श्रावण मासको कृष्ण पक्ष एकादशीको नाम कामिका एकादशी हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। कामिका एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। जिज्ञासु युधिष्ठिरको विनम्रतालाई सम्मान गर्दै भगवान् श्रीकृष्णले भन्नुभयो– हे महाराज युधिष्ठिर, यस एकादशीको महत्त्व एक समय स्वयं ब्रह्माजीले देवर्षि नारदलाई भन्नुभएको थियो, त्यही म हजुरलाई भन्छु सुन्नुहोस्।

श्रीकृष्ण भन्नुहुन्छ– त्यस बखत नारदजीले ब्रह्माजीलाई सोध्नुभयो– हे पितामह, श्रावण मासको कृष्ण पक्ष, एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो ? विधि के–कस्तो रहेको छ र त्यसको माहात्म्य के हो, कृपापूर्वक भन्नुहोस्। नारदजीको जिज्ञासा सुनेर ब्रह्माजीले भन्नुभयो– हे नारद, लोकको कल्याणका लागि तिमीले अति राम्रो प्रश्न गरेका छौ। श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका एकादशी हो। यो एकादशीको नाम मात्र सुन्नाले पनि वाजपेयी यज्ञको फल प्राप्त हुन्छ। यस दिन शंख, चक्र, गदा धारण गर्नुभएका श्रीहरि विष्णुको पूजा हुन्छ। वहाँलाई श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि नामले पुकारिन्छ। वहाँको पूजा गर्दा के फल मिल्दछ भन्नेबारे बताउँछु, सुन।

हे नारद, जुन फल गंगा, काशी, नैमिषारण्य र पुष्करमा स्नान गर्दा प्राप्त हुन्छ, त्यो फल यस एकादशीमा भगवान् विष्णुको पूजनले मिल्दछ। जुन फल सूर्यग्रहण र चन्द्रग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र तथा हरिया वनसहितकी पृथ्वी र गर्भिणी गाई दान गर्नाले, सिंह राशिमा बृहस्पति हुँदा गोदावरी र गण्डकी नदीमा स्नान गर्नाले पनि प्राप्त गर्न मुस्किल हुन्छ, त्यो फल यस एकादशीमा भगवान् श्रीहरिको पूजन गर्दा प्राप्त हुन्छ। जो मनुष्य श्रावण मासमा भगवानको पूजा गर्छन्, उनीहरूबाट देवता, गन्धर्व, सूर्यादि नवग्रह र नागहरूसमेत पूजित हुन्छन्। अतः पापदेखि डराउने मनुष्यहरूले कामिका एकादशीको व्रत गरी विष्णु भगवानको पूजा गर्नैपर्दछ। किनकि पापरूपी हिलो तथा सांसारिक समुद्रमा डुबेका मानिसहरूका लागि यस एकादशीको व्रत र भगवान् श्रीहरि विष्णुको पूजा अत्यन्त आवश्यक छ। पापहरू नाश गर्ने योभन्दा राम्रो कुनै उपाय छैन।

हे नारद, स्वयं भगवानले आज्ञा गर्नुभएको छ, कामिका एकादशीको व्रत गर्ने जीवले कुयोनिमा जन्मनु पर्दैन, डरलाग्दा यमराजलाई देख्नै पर्दैन र नरकको यातना पनि भोग्नु पर्दैन। यसर्थ आध्यात्मिक चिन्तनमा लागिरहने मानिसभन्दा पनि एकादशीको व्रत गर्नेलाई विशेष पुण्यफल प्राप्त हुन्छ। यस बाहेक एकादशी तिथिमा जसले भक्तिपूर्वक भगवान् श्रीहरिलाई तुलसीदल अर्पण गर्दछन्, तिनीहरू यस संसारका समस्त पापहरूबाट मुक्त रहन्छन्। किनकि भगवान् विष्णुका तुलसीसमान प्रिय कुनै पनि रत्न, मोती, मणि तथा आभूषण छैनन्।

आज तुलसीका मञ्जरी तथा पत्रहरूले भगवानको पूजा गर्ने विधान रहेको छ। त्यसपूर्व भगवानकी प्रियतमा तुलसीलाई तलका मन्त्रले विशेष पूजा गर्नुपर्दछ—

या दृष्टा निखिलाSघसंघशमनी स्पृष्टा वपुः पावनी।
रोगाणामभिवन्दिता निरशनी सिक्तान्तकत्रासिनी।।
प्रत्यासन्नविधायिनी भगवतः कृष्णस्य सारोपिता।
न्यस्ता तच्चरणे विमुक्तिफलदा तस्यै तुलस्यै नमः।।

(अर्थात्– जसको दर्शन गर्दा समस्त पापहरू नष्ट हुन्छन्, जसलाई छुनाले शरीर पवित्र हुन्छ, जसलाई ढोग्नाले सम्पूर्ण रोग नासिन्छन्, जसको जल शिरमा सेचन गर्दा यमराज पनि डराउँछन्, जसको पत्र शिरमा धारण गर्दा भगवान् श्रीकृष्णको सान्निध्य प्राप्त हुन्छ र जसलाई भगवानका चरणमा अर्पण गर्दा मुक्ति दिलाउँछिन् त्यस्ती तुलसीलाई नमस्कार छ।)

यसरी तुलसीको फेदमा जल चढाई पूजा गर्नाले मनुष्यबाट जानाजानमा भएका सबै पापहरू नष्ट हुन्छन्। तुलसी दलले पूजन गर्दा भगवान् अत्यन्त प्रसन्न हुनुहुन्छ। एक भारी सुन तथा चार भारी चाँदी दान गरेकोभन्दा बढी फल त एक पत्र तुलसीले भगवानलाई पूजा गर्दा प्राप्त हुन्छ। हे नारद, यस्ती भगवानकी अतिप्रिय तुलसीलाई रोपेर विधिपूर्वक पूजा गर्नाले पनि त्यस्ता व्यक्तिबाट यमराज टाढा रहन्छन् भने भगवान् श्रीहरिका सान्निध्यमा बस्ने अवसरसमेत प्राप्त हुन्छ।

कामिका एकादशीमा रात्रि जागरण र दीपदानको विशेष महत्त्व बताइएको छ। यस दिन जसले अहोरात्र तिलको तेल अथवा घिउको बत्ती भगवानका छेउमा बाल्दछ, उसको पुण्यको लेखाजोखा गर्न स्वयं चित्रगुप्तलाई पनि मुस्किल हुन्छ भनी बताइएको छ। यस दिन भगवानको सान्निध्यमा दीपदान गर्नाले स्वर्गमा रहेका उसका सम्पूर्ण पितृहरूले अमृत पान गर्ने अवसर प्राप्त गर्छन् भने ऊ स्वयं मरणपश्चात् करोडौं दीपहरूसमान सूर्यनारायणका सान्निध्यमा पुगेर आनन्दपूर्वक बस्ने अवसर पाउँछ भनी शास्त्रहरूमा फलश्रुति बताइएको छ।

एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ।

एकादशी व्रत भगवानको उत्सव भएकाले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता एवं शास्त्रहरूकै अवज्ञा हुने र विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेको छ। यसर्थ श्रीहरिको शयनदेखि जागरणसम्मका एकादशीमा भगवानलाई विशेष पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

सबै एकादशीमा भगवान् विष्णुको पूजा–आराधना गरिन्छ। तर भगवान शयनावस्थामा रहनुहुने समयमा विशेष विधिले पूजा गर्ने चलन छ। यसरी पूजा गर्दा भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ। त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर तथा आभूषणले सुशोभित गरिन्छ। दिनमा भगवानको विशेष पूजा गरी रात्रिमा भजन–कीर्तन एवं कथा श्रवण गर्दै जाग्राम बस्नुपर्दछ। बिहानीपख पारण तथा ब्राह्मणलाई दान–दक्षिणा र भोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ।

9 responses to “कामिका एकादशी”

  1. Hari Acharya says:

    Great!!!!!

  2. dhanjay says:

    ramro ch

  3. kamal kaushal says:

    Naya khoj

  4. Ramro kuro tar yasko birstita bibaran kaha Bata bujna saki xa bataidinusa.

  5. Ramesh Phuyal says:

    Yo kura ramro sag bujna sakin yasko bare ma shortcut ma bujai din hun hardik anurodh xa hajur a.

  6. टेक प्रसाद गुरागांई says:

    भगवान श्रीहरिको जय !
    सम्पूर्ण भक्तजनका लागि जानकारिमुलक सारगर्भिक लाग्यो । यस बाट सबै भक्तजनले लाभ लिन सकुन ।

  7. Nandan Adhikari says:

    Very good informations, keep it up.

  8. dav dhami says:

    dav dhami

  9. deven kishore yadav says:

    Jay shree laxmi narayan ko Jay

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Nepali Patro - Nepali Calendar - नेपाली पात्रो, All Rights Reserved