूजा गर्न थालेको र यसो गर्दा रिसाएका इन्द्रले पृथ्वी डुबाउने गरी बर्साएको जलबाट बचाउन कृष्णले गोवर्धन पर्वत धारण गरेको प्रसंग गोवर्धन पूजामा जोडिन आउँछ। नेवार परम्परामा यस दिन आफू (आत्म) लाई ईश्वरीय अंशका रूपमा पूजा गर्ने विधान रहेको छ भने यसै दिन नेपाल संवतको नयाँ वर्ष (न्हुदया भिन्तुना) पनि शुभारम्भ हुन्छ। कार्तिक शुक्ल प्रतिपदा तिथिको राति भगवान् नारायणको भक्ति एवं सान्निध्य प्राप्तिका लागि दानवीर तथा वचनबद्ध बलिराजको पूजा गर्नुपर्दछ।

भाइटीकाका दिन विशेष रूपले यमराज र यमुनाको पूजा गरिन्छ। यस दिन बहिनी यमुनाको सत्कारले प्रसन्न भई यमपञ्चकभित्र मृत्यु हुनेहरूले यमलोक जानु नपर्ने वरदान पाएको पौराणिक कथन छ। यस दिन यमपरिवार र यमुनाका सेविका तथा अष्टचिरञ्जीवी समेतको पूजा र प्रार्थना गर्दै दिदीबहिनीले दाजुभाइको आरोग्य एवं दीर्घायुष्यको याचना गर्दछन् भने दाजुभाइले दिदीबहिनीको सुखसमृद्धि र दीर्घायुष्यको कामना गर्दछन्। यस दिन अष्टचिरञ्जीवी अर्थात् अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेयको पूजा गर्नाले दीर्घायुष्य प्राप्त हुने विश्वास गरिन्छ।

विशेष गरी दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ एवं आत्मीय बनाइराख्ने पर्वका रूपमा तिहारलाई लिन सकिन्छ। विवाह भएर टाढा गएका चेलीहरू हुन् अथवा परदेसिएका दिदीबहिनी वा दाजुभाइ किन नहुन्, देश, काल, परिस्थितिअनुसार जो जहाँ भए पनि सबैलाई तिहारले हरेक वर्ष एकपटक भेटघाट वा सम्पर्कमा ल्याउँछ।

तिहारलाई सांस्कृतिक पर्वका रूपमा समेत लिने गरिन्छ। यस पर्वमा सेल रोटी, अनर्सालगायत मिष्ठान्न तयार पारिन्छ भने दीप र फूलमालाद्वारा घरको विशेष साजसज्जा गरिन्छ। दिदीबहिनीले दाजुभाइका निधारमा लगाउने सप्तरङ्गी टीका र सयपत्री, मखमली फूलको मालाले पनि शान्ति, प्रेम र आरोग्य प्रदान गर्ने विश्वास गरिन्छ।

तिहारमा विशेष गरी बलिराज र रामका गाथा समेटेर भैलो र देउसी भट्याउने गरिन्छ। घरघरमा देउसीभैलो खेलेर आशिष तथा शुभकामना दिने र उठेको नगदले सामाजिक काम गर्ने सांस्कृतिक परम्पराले मौलिक संस्कृति र लोकभाकाको संवर्धनका साथै लोकमा उत्साह, उमंग र खुसियाली सञ्चार गर्ने गर्दछ।

थप जानकारीहरु

काग तिहार
कुकुर तिहार
लक्ष्मी पूजा
नेपाल संवत् (न्हूँः दँयाः भिन्तुना)
गोवर्धन पूजा
भाइटिका (किजा पूजा)

12 responses to “तिहारको महत्त्व”

  1. D.R.Pokhrel says:

    Very good information regarding the related PARVA, I would like to know more such information of each and every important tithis n parvas in future.

  2. Ashok Singh says:

    nice

  3. Januka Rraut says:

    तिहारको बारेको यो लेख हामी सबैका लागि उपयोगी छ I

  4. shristi bhattarai says:

    nice

  5. jeewan Bhattarai says:

    tihan nepali-jan ko mahan-pab bhayakale tiharle sabai lai milaune vetane kam dinxa tihar pab yyauta khushiko pab pani maninxa …?✋✋

  6. Vivek says:

    Very nice post sir…..could you please help me know when does actually bhaitika falls….i mean how we calculate the exact date for bhai tika like on which tithi, or paksha…..??

  7. Kobra Gang says:

    jai jai jai Laxmi maata

  8. मानिक लाल बि.क. says:

    जानकारी को लागी धेरै धेरै धन्यवाद

  9. Tek bahadur bayadi says:

    Waw

  10. Kushal says:

    Good knowledge..

  11. Chance Bhandari says:

    Thanks!!!

  12. Tej Bahadur Rawat says:

    Such Types Of Information ,Makes A Man Perfect To Know Our Previous Religious History So We Can Easily Adopt This. Thanks To Deveplors.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved