No Image

चैते दसैं र राम नवमी

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 12, 2019

चैते दसैं

चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दसैं भनिन्छ। चैते दसैं यसमा पनि बडादसैंमा जस्तै भगवती जगदम्बा दुर्गा भवानीको विशेष आराधना, उपासना गरिन्छ। यद्यपि वर्षभरिका चारवटै नवरात्र (चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष र पौष शुक्लपक्ष) मा शक्तिस्वरूपा भगवतीको पूजाआराधना गर्ने विधान छ।

चैत्र महिनामा पर्ने नवरात्रिलाई वासन्ती नवरात्र (चैते दसैं) भनिन्छ। यस नवरात्रमा स्वयं मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसंग रामायणलगायत इतिहास पुराणमा पाइन्छ। रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो। यसरी शक्ति प्राप्त भएपछि रावणलाई पराजित गरी विजयोत्सवका रूपमा भगवानकै आज्ञाले विजया दशमी मनाउने गरिएको हो। चैते दसैं

मार्कण्डेय पुराणमा स्वयं भगवतीले यस समयमा गरिने महापूजाको विधिसमेत बताउनुभएको छ। नवरात्रको प्रथम दिन विधिपूर्वक घटस्थापना गरी भगवतीलाई आवाहन गर्ने विधान छ। चैते दसैं दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी दुर्गा सप्तशती, देवी भागवतलगायत पाठ गरिन्छ। जनजनमा उत्साह र उमंग जगाउने पर्वका रूपमा दसैंलाई लिइन्छ। नवरात्रको अवसरमा भगवतीको उपासना गरी आशीर्वाद प्राप्त गरिन्छ। भगवानको जन्मोत्सवमा भगवानको पूजा उपासना गर्नाले भगवत् कृपा प्राप्त भई मानिसको कल्याण हुन्छ।

राम नवमी

ध्यायेदाजानुबाहुं धृतशरधनुषं बद्धपद्मासनस्थं।
पीतं वासोवसानं नवकमलदलस्पर्धिनेत्रं प्रसन्नम्।।
वामाङ्कारूढसीतामुखकमलमिलल्लोचनं नीरदाभं।
नानालङ्कारदीप्तं दधतमुरुजटामण्डलं रामचन्द्रम्।।

जसका नूतनकमलदलतुल्य प्रसन्न नयन वामभागमा विराजमान श्री सीताजीका मुखकमलमा टक्क अडिएका छन्, उनै आजानुबाहु धनुषबाण धारण गर्नुभएका बद्धपद्मासनमा विराजमान पीताम्बरधारी विशाल जटाजूटले युक्त मेघश्याम नाना अलंकारले विभूषित दशरथनन्दन भगवान् श्रीरामचन्द्रको सभक्ति ध्यान गर्दै आज राम नवमी को पावन दिनमा भगवानका केही गुणानुवादको चर्चा गरिनेछ।

राम नवमी सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो। राम नवमी पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । प्रख्यात ग्रन्थ रामायणलगायत इतिहास-पुराण अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ। राम नवमी पर्व वासन्ती नवरात्रभित्रै आउने भएकाले यस दिन भगवान् श्री रामका साथै आद्या शक्ति जगज्जननी दुर्गा भवानीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनुभएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको संहार गरी रामराज्य स्थापना गर्नुभएको सम्झनामा यो पर्व मनाइन्छ।

त्रेता युगमा चैत्र शुक्लपक्षको नवमी तिथिमा भगवान् विष्णुले नरयोनिमा राजा दशरथ र रानी कौशल्याका पुत्रका रूपमा जन्म लिएर आफ्नो सातौं अवतार श्रीरामरूप धारण गर्नुभएको थियो। त्रेता युगको त्यो रघुकुल धन्य छ, जसले साक्षात् पूर्ण ब्रह्म परमात्मा श्रीहरिलाई कुलभूषणका रूपमा अवतरित गरेको थियो। श्रीरामावतारमा भगवानले सदैव मर्यादा–पुरुषका रूपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापित गर्नुभयो। भगवानका आदर्श लीला चरित्र अध्ययन, श्रवण, स्मरण र चिन्तन–मनन गर्नाले मानवहृदयमा पवित्र भावधारा उत्पन्न हुन्छन् र चञ्चल मानवमन रामभक्तिमा लीन हुन पुग्छ।

रामायणमा नैतिक आदर्श एवं सद्गुणका खानी श्रीरामचन्द्रलाई सत्य, धैर्य, क्षमा, दया, मृदुता, वीर, शान्ति, निर्भय, तेज, ज्ञान, धर्मपरायण, मातृ–पितृभक्त, गुरुभक्त, भ्रातृप्रेमी, पत्नीबल्लभ, नीतिवान्, प्रतिज्ञापालक, साधुसंरक्षक, शरणागतवत्सल एवं पवित्रताका प्रतिमूर्तिका रूपमा प्राप्त गर्न सकिन्छ। युगपुरुष श्रीरामका आदर्शचरित्र र रामराज्यको गुणगान संसारभर युगौंयुगसम्म उत्तिकै लोकप्रिय र प्रशंसनीय छन्।

शक्तिशाली साम्राज्य अयोध्याको सिंहासन लामो समयसम्म उत्तराधिकारीविहीन रहँदा सर्वत्र अन्योल र चिन्ता व्याप्त थियो। तीनवटी रानी भए पनि अयोध्याका चक्रवर्ती राजा दशरथको काख रित्तो थियो। यस्तैमा रघुकुलनन्दन राजा दशरथ कुलगुरु महर्षि वशिष्ठको शरणमा पुगे। गुरुदेवको आज्ञाअनुसार शृङ्गी ऋषि आमन्त्रित भए र पुत्रेष्टि यज्ञको अनुष्ठान गरियो। यज्ञको समापन कालमा साक्षात् अग्निदेव प्रकट भई रानीहरूलाई खिर प्रसाद वितरण गर्नुभयो। त्यही दिव्य प्रसाद ग्रहण गरेपछि रानीहरू गर्भवती भए।

त्यस बेला समस्त देवता र ऋषिगण लङ्काधिप रावणको अत्याचारबाट आहत थिए। पुलस्त्य ऋषिका नाति रावणले मयासुरपुत्री मन्दोदरीसँग विवाह गरेका थिए। समस्त वेदका ज्ञाता रावणले बल र ऐश्वर्यले उन्मत्त भई आफ्नै अग्रज कुबेरलाई लुटपाट मच्चाई लंका नगरी र त्यहाँको श्री–सम्पत्ति हरण गरे। कुबेर लंकाबाट विस्थापित भएपछि रावण लंकापति बनेका थिए। ऋषि, देवता, ब्राह्मण र धर्मलाई परंशत्रु ठान्ने रावणको अत्याचारले उग्ररूप लिँदै थियो। तीनै लोकमा तपोवन आक्रान्त थिए। लोकपाल, देवतागण र ग्रहहरू रावणका बन्दीजस्तै थिए।

यस्तै परिवेशमा राजा दशरथका तीनैजना रानीहरू गर्भवती भएका थिए। रानी कौशल्याका गर्भबाट चैत्र शुक्लपक्ष नवमी तिथिको मध्याह्नमा श्रीरामको जन्म भयो। कैकेयीका गर्भबाट भरत र सुमित्राका गर्भबाट लक्ष्मण र शत्रुघ्नको जन्म भयो।

कुलगुरु वशिष्ठका आश्रममा चारै कुमारको शिक्षादीक्षा सम्पन्न भएपछि ऋषि विश्वामित्रले यज्ञको सुरक्षा व्यवस्था मिलाउन राम–लक्ष्मणलाई आफ्नो तपोवनमा लैजानुभयो। यज्ञ विध्वंस गर्न आएका ताडका र सुबाहु भगवानका हातबाट मारिए। मारिच भगवानले प्रहार गर्नुभएको सय योजन टाढा उछिट्टियो। यज्ञ निर्विघ्नपूर्वक सम्पन्न भयो।

तपोवनमै राजा जनकको निमन्त्रणा प्राप्त भयो। जनकनन्दिनी अयोनिजा कन्या सीताको स्वयंवर आयोजना गरिएको थियो। महर्षिका साथ दुवै अवध–कुमारको आगमन मिथिलामा भयो। मिथिलानरेश राजर्षि जनकले शिवको धनुष उठाई ताँदो चढाउन सक्ने वीरलाई जानकीको हात सुम्पने उद्घोष गर्नुभएको थियो। संसारका वीर तथा पराक्रमी राजाहरूले हार खाएपछि राजर्षि जनकलाई योग्य वर नभेटिने चिन्ताले सताएको थियो। भगवान रामको हातबाट जब शिवको धनु खण्डित भयो, सर्वत्र श्रीरामको प्रशंसा हुन थाल्यो।

यही प्रसंगमा आफ्ना आराध्यदेवको अपमान भएको भन्दै क्रुद्ध भएका परशुराम आइपुग्नु हुन्छ। भगवानले श्री परशुरामको शक्ति क्षय गरी शान्त बनाइदिनुहुन्छ। स्वयंवरस्थलमा समेत श्रीरामले पिताको मर्यादा कायम राख्नुहुन्छ। अयोध्यानरेशलाई आमन्त्रण गरिन्छ। पिताको अनुमति पाएपछि रामजानकीको स्वयंवर र कन्यादान हुन्छ। चारै राजकुमारको विवाह मिथिलामै सम्पन्न हुन्छ।

श्रीरामको लोकप्रियताले राजा दशरथ आनन्दमग्न बन्नुहुन्छ। यस्तैमा श्रीरामलाई राज्याभिषेक गरी राजा दशरथले संन्यास लिने निश्चय गर्नुहुन्छ। तर, भगवान श्रीरामको जन्म धर्म स्थापनाका लागि भएको थियो। यस कार्यका लागि देवर्षि नारदको प्रेरणाअनुरूप दासी मन्थराले रानी कैकेयीलाई उक्साउने कार्य गर्दछिन्। राजाले पहिले दिएको वाचालाई हतियार बनाई कैकेयीले २ वटा सर्त राजासामु राख्छिन्। पहिलो सर्त श्रीराम १४ वर्षलाई वनवास जाने र दोस्रो सर्त भरतलाई राज्याभिषेक गरिदिने। वचनबद्ध राजा कैकेयीका वचन पूरा गर्न बाध्य हुन्छन्।

पिताको वचन शिरोपर गर्दै श्रीराम राजकीय वेशभूषा परित्याग गरी वनवासमा निस्कनुहुन्छ। सीता र लक्ष्मण पनि रामका साथ वनवासमा जानुहुन्छ। पुत्रवियोगले आकुल भई राजा दशरथको प्राण छुट्तछ। यसबीच मामाघरमा रहेका भरत दुःखी हुँदै पिताको अन्त्येष्टि समापन गरी श्रीरामलाई फर्काउन चित्रकूटसम्म आइपुग्छन्। श्रीरामले भरतलाई सम्झाईबुझाई राज्य सञ्चालन गर्न अयोध्या फर्काउनुहुन्छ। श्रीरामको अनुपस्थितिमा सिंहासनमा रामका खराउ राखी भरतले राज्य चलाउन सुरु गर्छन्।

वनवासका क्रममा श्रीराम सीता र लक्ष्मणका साथ अघि बढ्नुहुन्छ। विभिन्न स्थानमा तपस्वी ऋषिहरूसँग दर्शनभेट हुन्छ। प्रयागमा भारद्वाज, त्यसपछि वाल्मीकि, चित्रकूटमा अत्रि, त्यसपछि शरभंग, सुतीक्ष्ण, अगस्त्य आदिको दर्शन गर्दै पञ्चवटी पुग्नुहुन्छ। पञ्चवटीमा पर्णकूटी निर्माण गरी केही वर्ष व्यतीत गर्नुहुन्छ। यहीँको बसाइका क्रममा गृद्धराज जटायुसँग परिचय हुन्छ।

एक दिन रावणकी बहिनी शूर्पणखा पञ्चवटी आइपुग्छे। कामवासनाले उन्मत्त शूर्पणखाको उद्दण्डता सहन गर्न नसकी भगवानले उसको नाक काटिदिनुहुन्छ। उसले खर, दूषण नामका राक्षसलाई आह्वान गर्छे। भगवानले खर, दूषणका हजारौं सेनालई पनि परास्त गरेपछि शूर्पणखा आफ्नो दाजु रावणकहाँ पुग्छे। रावणले छल गरी सीतालाई हरण गर्ने रणनीति तयार पार्छ। मारिचले स्वर्ण मृगको रूप धारण गरी रावणलाई सहयोग गर्छ। स्वर्णमृग सीतालाई असाध्यै मनपर्छ र सीताले समाएर ल्याउन श्रीरामलाई आग्रह गर्नुहुन्छ। मारिचको मायावी चिच्याहटले सीतालाई तर्साउँछ र लक्ष्मणलाई श्रीरामको सहयोगार्थ जान आग्रह गर्नुहुन्छ।

लक्ष्मण सीतालाई लक्ष्मणरेखाभित्र सुरक्षित रहन आग्रह गर्दै आवाज आएको दिशातिर जानुहुन्छ। यही मौकामा झुक्याएर रावणले सीतालाई हरण गर्दछ र विमानमा राखेर लंकाको अशोक वाटिकामा पुर्याउँछ।

सीताको अपहरणका साक्षी जटायु मरणासन्न घाइते भेटिन्छन्। जटायुको मरणपश्चात् श्रीरामले जटायुको अन्त्येष्टि कर्म गर्नुहुन्छ। कबन्धासुरको वध गरी शबरीको आश्रममा गएर जुठो बयर ग्रहण गरेपछि उनकै सुझावअनुसार भगवानको हनुमान र सुग्रीवसँग भेट हुन्छ। किष्किन्धा राज्यमा अत्याचारी राजा बालीद्वारा निर्वासित भाइ सुग्रीवलाई भगवानको शरण प्राप्त हुन्छ। सुग्रीवलाई बालीसँग युद्ध लल्कार्न लगाई भगवानले बालीको अन्त्य गरिदिनुहुन्छ। त्यसपछि किष्किन्धा राज्यको राजाका रूपमा सुग्रीवको राज्याभिषेक हुन्छ र वर्षाको समयभरि ऋष्यमूक पर्वतमा प्रतीक्षा गर्नुहुन्छ।

असोज महिना लागेपछि हनुमान, सुग्रीव र वानर सेनाका साथ दक्षिणतर्फ लाग्नुहुन्छ। भालु र वानरसेना सीताको खोजीमा सबैतिर छरिएर लाग्छन्। हनुमानले सय योजन समुद्र पार गरी जनकनन्दिनीलाई पत्ता लगाउनुहुन्छ र लंका दहन गरी फर्कनुहुन्छ। सागरमा सेतुबन्धन गरिन्छ। सय योजन लामो सेतुबन्धन पार गरी लंकामा पुग्नुहुन्छ। महायुद्ध हुन्छ र रावणलगायत लङ्काका सम्पूर्ण विधर्मीहरूको अन्त्य गरिसकेपछि रामको वनवास अवधि समाप्त हुन्छ।

लंकाबाट फर्कनुअघि श्रीरामको मर्यादालाई सम्मान गर्दै जगज्जननी सीता अग्निपरीक्षाका लागि तयार हुनुहुन्छ। लंकामा विभीषणको राज्याभिषेक हुन्छ र श्रीराम सीता, लक्ष्मण र हनुमानलगायत वानर सेनाका साथ पुष्पक विमानमा सवार भई अयोध्या फर्कनुहुन्छ।

अयोध्यामा फर्किएपछि एकहजार वर्षसम्म श्रीरामले राज्य गर्नुभएको प्रसंग रामायणमा वर्णित छ। रामराज्यको अहिलेसम्म उत्तिकै चर्चा सुनिन्छ। भगवान श्रीरामको नाम अहिले पनि संसारभर अधिकरूपमा लिइने नाम हो। आश्चर्य व्यक्त गर्दा होस् वा विपत्तिकालमा होस्, भगवान श्रीरामको नाम तत्काल उच्चारण गर्नु हाम्रो संस्कृति हो।

भगवान् श्रीरामको मंगलमय चरित्र एवं गुणानुवादसम्बद्ध अनेक रचना, महाकाव्य आदि लेखिएका छन्। संस्कृतको वाल्मीकि रामायण, योगवाशिष्ठ तथा विभिन्न पुराणहरूमा श्रीरामको मंगलमय चरित्रवर्णन पाइन्छ। तुलसीदास रचित हिन्दीको रामचरितमानस तथा नेपालीमा भानुभक्तकृत रामायण पनि रामकथाका बेजोड प्रस्तुति हुन्। भगवानको भक्तिभावका लागि रामायण कथावाचन गर्ने विधान छ। यसबाहेक विभिन्न लोकसंस्कृतिमा समेत बालुन, रामकथा, रामलीला आदि प्रस्तुत गरिन्छ।

रामराज्य सुशासन, सुव्यवस्था, धर्म, शान्ति, न्याय र सदाचारको पूर्णता हो। अहिले पनि पूर्वीय सभ्यताका मुलुकहरूमा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्छ। मर्यादापुरुषोत्तम श्रीरामका पितृभक्ति र मातापिताको आज्ञापालन, भ्रातृप्रेम, एकपत्नी व्रत, कृतज्ञता, शरणागतवत्सलता र प्रजाको भावअनुकूल राज्यसञ्चालन जस्ता वैयक्तिक गुणहरू आदर्श चरित्रका रूपमा स्थापित छन्।

राम नवमी भगवान् श्रीरामको जन्मदिवसमात्र नभई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसियालीको दिवस पनि हो। इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा मानव कल्याणका लागि भगवानले अवतार लिनुभएको दिवसलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ। यसर्थ यस पावन दिनमा भगवानको विशेष पूजाआजा, व्रत अनुष्ठान, कथाश्रवण गर्नुपर्दछ। हरेक व्यक्तिमा अन्तर्निहित पापाचाररूपी रावणलाई पराजित गरी हृदयमा रामराज्य स्थापना गर्नु पनि आजको पर्वको सन्देश हो।


Related Posts
रामनवमी
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017
चैते दसैं
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 1, 2020
Comments
    keshab

    Nice jay sri ram

    Dinesh Pandey

    nice


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!