प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा तिथिदेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्धमार्गी नेवार समुदायले गुँला पर्व मनाउने गर्दछन्। यो महिनादिनलाई धर्म सञ्चय गर्ने अवसरका रूपमा लिइन्छ। यस पर्वमा हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न बौद्ध स्तूप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने विधान छ।

बौद्ध धर्म तथा संस्कृतिविद्हरूका अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन थियो र कालान्तरमा त्यसलाई ‘गुँला धर्म’ भन्न थालियो। भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा बसाएका हुन्। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना हुन्छ। नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि यो पर्व मनाइने हुँदा यस महिनाका पक्षहरूलाई गुँलाथ्व र गुँलागा भन्ने गरिन्छ।

स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौं उपत्यका एउटा ठूलो दह थियो। कुनै बेला विपस्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए। त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भूनाथ प्रादुर्भाव हुनुभयो। यसरी उत्पत्ति भएका ज्योतिस्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए। उनले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले। पानी निख्रिएपछि उनले मञ्जुपत्तन नामको सहर स्थापना गरे।

सहर स्थापना भएपछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थाल्यो। यसलाई चैत्य सेवा भनियो। कालान्तरमा ज्योतिस्वरूप स्वयम्भू विराजमान भएका स्थानमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेपछि चैत्य सेवालाई ‘गुँला धर्म’ भनिएको किंवदन्ती छ।

गुँला पर्वमा भक्तजनहरू बिहान सबेरै स्नान गरी पवित्र भएर परम्परागत बाजा बजाउँदै स्तोत्र पाठ गरी स्तूप, चैत्य र गुम्बाको परिक्रमा गर्दछन्। काठमाडौंका भक्तजनले विशेष गरी स्वयम्भू महाचैत्यको दर्शन गरी परिक्रमा गर्ने गर्दछन् भने स्वयम्भू जान सम्भव नहुनेहरूले पनि नजिकको चैत्य, गुम्बा, स्तूप आदिमा गई पुण्य आर्जन गर्दछन्। यस अवसरमा स्ययम्भूनाथमा एक महिनासम्म मेला लाग्ने गर्दछ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन तथा परिक्रमा गरेपछि शोभाभगवतीनजिक अवस्थित विजयश्वरीको दर्शन गरी केलटोलस्थित सेतो मत्स्येन्द्रनाथको पनि दर्शन–पूजा गर्ने परम्परा रहेको छ।

यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास होस् भन्ने कामना गर्दै परिवारजनले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुःखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन छ। विभिन्न चैत्य, विहार तथा मठहरूमा दीप प्रज्वलनका साथै ध्यान, साधना, नामसंगीत, परित्राण पाठ, प्रवचन र धर्म उपदेशजस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छन्। यस पर्वमा परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं लगायत सांस्कृतिक बाजागाजा बजाई चैत्य, गुम्बा आदिको परिक्रमा गर्दा एक–आपसमा सद्भाव अभिवृद्धि हुनुका साथै मनमा शान्ति, परिवारमा सुख र विशेष पुण्य आर्जन हुने जनविश्वास रहेको छ। भाद्र शुक्ल प्रतिपदाका दिन भोजभतेर गरेपछि गुँला पर्व समापन हुन्छ।

9 responses to “गुँला पर्व”

  1. Nirmal Yadav says:

    Nice Blog!

  2. jenish says:

    very nice and informative.

  3. jyotshna shakya says:

    I used to visit swoyambhu but I didn’t know the exact reason of visiting stupa for whole 1month. thank you for the information

  4. jawad khan says:

    nice

  5. युवराज खनाल says:

    good

  6. man bahadur gurung says:

    good festival newari bauddhist cimmunity

  7. karan Datt Paintola says:

    Very nice app

  8. shirish canvas says:

    yo Nepali patro damii xa

  9. Avinash thakur says:

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved