पौराणिक आख्यानअनुसार भगवान् श्री शंकरका ज्येष्ठ सुपुत्र कुमार कार्तिकेयको जन्म ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथिमा भएको हो। ६ वटा मुख भएका मयूरवाहन देवसेनापति स्वामी कार्तिकेयले बाल्यावस्थामै तारकासुरलाई वध गरी उसको अत्याचारबाट देवताहरूलाई मुक्ति दिलाएको प्रसंग पुराणहरूमा वर्णित छ।

अत्याचारी तारकासुरको दबदबा चलिरहँदा शरणमा आएका देवताहरूलाई आश्वस्त पारेपछि भगवान् शंकरले तत्काल पाणीग्रहण गरी माता पार्वतीलाई भित्र्याउनुभयो। अन्तपुरमा पार्वतीसँगको कामक्रीडामा लीन भई लामो समय बितेकाले तारकासुरबाट भयाक्रान्त देवताहरूले अधैर्य भई तत्काल शिवजीसामु गएर तारकासुरबाट रक्षा गरिदिन आग्रह गर्ने निर्णय गरे। यसका लागि अग्निदेवलाई शिवजीसामु पठाइयो।

रतिक्रीडामा व्यस्त शिवजीलाई देवकार्य स्मरण गराउन पुगेका उज्ज्वल कपोतवेशधारी अग्निदेवलाई जब शिवजीले आफ्नो अमोघवीर्यको रेतस् धारण गराउनुहुन्छ, त्यसको तेज सहन नसकी अग्निदेव छटपटाउँदै निस्कन्छन् र उक्त रेतस् पृथ्वीमा बिसाउँदछन्। पृथ्वीले पनि उक्त तेज सहन गर्न नसकी गंगामा बगाउँछिन्। गंगाले पनि सहन गर्न नसकी किनारमा राखिदिन्छिन्। यसरी कसैले धारण गर्न नसकेपछि शिवजीको अमोघ वीर्यले अग्निरूप धारण गर्दछन्।

गंगामा स्नान गरेर फर्कंदै गरेका ६ जना ऋषिपत्नीहरू उक्त वीर्याग्निनजिक जाँदा गर्भवती बन्छन्। ऋषिहरूबाट श्रापित बन्ने डरले तत्काल गर्भ त्याग गरेपछि ६ शिर भएका बालकको प्रदुर्भाव हुन्छ। गंगाको आश्रयमा उत्पत्ति भएकाले गंगापुत्रका रूपमा ती बालकको जन्म भएको मानिन्छ। ६ वटी कृत्तिकाले पालित–पोषित गरेकाले कार्तिकेय नाम रहन गयो। उनै कार्तिकेयको अर्को नाम कुमार हो। यसरी जन्म लिएका कुमार कार्तिकेयले बाल्यावस्थामै देवसेनाको नेतृत्व गरी तारकासुरको वध गरेर सम्पूर्ण लोकलाई बचाएको प्रसंग पुराणहरूमा वर्णित छ। स्कन्दपुराणमा अगस्त्य मुनिलाई कुमारजीले समस्त कथा श्रवण गराएको प्रसंग छ।

कुमार स्कन्द, कार्तिकेय, विशाख, षण्मुख, गंगासुत, सेनापति, षाण्मातुर, अग्निसुत आदि नामले प्रतिष्टित हुनुहुन्छ। मयूरवाहन, रक्ताम्बरधारी चतुर्बाहु, मुकुटले सुशोभित ६ शिरले युक्त भगवान् कुमार कार्तिकेयलाई काठमाडौं उपत्यकामा सिठीदेवताका रूपमा पूजा गर्ने चलन छ। कुमार षष्ठीको दिनलाई नेपालभाषामा ‘सिथिनख’ वा ‘सिठी नख’ भन्ने गरिन्छ। वास्तवमा यो पर्व नेवारहरूको देवालीपूजा गरिने अन्तिम दिन हो। संस्कृतको ‘षष्ठी’ शब्द अपभ्रंश भएर नेपालभाषामा सिथि वा सिठी बनेको हो। ‘नख’ भनेको चाड हो।

आजको दिनमा काठमाडौं उपत्यका र बाहिरका नेवारहरूले आ–आफ्ना कुलदेवताको विशेष पूजा–आराधना गर्ने गर्दछन्। अक्षय तृतीयाबाट गर्न थालिने देवाली पूजाको आज अन्तिम दिन हो। देवालीपूजाकै सन्दर्भमा घरको मूलढोकाअगाडि ६ पत्र कमलजस्तै आकृति भएको पिखालखु राखी षण्मुख कुमारलाई ६ थरी दालहरूले बनेको वो अर्थात् बारा चढाई खाने समेत चलन छ। आजकै दिनमा कुलदेवताको रूपमा देवीदेवताको पूजा गरी समयबजि, चिउरा, स्याबजि, चटामरी, बोडी, कालो भटमास, लसुन, अदुवा, माछा, मासु, बारा, अण्डा, रक्सी, फलफूल, रोटी, लड्डु, पेडा, विभिन्न व्यञ्जनसमेतको भोज आदि चढाउने र खाने गरिन्छ। आजकै दिनमा कुमार कार्तिकेयकी मातारूप गंगा अर्थात् सम्पूर्ण जलाशय, भूमि आदिको सरसफाइ गरिन्छ।

देवताहरूका सेनापतिका रूपमा पूजित कुमारलाई नेवारहरूले घर, मन्दिर, दरबार आदिको रक्षाका लागि कुमारलाई स्थापना गर्ने गरेको पाइन्छ। घरमा कुमारको वाहन मयूर कुँद्न लगाई मयूराकृति कुँपा राख्ने गरिन्छ। घरमा मयूराकृति राख्नाले घरको सुखसमृद्धि बढ्ने र दुष्टात्माहरूले प्रवेश गर्न नपाउने किंवदन्ती रहेको छ।

3 responses to “कुमार षष्ठी तथा सिठी नख”

  1. Anil says:

    Ati ramro jankari

  2. chintamani Thapa says:

    jatiya vetvab kina gariyakoho hindu dharmama

  3. chintamani thapa says:

    gautam budha ko janma kahile vayakoho

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved