कुशे औंसी

–प्रा.डा. देवमणि भट्टराई

बाबु

सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर मात्र संकल्प एवं देव–पितृहरूको पूजनादि कर्म गरिन्छ। सन्ध्यामा पनि कुशको विशेष महत्त्व छ।

कुशको शास्त्रीय सन्दर्भ

ब्रह्माजीको उत्पत्तिसँगै कुशको पनि उत्पत्ति भएको हो। त्यसैले इन्द्रादि देवताहरू पनि कुशको प्रयोग गरेर कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग पुराणहरूमा धेरै पाइन्छ। कुश–पवित्र धारण गरेको विप्रादि व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र, एवं भगवान् शंकरको त्रिशूलसमान नै शक्तिशाली मानिन्छ। भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभयो र त्यसपछिको थकाइ मेट्नका लागि समुद्रकिनारमा जानुभयो। त्यहाँ आराम गर्दा झरेका वराह भगवानका रौंहरू नै पछि कुश एवं काश भएर उम्रिए। यसरी भगवान् वराहबाटै कुशको उत्पत्ति भएको प्रसङ्ग शास्त्रमा पाइन्छ। यस्तै, स्वस्थानीको कथाप्रसङ्गमा पनि वृन्दाले विष्णु भगवानलाई श्राप दिएका कारण घाँस हुनुपरोस् भनेको घाँस नै कुशरूपमा आएको भन्ने कुरा त्यहीं स्पष्ट हुन आउँछ। जसरी पनि भगवानसँग सम्बन्धित भएर आएको कुशलाई यज्ञादिमा प्रयोगमात्र होइन, कर्ता, आचार्य आदिले शुद्धता एवं रक्षणार्थ तथा बलशाली बन्न पनि कुशको पवित्र लगाउने, कुशको आसनमा बस्ने र कुशदण्ड लिएर मात्र सन्ध्यावन्दनदेखि लिएर सम्पूर्ण धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। प्रयोगपारिजात लगायतका धर्मशास्त्रीय ग्रन्थमा कुशको विशेष महत्त्व दर्साइएको छ।

स्नाने होमे जपे दाने स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

कुश संग्रह गर्ने विधि

घरनजिकै कुश रोप्ने बारी नै छुट्याइएको हुन्छ। पानी जम्ने ठाउँमा कुश नफस्टाउने हुनाले भिरालो जग्गामा कुश रोपिन्छ। रोपेको कुशलाई कुशे औंसीको दिन भूमि एवं कुशको पूजा गरी धूपबत्ती गरेर क्षमा समेत मागी कुश उखेल्नुपर्छ। भाद्र कुष्ण औंसीमा कुश संग्रह गरिने भएकाले यसलाई कुशोत्पाटिनी अमावाश्या भनिन्छ। यसै दिन वर्षदिनलाई आवश्यक कुश संग्रह गरिन्छ। यद्यपि सम्भव भए दैनिक पूजामा फूल टिपेसरह नै प्रत्येक दिन कुशको संग्रह गर्न पनि सकिन्छ। तर त्यो सधैं सम्भव नहुने भएकाले कुशे औंसीमै कुश उखेलेर राख्नुपर्छ। कुशे औंसीमा उखेलिएको कुश वर्षदिनसम्म पवित्र रहने हुँदा वर्षभरि चलाउन मिल्छ भनिएकोछ। तर सोमबारे औंसी परेका दिन उखेलेको कुश चाहिँ १२ वर्षसम्मै चलाउन हुन्छ भन्ने जनश्रुति पनि पाइन्छ। यस प्रकारको कुश संग्रहको विधिमा कुश रोपेको बारीमा बिहान गएर पूर्व वा उत्तर फर्किएर यो मन्त्र उच्चारण गरी कुशको प्रार्थना गर्नुपर्छ—

ॐ विरिञ्चिना सहोत्पन्न ! परमेष्ठिनिसर्गज ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।

प्रार्थना गरेपछि ‘ॐ हुँ फट् स्वाहा’ मन्त्र उच्चारण गरी कुशको फेदमा समाएर उखेल्नुपर्छ। यसरी विधिपूर्वक यस दिन उखेलेको कुश व्रत, दान, पुण्यकर्म, पूजा, श्राद्ध आदि कर्ममा वर्षदिनसम्म चलाउन सकिन्छ। शास्त्रीय भाषामा ‘अयातयामा’ अर्थात् वर्षदिन सम्मका लागि यस दिन उखेलेको कुश बासी हुँदैन भनिएको छ। परदेश आदिको वासमा या कर्मकालको अवस्थामा कुश नपाइएमा कास, जौ, दूबो, उशीर, कुन्द, गहुँ, धान, मूँज तथा बाबियोलाई पनि कुशसमान व्यवहारमा ल्याउन सकिन्छ भनी धर्मशास्त्रमा बताइएको छ। यस्तै यिनीहरूको अभावमा सुन, चाँदी र तामाको पनि प्रयोग गर्न सकिने शास्त्रवचन रहेको छ।

कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः ।
गोधूमा बीहयो मौञ्जा दशदर्भाः सबल्वजाः ।।
कुशाः काशाः शरा दूर्वा यवगोधूमवल्वजाः ।
सुवर्णं राजतं ताम्रं दशदर्भाः प्रकीर्तिताः ।।

पितृसम्मान दिवस

माता पितालाई जीवित एवं साक्षात् देवता भनिएको छ। धर्मशात्रमा समस्त मान्यजनभन्दा मातापितालाई बढी सम्मान गरेको पाइन्छ। हुन पनि व्यावहारिक जीवनमा पाइने शिक्षादीक्षाका साथै पितृअंश सन्तानमा रहेका कारण नै श्रुतिले पनि ‘आत्मा वै पुत्रः’ भनेर आफ्नो स्वरूप नै पुत्र रूपमा उत्पन्न भएको हो भनिएको छ। पिता नै छोराको रूपमा प्रस्तुत भएको हुन्छ। अर्काेतर्फ यो संसारमा जन्माएर हुर्काएर दस महिनासम्म पेटमा राखेर शिक्षादीक्षा दिएर योग्य बनाएर विवाहसम्मका संस्कार समेत सम्पन्न गरिदिएर हुर्काएका छोराछोरीप्रति आमाबुबाको पूर्ण भरोसा एवं विश्वास रहेको हुन्छ र हुनु स्वभाविक पनि हो। पलपलको संरक्षण नभएको भए आज कतिपय छोराछोरीहरू लुला लङ्गडा एवं अपाङ्ग भएर अस्पतालको मात्र वास हुो हुन्थे होलान्। ती सारा दुःख कष्ट झेलेर एक सक्षम सन्तानमात्र नभई देशको आदर्श नागरिक जन्माउन र बनाउनमा आआफ्ना जुन मातापिताको योगदान छ, अतिभार वहन समेत गर्नुभएको छ, त्यस्ता मातापिता पदधारी त्यस प्रकारका योग्य मातापितामा हृदयतः नमन गर्नु, सेवा गर्नु सबै सन्ततिको कर्तव्य हुन आउँछ। त्यसैले शास्त्रमा मातापिताको महत्त्व यसरी गाइएको पाइन्छ—

माता गङ्गा समा तीर्थं पिता पुष्करमेव च।
गुरुः केदारकं तीर्थं माता तीर्थं पुनः पुनः।।
…भरणं पोषणञ्चैव भोजनं रससंयुतम्।
कारितामेव भो तात पितृदेव नमो¤स्तुते।।

भरणपोषण पर्यन्तका कृत्य सम्पादन गरी सक्षम एवं देशको आदर्श नागरिक बनाएर ऐहिक एवं पारलौकिक खुसी एवं सुख वहन गर्ने क्षमतावान् व्यक्तित्व बनाउनुभयो, त्यसका लागि म सदा ऋणी छु भनेर मातापितालाई नमन गरेको प्रसङ्ग धर्मशास्त्रमा बारम्बार आइरहन्छ।

यस भाद्र कृष्ण औंसीको दिनलाई कुश चयनका साथै पितृसम्मान दिवसका नामले पनि चिनिन्छ । लौकिक भाषामा यसलाई बुबाको मुख हेर्ने दिनका नामले व्यवहार गरिन्छ । जीवित पिता हुनेले मीठोमीठो परिकार बनाएर उपयोगी कपडा आदिद्वारा सम्मान गर्ने, दर्शन गर्ने आफूले बनाएका परिकार खुवाउने चलन छ भने पिता मरेका पुत्रले चाहिँ नजिकको तीर्थ गोकर्ण आदिमा गएर पिताको नाममा पितालाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुबैकुण्ठ लोकको गमन होस्, कष्ट भए हामीले गरेको तिथिश्राद्ध एवं यस पितृसम्मान दिवसमा पितृका नाममा गरेका दानपुण्य एवं श्राद्धादिले वहाँको कल्याण होस् भन्ने कामना गरेर श्राद्धआदि गर्नुपर्छ। विद्यालय, पाठशालामा मठ मन्दिरमा गएर ब्राह्मणभोजन गराउने पिताको नाममा छात्रवृत्ति राख्ने, पाटी पौवा धर्मशाला आदिको निर्माण वा शुभारम्भ गर्ने जस्ता कार्यहरू गर्ने पनि शास्त्रीय परम्परा रहेको पाइन्छ। पितृहरूका नाममा गरिने कृत्यका लागि यो अत्यन्त पवित्र दिन हो।

जीवित अवस्थामा मातापिताको भरमग्दुर सेवा गर्नु नै छोराछोरीको प्रमुख कर्तव्य हो भने मृतात्माको शान्ति एवं पछि दुःख नहोस् भनेर श्राद्ध, दानलगायत पुण्यकर्म गर्नु अर्काे विशेष पक्ष हो। यी दुवै कर्म छोराछोरीका कर्तव्यप्रधान कर्म हुन्। यी कर्ममा देखावटी, अपवित्रता, कलुषित भाव राख्नु हु“दैन। यसप्रकारका समस्त कर्महरूको समष्टि नाम नै सत्कर्म हो। यसै तिथिमा काठमाडौंको गोकर्ण, सुनसरीको वराहक्षेत्र एवं विष्णुपादुकामा देवघाटादि तीर्थहरूमा पनि पितृसम्बन्धी श्राद्धआदि कृत्य गरिन्छ भने घरघरमा कुश भित्र्याएर कुशे औंसी मनाइन्छ।

सोमबारे औंसी

सिनीवाली कुहूर्वापि यदि सोमदिने भवेत्।
गोसहस्रफलं दद्यात् स्नानं वै मौनिना कृतम्।।

यसपालिको कुशे औंसी सोमवार परेको छ। धर्मशास्त्रमा सोमवार औंसी तिथि पर्नुलाई अत्यन्त पुण्यदायक भनी व्याख्या गरिएको छ।

‘अमावास्या तु सोमेन सप्तमी भानुना सह।
चतुर्थी भूमिपुत्रेण सोमपुत्रेण चाष्टमी।।
चतस्रस्तिथयो ह्येताः सूर्यग्रहण सन्निभाः।
स्नानं दानं तथा श्राद्धं सर्वं तत्राक्षयं भवेत्।।’

सोमवारे औंसी, रविवार सप्तमी, मंगलवार चौथी, बुधवार अष्टमी यी तिथि र वारको योगलाई सूर्यग्रहणसमान पुण्यदायी भनिएकाले यस्तो योगमा गरिएको स्नान, दान, श्राद्धादि समस्त धार्मिक कृत्य अत्यन्तै उपयोगी र अक्षय फल दिने हुन्छन्। यसर्थ सोमवारे औंसीमा श्राद्धआदि गर्नुका साथै पीपलको वृक्षमा जनार्दन विष्णु भगवानको पूजा तथा १०८ पटक परिक्रमा गर्नाले अनन्त फल प्राप्त हुन्छ भनी धर्मशास्त्रमा उल्लेख गरिएको छ। यस दिन प्रातः मौन स्नान अर्थात् बिहान उठेपछि नबोली स्नान गर्नाले १००० गाई दान गरेको समान पुण्यफल प्राप्त हुने शास्त्रवचन रहेको हुँदा सोमवारे औंसीमा मौन स्नान गरिन्छ। यस दिन ग्रहण गरेको कुश १२ वर्षसम्म पवित्र हुन्छ भन्ने धार्मिक विश्वास गरिन्छ।
अमावस्या यदा पार्थ सोमवार समन्विता।

…व्रतराजमिदं राजन् विष्णोः प्रीतिकरं परम्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved