संस्कृतमा गौ भनेको गाई हो । गाईको संरक्षण र अनवरत वंशवृद्धि गर्नमा योगदान पुर्याउने पर्वतको नाम हो– गोवर्धन पर्वत। द्वापर युगको अन्त्यतिर भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गराउनुभएको प्रसंग नै गोवर्धन पूजाको इतिहास हो।

भगवान् श्रीकृष्णको बाललीला अपरम्पार छ। त्यो बाललीलाले गोकुलवासी र उसबेलाका समस्त मानिसहरूलाई त मोहित पार्यो नै, स्वर्गका राजा इन्द्र समेत भगवानको बाललीलाबाट मोहित भएको प्रसंग इतिहास–पुराणमा पाइन्छ।

कुनै समयमा भगवान् श्रीकृष्णको क्रीडाभूमि गोकुलमा स्वर्गका राजा इन्द्रको विशेष पूजा गर्ने चलन थियो। मानिसहरूमा इन्द्रले पानी पारेर समाजमा सहकाल आएको विश्वास थियो। तर, इन्द्रले वास्तवमा पानी पर्न नदिएर त्यहाँका बासिन्दालाई दिनुसम्म दुःख दिएका थिए। भगवान् श्रीकृष्णले इन्द्रको पूजा गर्ने परम्परालाई रोकिदिनुभयो र सम्पूर्ण सम्पदाको भण्डार गोवर्धन पर्वत रहेको र त्यही गोवर्धन पर्वतले घाँस, दाउरा, पानी, खनिजलगायत सबै वस्तुहरू उपलब्ध गराई गोकुलवासीहरूको प्राण जोगाएकाले गोवर्धनको पूजा गर्न बेस हुन्छ भनी सुझाव दिनुभयो।

आफूले सबैथोक सुम्पिएर पूजा गर्दा पनि केही नदिने बैगुनी इन्द्रलाई अब उप्रान्त पूजा नगर्ने निर्णयका साथ सबै गोकुलवासीहरू मिलेर इन्द्रको सट्टा गोवर्धनको पूजा गर्न थाले। तर यसो गर्दा गोकुलवासीहरूसँग इन्द्र झनै रिसाए र सारा गोकुल नै डुब्ने गरी एक सातासम्म अनवरत मुसलधारे वर्षा गराइदिए।

भगवान् श्रीकृष्णले सबै गोकुलवासीहरूलाई आफ्ना लालाबाला र गाईबाछा समेत लिएर गोवर्धन पर्वतको फेदमा भेला हुन आग्रह गर्नुभयो। त्यसपछि भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई उठाएर आफ्नो कान्छी औंलामा धारण गर्नुभयो र सारा गोकुलवासीहरूलाई गोवर्धन पर्वतरूपी छाता ओढाएर संरक्षण प्रदान गर्नुभयो र कालान्तरमा इन्द्रको समेत शेखी झार्नुभयो। अन्ततः शक्तिका आडमा गोकुलवासीहरूलाई अनावश्यक दुःख दिएकामा इन्द्र स्वयं लज्जित बन्नुपर्यो।

भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गराएको दिन परेकाले कार्तिक शुक्ल प्रतिपदाका दिन आजसम्म पनि घरघरमा गोबरको गोवर्धन पर्वत निर्माण गरी त्यसमाथि अनेक ध्वजापताकाले शोभायमान बनाई गोवर्धन पर्वतको पूजा गर्ने चलन रहिआएको छ।

आजको दिनमा गाई तथा गोरुको क्रीडा वा जात्रा, प्रदर्शनी आदि गराउनुपर्ने शास्त्रवचन छ। यस दिन गोधन अभिवृद्धिको कामनासाथ गोरुलाई अन्नदाता एवं पालनकर्ताका रूपमा, गोकुललाई समृद्धिका रूपमा, गोवर्धन पर्वतलाई घाँस, दाउरा, पानीलगायत प्राकृतिक सम्पदाको भण्डार एवं विपत्तिनाशक आश्रयस्थलका रूपमा र गोवर्धनधारी कृष्ण, बलराम, नन्द, यशोदा, गोपाल आदिलाई गोकुल संवर्धकको रूपमा पूजा गर्नुपर्दछ।

गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई बुझाउँछन्। गोवर्धन पूजा तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । यसै दिन गाई तथा गोरुको पनि पूजा गरिन्छ । यस पर्वलाई गोरु तिहार, हली तिहार वा गोवर्धन पूजा भनिन्छ ।

आजै नेवार परम्परामा यस दिन आफू (आत्म) लाई ईश्वरीय अंशका रूपमा पूजा गर्ने विधान रहेको छ भने आजकै दिन नेपाल संवतको नयाँ वर्ष (न्हुदया भिन्तुना) पनि शुभारम्भ हुन्छ। कार्तिक शुक्ल प्रतिपदा तिथिको राति भगवान् नारायणको भक्ति एवं सान्निध्य प्राप्तिका लागि दानवीर तथा वचनबद्ध बलिराजको पनि पूजा गर्नुपर्दछ।

3 responses to “गोवर्धन पूजा”

  1. surya Nyaupane says:

    very nice.. thanks

  2. Bst says:

    that’s good and right

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved