नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्दछन्। यमपञ्चक लागेपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर मर्त्यलोकमा आएर यमपञ्चकभरि विराजमान भई भाइटीका लगाएपछि यमलोक फर्कने पौराणिक आख्यान रहेको छ।
यमपञ्चकको पहिलो दिन यमराजको सन्देशवाहक दूत कागलाई पूजा गरिन्छ भने दोस्रो दिन अर्थात् कार्तिक कृष्णपक्षको चतुर्दशी तिथिमा कुकुरलाई विधिवत् पूजा गरी माला लगाएर स्वादिष्ट खानेकुरा खान दिइन्छ। पौराणिक प्रसंगअनुसार यमलोकमा यमराजको द्वारपालका रूपमा रहने कुकुरलाई आजको दिनमा यसरी सम्मान गर्नाले मृत्युपश्चात् यमद्वारबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने विश्वास गरिन्छ। द्वापरयुगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको बाटैमा देहावसान भएको र धर्मराज युधिष्ठिरलाई कुकुरले स्वर्गको ढोकासम्म पुर्याएको सन्दर्भ इतिहास एवं पुराणमा रहेको छ।
व्यवहारमा मानिसको आज्ञापालक, सहयोगी र संरक्षकका रूपमा कुकुरलाई लिने गरिन्छ। घरको रेखदेख, सुरक्षादेखि अपराध निवारण र अपराधीहरूलाई नियन्त्रण गर्ने विशेष अनुसन्धानसम्मका कार्यमा मानिसलाई सहयोग पुर्याउने कुकुरलाई सम्मान गर्ने पर्वको रूपमा कुकुरतिहारलाई लिन सकिन्छ।
नरक चतुर्दशीका कृत्यहरू
कार्तिक कृष्णपक्षको चतुर्दशी तिथिलाई नरक चतुर्दशी भन्दछन्। यस दिन नरकबाट मुक्ति प्राप्त गर्न प्रातःकालमा तैलाभ्यङ्ग स्नान गर्ने विधान रहेको छ। बिहान उज्यालो हुन लागेपछि शरीरमा तिलको तेल, सुगन्धित द्रव्यहरू, चन्दन, उवटन आदि लगाएर स्नान गर्नुपर्दछ। यस दिन तिलमा लक्ष्मी र जलमा गंगाको वास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पापहरू नष्ट हुन्छन् र नरकको दर्शन गर्नुपर्दैन भन्ने शास्त्रीय कथन छ। स्नान गर्नुअघि अपामार्गका पातलाई जलमा डुबाएर शिरमा घुमाउनुपर्दछ। अपामार्ग वनस्पतिलाई सम्बोधन गरी म तिमीलाई जतिपटक घुमाउँछ, त्यपि पटक मेरा पापहरू हरण गर भन्दै तलको मन्त्र पढेर आफ्नो शिरमा पटकपटक घुमाउने विधान रहेको छ।
सीतालोष्टसमायुक्तः सकण्टकदलान्वितः।
हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः।।
यसरी स्नान गरिसकेपछि यमराजलाई तल उल्लेख गरिएका उनका चौधवटा नाममा तर्पण दिनुपर्दछ। दक्षिण दिशातर्फ फर्किएर सव्य भई देवतीर्थद्वारा प्रत्येक नाममा तीन–तीन अञ्जुली तिलयुक्त जलले तर्पण गर्नाले वर्षदिनसम्म गरिएका पापहरूबाट मुक्ति मिल्दछ भनी शास्त्रहरूमा बताइएको छ।
१. यमाय नमः।
२. धर्मराजाय नमः।
३. मृत्यवे नमः।
४. अन्तकाय नमः।
५. वैवस्वताय नमः।
६. कालाय नमः।
७. सर्वभूतक्षयाय नमः।
८. औदुम्बराय नमः।
९. दध्नाय नमः।
१०. नीलाय नमः।
११. परमेष्ठिने नमः।
१२. वृकोदराय नमः।
१३. चित्राय नमः।
१४. चित्रगुप्ताय नमः।
पिता जीवित हुनेहरूले पनि यमराजलाई तर्पण दिनुपर्दछ भन्ने धर्मशास्त्रीय आदेश रहेको छ। आजकै दिनमा माषको पात (साग) सित भोजन गर्नाले धेरै फाइदा हुने बताइएको छ। नरक चतुर्दशीमा अभ्यङ्गस्नान र यमतर्पण जस्तै साँझमा दीपदानको ठूलो महत्त्व रहेको छ। स्कन्दपुराणको निर्देशअनुसार ब्रह्मा, विष्णु, शिव, गणेश, दुर्गा आदि देवताका मन्दिर र मठहरूमा प्रदोष (रात पर्ने) बेलामा दीपावली गर्नुपर्दछ। यस्तै नरकबाट मुक्ति पाउन यमराजको प्रीतिका लागि चारवटा बत्तीबाट तयार पारिएको दीप तलको मन्त्र पढी दान गर्नुपर्दछ।
दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया।
चतुर्वर्तिसमायुक्तः सर्वपापानुपत्तये।।
पौराणिक आख्यानअनुसार नरकासुर नामक दैत्यले विभिन्न अप्सरा तथा देवता, मनुष्य र गन्धर्वका १६ हजार कन्याहरूलाई हरण गरेर अत्याचारपूर्वक बन्धक बनाई लुकाएर राखेको थियो। एक दिन देवमाता अदितिका कर्णाभूषण चोरेर भाग्दै गर्दा भगवान् कृष्णले नरकासुरलाई वध गरी १६ हजार कन्याहरूलाई समेत मुक्त बनाए र पछि समाजमा ती कन्याहरूलाई सम्मानपूर्वक रहने व्यवस्था मिलाउन सबैसँग विवाहसमेत गरे। यसरी नरकासुरलाई वध गरी कन्याहरूलाई बन्धनमुक्त गरेको उपलक्ष्यमा उक्त दिनलाई नरक चतुर्दशी भनी दीपदान गर्ने परम्परा सुरु भएको किंवदन्ती पनि पाइन्छ।
good
I like ur conversation
it’s not really story but we need to follow this instruction
sooo niceee
very good this days people don’t know why do all this pooja and all we should follow our ved puran
हैप्पी दीपावली
nice