परिचय
आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ। चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ।

२०७४ साल माघ १७ गते बुधवार पूर्णिमा तिथिमा खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाली समयअनुसार साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजे ग्रहणको सम्मिलन (चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश) हुनेछ भने ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे उन्मिलन (चन्द्रबिम्ब छायाबाट निस्कन सुरु) हुनेछ। बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५ मिनेट रहनेछ।

काठमाडौंमा साँझ ५ः५५ बजे चन्द्रोदय भएपछि मात्र ग्रहण देख्न सकिनेछ। चन्द्रमा ग्रस्तोदित भए पनि नदेखिएको ग्रहणको दोष नलाग्ने शास्त्रीय मान्यताअनुसार काठमाडौंवासीका लागि चन्द्रोदय समय ५ः५५ बजेदेखि ग्रहण लागेको मानिनेछ। यसर्थ काठमाडौंमा ग्रहणको पर्वकाल ३ घण्टा २ मिनेटको हुनेछ। स्थानभेदले चन्द्रोदय फरक–फरक समयमा हुन सक्छ। चन्द्रोयअघि नै ग्रहणले स्पर्श गरिसकेको भए आफ्नो ठाउँमा चन्द्रमा उदाउने समयका आधारमा ग्रहण सूतक लाग्छ।

अस्ट्रेलिया, एसियाको पूर्वी भाग तथा क्यानडाको पश्चिमउत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिने चन्द्रग्रहण पश्चिम एसियामा ग्रस्तोदय र अमेरिकामा ग्रस्तास्त देखिनेछ। पश्चिम युरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने चन्द्रग्रहण देख्न सकिने छैन।

ग्रहणमा निषेध र कर्तव्य

यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) र सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। अझ चन्द्रमा ग्रस्तोदित भएको अवस्थामा अघिल्लो चन्द्रदर्शन हुँदैखेरि भोजनादि गरिसक्नुपर्ने शास्त्रनिर्देश पनि पाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहण लाग्ने दिन बिहान ८ः५५ बजेदेखि अशक्त, बाल, वृद्ध र आतुरलाई बाहेक भोजनादि नगर्न सुझाएको छ। बाल, वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर (३ घण्टा) अघिदेखि भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।

ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ।

स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

विभिन्न राशिहरूलाई ग्रहणको प्रभाव

ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशि कर्कट भएमा उक्त ग्रहण शुभफलदायी हुन्छ। अन्यथा हुनेहरूका लागि भने ग्रहण प्रतिकूल नै हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ।
यसपालि लाग्ने चन्द्रग्रहण कर्कट राशिअन्तर्गत तिष्य नक्षत्रमा स्पर्श भई अश्लेषा नक्षत्रमा सकिनेछ। यसर्थ कर्कट राशि र त्यसमा पनि विशेष गरी तिष्य र अश्लेषा जन्मनक्षत्र हुनेहरूका लागि यो ग्रहण बढी कष्टदायी मानिन्छ। त्यस्तै मेष, सिंह र धनु राशि हुनेहरूलाई पनि ग्रहण विशेष प्रतिकूल रहनेछ।

ग्रहणफल–

मेष : पीडा
वृष : श्रीप्राप्ति
मिथुन : हानि
कर्कट : घात
सिंह : व्यय
कन्या : लाभ
तुला : सुख
वृश्चिक : मानहानि
धनु : कष्ट
मकर : पति वा पत्नीलाई पीडा
कुम्भ : सुख
मीन : चिन्ता

ग्रहणमा व्रत–पर्व एवं तिथि–श्राद्धलाई के गर्ने ?

क. स्वस्थानी व्रतको साङ्गे गर्न मिल्छ

माघ महिनाको पूर्णिमा स्वस्थानी व्रत समापन गर्ने तिथि हो। वार्षिक रूपमा नित्यकर्मका रूपमा आउने स्वस्थानी पूर्णिमामा महिनाभरि लिएको व्रत पूरा गरिन्छ। तर यसपटक पूर्णिमामै व्रतको साङ्गे गर्न ग्रहणले व्यावहारिक कठिनाइ निम्त्याएको छ। ग्रहणको समयका आधारमा स्वस्थानी व्रत समापन गर्न निम्न विकल्पहरू उपयोग गर्न सकिन्छ–

१) बिहानको ८ः५५ बजेसम्ममा स्वस्थानीको समापन पूजा अर्थात् साङ्गे तथा हवनादि गरेर त्यही समयभित्रै प्रसाद तथा भोजन ग्रहण गरिसक्नुपर्दछ। दिउँसो पनि कथा भन्न सकिन्छ। ग्रहण लागेका समयमा ग्रहणसम्बन्धी स्नान, दान, मन्त्रजप, हवन आदि गरेर ८ः५७ बजेभित्र ग्रहणका कृत्यहरू समापन गरी मोक्षस्नान गर्ने। ग्रहणशुद्धिपछि बाँकी कथा वाचन तथा श्रवण गरी रात्रि जाग्राम बस्ने र भोलिपल्ट विसर्जन गरी स्वस्थानीको फूल–प्रसाद सेलाएर व्रत समापन गर्ने।

२) बिहान ८ः५५ बजेसम्ममा नभ्याइने हुँदा त्यसपछि पनि बेलुकाको ५ः३२ बजेसम्ममा स्वस्थानीको साङ्ग पूजा तथा हवनादि गर्न सकिन्छ। तर बिहानको ८ः५५ बजेपछि बेलुकाको ८ः५७ बजेसम्म खानपान निषेध गरिएकाले ब्राह्मण–भोजन आदि गर्न मिल्दैन। बेलुकी ८ः५७ बजेपछि पनि स्वस्थानीसम्बन्धी पूजा, हवन गर्न सकिन्छ।

३) स्वस्थानी पूजा वार्षिक नित्यकर्म भएकाले ग्रहण लागेका कारण पूर्णिमाका कृत्यहरू पूर्णिमामै गर्न सकिन्छ, अन्य दिनलाई सारिरहनु पर्दैन।

४) ग्रहणबाहेक चतुर्दशी, पूर्णिमा वा प्रतिपदामा श्राद्धको तिथि आदि परेका कारण पूर्णिमामा व्रत समापन गर्न अप्ठ्यारो परेमा द्वादशीदेखि पञ्चमीभित्र पनि साङ्गे गर्न सकिन्छ। यसो गर्दा पूर्णिमापछि पञ्चमीसम्ममा गर्नु राम्रो मानिन्छ।

५) स्वस्थानीको साङ्गेका साथसाथै अन्य पूजा, रुद्राभिषेक, ग्रहजप आदि काम्यकर्म समेत जोडेर गर्नलाई २०७४ माघ २१ पछि कर्मअनुसारको मुहूर्त जुराएर मात्र पञ्चमीसम्ममा गर्न सकिन्छ।

६) आशौच (जूठो–सूतक)को बाधामा भने पञ्चमीपछि पनि आशौच–निवृत्ति भएपछि गर्न सकिन्छ। जन्म–सूतक भए ११ दिन या त्यसपछि र मृताशौच भए १३ दिनपछि विनायक एवं श्री अर्थात् लक्ष्मीको पूजन, जपद्वारा शान्ति गरेर स्वस्थानीको व्रत समाप्ति वा साङ्गे गर्नुपर्दछ।

ख. काम्यकर्म, व्रत आदिको अनुष्ठान नगर्ने

यस पूर्णिमामा चन्द्रमाको व्रत समाप्ति, अन्य व्रतहरूको उद्यापन, चौरासी पूजा, लाखबत्ती बाल्ने जस्ता काम्य कृत्यहरू गर्न नमिल्ने हुँदा अरू पूर्णिमामा गर्नुपर्छ। ग्रहण लाग्नुपूर्व ३ दिन, ग्रहण लागेको दिन र ग्रहणपछिका ३ दिन गरी जम्मा ७ दिन ग्रहणको विशेष सूतक लाग्ने हुँदा यी दिनमा पर्ने गरी मांगलिक कार्यहरू– विवाह, व्रतबन्ध, चूडाकर्म, गृहप्रवेश, वास्तुपूजा, अनित्य रुद्रीपूजा आदि गर्नुहुँदैन।

तिष्य र अश्लेषा नक्षत्रमा २०७४ सालभरि मांगलिक कार्य गर्न मिल्दैन। ग्रहण लागेका नक्षत्रमा संवत्सर नफेरिने अवस्थामा भने ६ महिनासम्म मांगलिक कार्य गर्न हुँदैन।

ग. ग्रहणका दिन तिथि–श्राद्ध परे के गर्ने ?

सूर्यग्रहण या चन्द्रग्रहणका दिन वार्षिक तिथि वा श्राद्ध परेमा श्राद्ध रोक्न नहुने शास्त्रवचन रहेकाले वार्षिक तथा मासिक श्राद्ध उसै दिन गर्नुपर्दछ। शास्त्रवचनहरू—
१. ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति सम्भवेšन्नेन कार्यम्। ब्राह्मणादि–अलाभेन–असम्भवे तु आमेन हेम्ना वा कार्यम्। (धर्मसिन्धु, प्रथमपरिच्छेद, ग्रहण–प्रकरण)
२. ग्रहणदिने दर्श–मासिक–प्रतिवार्षिकादिश्राद्धप्राप्तौ तद्दिने एवान्नेन–आमेन वा हेम्ना वा कुर्यान्नोत्तरदिने। (ऐजन तृतीयपरिच्छेद, अथ ग्रहणदिने वार्षिकादिप्राप्तौ निर्णयः)

यी वचनको तात्पर्य के हो भने ग्रहणका दिन वार्षिक श्राद्ध, मासिक श्राद्ध, दर्शश्राद्ध आदि परेमा त्यसै दिन पक्वान्नद्वारा पिण्डदानादि कर्म गरी यथावत् रूपमा श्राद्ध गर्नुपर्छ। पाकेको अन्न सम्भव नभए काँचो अन्नद्वारा आमश्राद्ध वा सुन प्रयोग गरी हेमश्राद्ध गर्नुपर्दछ। भोलिपल्ट वा अर्को दिनलाई श्राद्ध सार्नुहुँदैन। त्यस दिन ब्राह्मणभोजनप्रधान श्राद्ध गर्ने ऋग्वेदी र सामवेदीहरूले ब्राह्मणभोजन गराउन असम्भव हुने हुँदा सीधास्वरूप काँचो अन्न, सुवर्ण वा द्रव्य दान गरी श्राद्ध सम्पन्न गर्नुपर्छ।

यजुर्वेदीहरूले गर्ने श्राद्ध पिण्डदानप्रधान कृत्य भएकाले ग्रहणका कारण ब्राह्मणले भोजन गर्दिनँ भन्दा पनि दोष लाग्दैन। ब्राह्मणभोजनका रूपमा सीधादान भने गर्नुपर्छ, श्राद्ध सार्नुचाहिँ हुँदैन।

घ. ग्रहणकालमा नित्य र नैमित्तिक कर्म के गर्ने ?

ग्रहण लाग्ने समय अर्थात् साँझ ५ः३२ देखि ८ः५७ बजेसम्म ग्रहणकालमै गरिने स्नान, दान, जप, हवन आदि कर्म गर्ने। सन्ध्याकालमा दैनिक गरिँदै आएको नित्यकर्म भने ग्रहण मोक्ष भएपछि शुद्धिस्नान गरेर मात्र गर्ने।

ग्रहण लाग्ने दिन जन्मोत्सव पूजा परेमा नैमित्तिक कर्म भएकाले सार्न हुँदैन। तर यसमा पनि ग्रहणकाल भने परित्याग गर्नुपर्दछ। तिथि, श्राद्ध, जन्मोत्सव आदि नैमित्तिक कर्म बिनाआशौच सार्न नमिल्ने हुँदा जन्मोत्सव प्रातःकालमा छिट्टै र एकोद्दिष्ट श्राद्ध मध्याह्नकालमा गर्नुपर्छ।

यसैगरी प्रत्येक पूर्णिमामा लिइँदै आएको पूर्णिमा व्रत यथावत् लिने र ग्रहण मोक्ष भएपछि शुद्धिस्नान गर्ने र त्यसपछि चन्द्रमालाई पूजा गरेर अर्घ्य दिई भोजनादि गर्नुपर्दछ। विशेष काम्यकर्मका लागि माघ २० गतेसम्म निषेध रहन्छ।

ग्रहण आकाशमा समय–समयमा देखापर्ने अनियमित परिघटना हो। सामान्यतया यसले ६ महिनासम्मलाई शुभाशुभ फलको विधान गर्दछ। ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ। ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भनिएकाले ज्योतिषमा गणितको परीक्षण गरी त्रुटि सच्याउने अवसर पनि ग्रहणले प्रदान गर्दछ।

2 responses to “खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत–पर्व र तिथि–श्राद्धबारे शास्त्रीय निर्णय”

  1. Thank you, Nepali Patro for this information for all kinds of believers. This is useful for me.

  2. infametion dherai ramro chha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved