ग्याल्पो ल्होसारमहायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन्। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तोल, सोनम र ग्याल्पो गरी तीन सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।

ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो। भारत, जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ। अहिले सांस्कृतिक घुलमिलका कारण कतिपय अन्य जातिहरूले पनि मनाउने गर्दछन्। यो पर्व फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिनाअघिबाटै गरिन्छ।

‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ। बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ।

तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ। यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ। आज तिब्बती पञ्चांगअनुसार च्या लो (चरा वर्ष) सकिएर खी लो (कुकुर वर्ष) २१४५ प्रारम्भ हुने दिन हो। यसर्थ धार्मिक विधिअनुरूप आज चरा वर्षलाई बिदा गरी कुकुर वर्षलाई स्वागत गरिँदै छ।

लोसार सुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै यसको तयारी गरिन्छ। सुरुमा घरमा लिपपोत गर्ने, रंग लगाउने, नयाँ लुगा सिलाउने, सौदा किनमेल गर्ने आदि कार्य गरिन्छ। एक–दुई साताअगाडि नै खाप्से (मैदा वा पिठोबाट बनाइने रोटीजस्तै परिकार) पोल्ने र लोफुत (अन्नको जमरा) उमार्ने कार्य गरिन्छ। कुनै भाँडामा माटो र बालुवा भरी त्यसमा गहुँको बीउ राखेर लोसारको पहिलो दिनसम्ममा उमारिन्छ। यसरी उम्रेको गहुँलाई नयाँ वर्षको नयाँ बालीको रूपमा पूजा गर्ने गरिन्छ।

लोसारको दुई दिनअघि आफूलाई पायक पर्ने गुम्बामा गई गए सालको ग्रहदशा आउने सालमा नलागोस् भन्ने कामनाले ग्रहशान्ति तथा विसर्जनका लागि ‘ङिस्युगु पूजा’ गर्नुपर्दछ। यो पूजा गरेपछि गुम्बाहरूमा पनि लोसारको छुट्टी दिने गरिन्छ। त्यसपछि सबै श्रद्धालुहरूले आफ्नो घरको भित्री भागसम्म सफा गरी निस्केको फोहोरलाई खराब ग्रहदशाको प्रतीक मानेर दोबाटो, चौबाटो वा चोकमा विसर्जन गर्ने चलन छ। यसरी ग्रहदशा शान्त पारेपछि यही दिन साँझ नौ प्रकारका अन्न मिसाएको खाना गुथुक खाइन्छ।

लोसारको एक दिनअघि घरको साजसज्जा गरी अष्टमंगल, धजा–पताका आदिले घर सजाउने गरिन्छ। यही दिन पूजाकोठामा पूर्णरूपले साजसज्जा गरी भगवानको प्रतिमा वा फोटोमा षेडशोपचारले पूजा गरिन्छ। प्रसादका रूपमा विभिन्न भोजन, नैवेद्य, पक्वान्न रोटी (पुंगी अम्जो), छिमार, छ्याङ फु लगायत विभिन्न रोटी, मिठाई, परिकार आदि सजाएर राखिन्छ। लोसारका दिन बिहानै नित्यकर्म गरेर घरमूलीले भगवानलाई यी सबै कुरा चढाएपछि छिमार, छ्याङ फु आदि लिएर ३ पटक आकाशतिर चढाएपछि आगन्तुकहरूलाई सगुन वितरण गरिन्छ। सगुनका साथै छिमार, डेसिल, खाप्से र अन्य खानाका परिकार खाँदै शुभकामना आदानप्रदान गरी लोसार मनाइन्छ। लोसारमा मान्यजनले सानालाई आशीर्वाद दिने र सानाले श्रद्धाभाव व्यक्त गर्ने गरिन्छ।

ग्याल्पो लोसार मनाउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved